तिहार लक्षित हाटबजार

पोखरा– पर्यटकीय नगरी पोखरामा तिहार लक्षित रैथाने हाटबजार सञ्चालन हुने भएको छ । स्थानीय उत्पादनको प्रवद्र्वन गर्न शनिबारदेखि पोखरामा पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन हुने भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।
रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू, स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरूको रुपमा रहेको कोदो, मकै, गहुँ, फापरलगायतका तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताए । उनका अनुसार सो अवरका तीन दिनसम्म सयपत्री फुल मेला २०८० समेत आयोजना हुने छ ।
हाटबजारमा स्थानीय उत्पादनका १० वटा भन्दाबढी स्टलहरू राखिने भएको छ भने मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिने भएको छ ।
यस्तै पुष्पान्जलीद्धारा तयार गरिएको विवाहका लागि चाहिने सामान, विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नं.६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिनेछन् ।
मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सत्रपत्री फुलहरू बिक्रीमा राखिने कडरियाले बताए । सयपत्री फुलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए । पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फुल लगाएको छ । यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था नभएको पनि कडरियाले भने ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फुलको रेट तोकिएको छ । दररेट अनुसार सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुंगालाई ५, १० रुपैयाँदेखी १५ ग्राम तौल भएको एक थुंगा फूलको मूल्य ५ रुयैयाँदेखी १० ग्रामको दुई रुपैयाँ तोकिएको छ ।
यस्तै मालाको क्रमशः २००, १८० र १५० रुपैयाँ तोकिएको छ । प्रतिकेजी ४०० रुपैयाँमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवद्र्वन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल कार्यक्रमहरू गरिने भएको छ ।