Logo

आठ करोड लागतमा रक्त सञ्चार केन्द्र भवन निर्माण

पोखरा– गण्डकी प्रदेश राजधानी पोखरामा नमुना रक्त सञ्चार केन्द्र भवन निर्माण भएको छ । सरकारी, गैरसरकारी तथा स्वदेश एवं विदेशबाट विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगबाट करिब आठ करोड लागतमा उक्त भवन निर्माण भएको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले बताए ।

भवन देशकै नमुना र अत्याधुनिक एवं सुविधा सम्पन्न अपांगमैत्री रहेको उक्त भवनबाट बी ग्रेडको सेवा सुविधा दिने गरी हाल भुइँतलासहितको चार तले भवन निर्माण भएको उनले जनाए । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कास्कीको प्राविधिक सहयोगमा २०७६ फागुन १२ गते दुई वर्षमा निर्माण कार्यसम्पन्न गर्ने गरी सिद्धार्थ कन्स्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिए पनि कोरोनाका कारण करिब डेढ वर्ष ढिलो गरी सम्पन्न गरेको हो ।

भ्याट र कन्टिन्जेन्सीसहित आठ करोड दुई लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएसँगै निर्माण कम्पनीका प्रबन्ध निर्देशक सूर्य तामाङले उक्त भवन निर्माण समितिका संयोजक रहेका अध्यक्ष शर्मासहितको टिमलाई चाबी हस्तान्तरण गरेको सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले बताए । उक्त भवन निर्माण गर्न संघीय सरकार स्वास्थ्य मन्त्रालयमार्फत् एक करोड ९५ लाख, युनिक फाउण्डेसन नेदरल्याण्डबाट ९६ लाख, गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट ५० लाख सहयोग प्राप्त भएको सोसाइटी कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारीले बताए ।

त्यसैगरी पोखरा महानगरपालिकाबाट ३८ लाख, गुप्तेश्वर महादेव गुफाबाट २० लाख, सांसद विद्या भट्टराईमार्फत् सांसद विकास कोषबाट १८ लाख, रुपा गाउँपालिकाबाट पाँच लाख, मादी गाउँपालिकाबाट चार लाख, गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री बिन्दुकुमार थापाको सांसद विकास कोषको चार लाख सहयोग प्राप्त भएको थियो । त्यस्तै विभिन्न बैंक तथा वित्तीय संघ संस्थाबाट २२ लाख, व्यक्ति तथा अन्यबाट नौ लाख र रेडक्रस सोसाइटीका विभिन्न उपशाखाबाट गरी चार करोड ६९ लाख रुपैयाँ संकलन भएको कार्यालयका लेखा अधिकृत गणेश कोइरालाले जनाए ।

भवन निर्माण पश्चात अब अत्याधुनिक मेसिनरीसहितका फर्निचर तथा फर्निसिङ व्यवस्थापनका लागि पाँच करोड रुपैयाँ आवश्यक भएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद कोइरालाले उल्लेख गरे । प्रदेश सरकारले केही समय अघिदेखि निःशुल्क रगत उपलब्ध गराउने निर्णयअनुसार हाल रगत तथा रगतजन्य वस्तुको व्यवस्थापनका लागि उक्त भवन छिटो सञ्चालन गर्नुपर्ने सोसाइटी कास्कीका रक्त सञ्चार विभाग प्रमुख धर्मराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्