Logo

बजारको चिन्तामा फूल व्यवसायी

गुल्मी– गुल्मीमा पुष्प व्यवसायी बजारीकरणको चिन्तामा परेका छन् । मेला, महोत्सव, उत्सव, तिहार तथा विवाहलाई लक्षित गरी उत्पादित पुष्पको बजारीकरण नहुँदा किसानलाई समस्या परेको हो । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ६ का प्रेम नेपालीले पुष्प खेती गर्दै आएका छन् ।

गत वर्ष सामान्य रूपमा पुष्प खेती गरेका नेपालीले यस वर्ष व्यावसायिक रूपमा अगाडि बढाएका हुन् । पछिल्लो समय उनी कृषि व्यवसायमा लागेका नेपाली तरकारी खेतीसँगै फूल खेती गरिरहेका छन् । उनले आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर रेसुंगा नगरपालिका वडा नम्बर ६ र धुर्कोट गाउँपालिका वडानम्बर ४ मा गरी १ सय २० रोपनी जग्गा लिजमा लिएर विगत ९ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।

तिहार पर्वलाई मध्यनजर गरेर दुई वर्षदेखि सामान्य रूपमा फूल खेती गरेका नेपालीले यस वर्ष चार रोपनी क्षेत्रफलमा विस्तार गरेका छन् । नेपालीको फर्ममा यतिबेला तिहार पर्वलाई लक्षित गरेर फूलहरू फूलिरहेका छन् । तर, उत्पादित फूललाई बजारीकरणको समस्या परिरहेको छ । उनले मुख्य गरेर धुर्कोट गाउँपालिका र जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरेर फूल उत्पादन गरे पनि फूलले बजार पाएको छैन ।

तिहार पर्वमा व्यापारीले कृत्रिम फूलका माला ल्याएर बिक्री गर्दा यहाँका फूलहरू बिक्री गर्न समस्या रहेको नेपालीले बताए । ‘बजारमा कृत्रिम फूलका मालाको प्रयोग बढी छ,’ नेपालीले भने, ‘हामीले उत्पादन गरेका फूलको बजारीकरणमा समस्या छ ।’ नेपालीको फर्ममा यतिबेला लकत्ते टेनिस, पहेंलो र सुन्तला रङको फूल उत्पादन भइरहेको छ । आगामी वर्ष नेपाली फूलहरू गोदावरी, मखमलीलगायत विभिन्न जातका फूलहरूसँगै क्षेत्रफल पनि विस्तार गर्ने योजना रहेको नेपालीले बताए ।

नेपालीको फर्ममा अहिले २ लाख बराबरको फूल उत्पादन भएको छ । मालाको हिसाबले ३५ वटा फूलको एउटा माला तयार हुने गर्छ । उनले प्रतिमाला २ सयमा बिक्री गर्ने गरेका छन् । सबै फूल होलसेल माग भए पनि गर्ने उनले बताए । जिल्लाका केही स्थानीय तहले मेला पर्वमा कृत्रिम फूलका मालाहरू निषेध गरेका छन् । गाउँमा फूलको खेती पनि नगर्नु र केही आफैं उम्रेका फूलहरूको भरमा चाडपर्व टार्नुपर्ने कारण पनि फूलको सट्टा कृत्रिम फूलमा आश्रित हुनुपरेको थियो ।

तर, यस वर्ष जिल्लामै व्यावसायिक फूल खेती हुनाले कृत्रिम फूल मालामा भर पर्नुपर्ने अवस्था छैन । तिहार लक्षित फूलको उत्पादन भए पनि बजारमा प्लास्टिकजन्य फूलको आयात बढिरहेको छ । जसका कारण स्थानीय क्षेत्रमा उत्पादन भइरहेका मालाले बजार पाउन नसकेका हुन् । किसान नेपालीले धुर्कोटसँगै गुल्मी जिल्लाभर फूलको माग भएमा पठाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्