Logo

पोखरामा दुई करोडको फूलको कारोबार हुने अनुमान

पोखरा– फूलैफूलको पर्वको रुपमा रहेको तिहार पर्वको अवसरमा पोखरा यस वर्ष पनि करिब दुई करोड मूल्य बराबरको फूलको कारोबार हुने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा यस वर्ष पनि स्थानीय जातको फूलसहित उन्नत जातको सयपत्री फूलको करिब तिहार पर्वको अवसरमा दुई करोडभन्दा बढीको कारोबार हुने व्यवसायीहरू बताउँछन् । एक करोड मूल्य बराबरको पोखराका नर्सरी व्यवसायी र एक करोड मूल्य बराबरको व्यावसायिक कृषक तथा केही साना किसानबाट फूलको कारोबार हुने फ्लोरिकल्चर एसोसियसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वावाले बताए । यस वर्ष पोखरामा भारतीय फूलको बजारले खासै प्राथमिकता नपाउने हुँदा स्थानीय फूलको मूल्य पर्ने उनले जनाए ।

पोखरा महानगरपालिका र व्यवसायीबीच भएको सम्झौताअनुसार पोखरामा फूलको मूल्य निर्धारण पहिलो पटक भएकाले यसले आमउपभोक्ता र किसान तथा व्यपारीबीचको खासै धेरै नाफाको ठाँउ नभएको पूर्वअध्यक्ष द्वावाले जनाए । गोल्डेन नर्सरीका सञ्चालकसमेत रहेका पूर्वअध्यक्ष द्वावाले यस वर्ष चारैतर्फ फूल फुलेकाले स्थानीय फूलको मूल्य पर्ने दाबी गरे । केही वर्ष अघिसम्म तिहार पर्वको अवसरमा पोखरामा ५० प्रतिशतबाट २५ प्रतिशतजसो भारतीय फूलको कारोबार हुँदै आएकोमा यस वर्ष महानगरले प्रतिबन्ध नै लगाएकाले यसको कार्यान्वयन कस्तो रहन्छ त्यसले अर्थ राख्ने एसोसियसनका सचिव रामप्रसाद सुवेदीले बताए ।

उनका अनुसार प्रदेशको एसोसियसनमा करिब ४८ जना पुष्प व्यवसायी आबद्ध छन् जसमा अधिकांश पोखरामा रहेका छन् । यस वर्ष करिब ५५ रोपनी क्षेत्रफलमा मात्र पुष्प व्यवसायीले व्यावसायिक रूपमा फूलको खेती गरेका छन् । राम्रो फूल उत्पादन गर्ने व्यवसायीले प्रतिरोपनी करिब दुई हजारमात्र उत्पादन गर्न सक्ने उनको दाबी छ । पोखरामा पोखरा आसपाससहित प्रदेशका तनहुँ, म्याग्दी, बागलुङ, स्याङजालगायतका जिल्लाबाट फूल भित्रिने गरेको सचिव सुवेदीले बताए ।

प्रतिथुंगा पाँच, प्रतिमाला दुई सय

शुभ दीपावलीको अवसरमा पोखरामा स्थानीय फूलको प्रवर्द्धन गर्न फूलको मूल्य निर्धारण गरिएको छ । किसानले स्थानीय रूपमा उत्पादन भएको फूलको मूल्य कम पर्ने भएको जनगुनासो आएकाले यस वर्ष पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकको संयुक्त बैठकले फूलको मूल्य निर्धारण गरेको महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

सामान्यतया: पोखरामा प्रतिथुंगा सयपत्री फूलको पाँच रुपैयाँ वा माला खरिद गरेको खण्डमा दुई सय रुपैयाँ पर्ने भएको उनले जनाए । १५ देखि २० ग्राम तौल भएको सयपत्री फूलको प्रतिथुंगा पाँच वा प्रतिमाला दुई सय, १० देखि १५ ग्राम तौल भएको प्रतिथुंगा चार र जसको माला १८० र १५ देखि १० ग्रामको सयपत्री फूलको प्रतिथुंगालाई दुई जसको मालालाई १५० मा बिक्री गर्न महानगरले आम किसानालाई सूचना जारी गरेको हो । यदि कसैले सयपत्री फूल प्रतिकेजीमा खरिद गर्न चाहेमा चार सयमा बिक्री गर्न सकिने भएको महाशाखा प्रमुख कडरियाले बताए ।

पोखरा महानगरपालिकाभित्र सयपत्री फूल आयातमा प्रतिबन्ध लगाइएकाले सो कार्य नगर्न/नगराउन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ भने बजारमा प्लास्टिकका फूलमाला बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ । केही समयअघि पोखराका उपमेयर मन्जुदेवी गुरुङको नेतृत्वमा बजार अनुगमन गरी बजारमा भेटिएका प्लास्टिकजन्य फूल तथा फूलजन्य वस्तुको जफतसहित बिक्री वितरण नगर्न चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्