Logo

हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न ग्रीनग्रोथ एडभाइजरी सेवा

काठमाडौं– हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना भएको छ । राष्ट्रिय सभामा दिगो विकास एवं सुशासन समितिका सभापति प्रकाश पन्थ, महासंघ अध्यक्ष चन्द्र ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक नुमान ओजकानले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् ।

यो सर्भिस अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको हो । सर्भिसमार्फत महासंघले आर्थिक वृद्धिलाई बढवा दिँदै वातावरणीय रूपमा दिगो अभ्यासहरू अपनाउन सक्रिय रूपमा वकालत गर्नेछ । एडभाइजरीमार्फत औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र र ग्रामहरुमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तनमा केन्द्रित हुँदै केन्द्र, प्रदेश र स्थानीय स्तरमा सचेतना अभियानहरू आयोजना गरिने छ ।

हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न रणनीति र कार्य योजनाहरूको विकासमा सहयोग गर्ने कार्यमा पनि एडभाइजरीले पहल गर्नेछ । हरित वृद्धिको महत्व, केन्द्रीय, प्रदेश,स्थानीय स्तरमा वकालत, प्रगति मापन गर्न मेट्रिक्स र सूचकहरू स्थापना गरी हरित वृद्धिको कार्यान्वयन सुनिश्चित गर्न नियामक मार्गदर्शन गर्ने पनि महासंघले जनाएको छ ।

हरित वृद्धिसँग सम्बन्धित ज्ञान, प्रविधि र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न एवं सरोकारवाला निकायहरुसँगको सहकार्यमा पनि एडभाइजरीले काम गर्नेछ । यसको प्रभावकारी सञ्चालनका लागि महासंघ, नेपाल सरकार, विश्व विद्यालय, ट्रेड यूनियन, आइएलओ र यस क्षेत्रका विज्ञहरु रहेको एडभाइजरी सर्भिस गठन गरिएको छ ।

एडभाइजरी शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै पन्थीले महासंघले नेपाली उद्योगी– व्यवसायीलाई हरित वृद्धिको अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको सराहना गरे । प्रारम्भमा यस्ता कार्यको थालनी गर्नु नै निकै स्वागतयोग्य भएको भन्दै महासंघको यो प्रयासलाई बिस्तारै अगाडी बढाउन सरकारको पनि सहयोग आवश्यक रहेको उनले बताए ।

अध्यक्ष ढकालले नेपाली व्यवसाय र उद्योगहरूमा हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसरहरू सिर्जना हुने दाबी गरे । महासंघले यसलाई अभियानको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । आइएलओका देशिय निर्देशक नुमानले महासंघसँग सहकार्य गर्न पाएकोमा खुसी प्रकट गरे ।

नेपाली व्यवसाय र उद्योग क्षेत्रमा हरित वृद्धि अवधारणाको नेतृत्व कार्यान्वयन र प्रवर्द्धन गर्ने कार्यमा महासंघलाई आइएलओको सहयोग रहने बताए । उनले महासघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली निजी क्षेत्रको क्षमता विकास, जनशक्ति विकास, असल श्रम सम्बन्ध विकासमा आइएलओको सहयोग सराहना गरे ।

प्रतिक्रिया दिनुहोस्