पेट्रोलियम व्यवसायीले पूर्ण परिमाणमा मागे इन्धन

बुटवल– पेट्रोलियम व्यवसायीहरूले पूरा परिमाणमा इन्धन उपलब्ध गराउन नेपाल आयल निगमसँग माग गरेका छन् । व्यवसायीले निगमलाई भुक्तानी गरेको रकमभन्दा कम परिमाणमा इन्धन उपलब्ध हुने गरेको भन्दै यसलाई सुधार गरी पूरा परिमाणमा इन्धन उपलब्ध गराउन माग गरेका हुन् ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले आयोजना गरेको नेपाल आयल निगम र गुणस्तर तथा नापतौल कार्यालयका नयाँ प्रमुखको सम्मानमा आयोजना गरेको स्वागत, परिचयात्मक तथा बिदाइ कार्यक्रममा सहभागी व्यवसायीहरूले पेट्रोलियम व्यवसायी आयल निगमको उपभोक्ता भएकाले निगमले उपभोक्ता मैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले जनता पेट्रोलियम व्यवसायीका उपभोक्ता भएजस्तै व्यवसायीहरू आयल निगमका उपभोक्ता भएकाले मूल्यअनुसार पूरा परिमाणमा इन्धन पाउनुपर्ने माग गरे । कुनै व्यवसायीले गल्ती गरेमा आम व्यवसायीलाई खराब दृष्टिकोणले हेर्न नहुने भन्दै सभासद जयसवालले गुण र दोषका आधारमा पुरस्कार र दण्ड जरिवानाको व्यवस्था हुनुपर्ने उल्लेख गरे ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले रङ राखेर इन्धनको परिमाण मापन गर्ने परम्पराको अन्त्य गरी फ्लोमिटरमार्फत इन्धन उपलब्ध गराउन माग गरे । नेपाल र भारतमा इन्धनको मूल्य फरक भएका कारण चोरी तस्करी बढेकाले अनुगमन कार्यलाई प्रभावकारी गराउन माग गर्दै एसोसिएसनले गलत गर्ने व्यवसायीको पक्षपोषण नगर्ने बताए ।
आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको प्रमुख कमला न्यौपानेले पेट्रोलियम व्यवसायी निगमका सहयात्री भएकाले साथ र सहयोगको अपेक्षा गर्दै व्यवसायीसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताइन् । उनले फ्लोमिटर अहिलेको आवश्यकता भएकाले चालु आर्थिक वर्षदेखि सुरु गर्ने गरी कार्य अगाडि बढेको जानकारी दिइन् ।
गुणस्तर तथा नापतौल कार्यालय, बुटवलका प्रमुख तिलक केसीले पेट्रोलियम पदार्थ अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले व्यावसायिक सुरक्षा र उपभोक्ता हितका लागि नियमन जरुरी रहेको भन्दै व्यावसायिक हित र संरक्षणका क्षेत्रमा काम गर्ने बताए । केही व्यवसायीको गलत आचरणका कारण पेसा नै बदनाम हुने हुँदा गलत आचरण सुधार गर्न सकेमा व्यवसायप्रतिको विश्वसनीयता बढ्ने बताए ।
पेट्रोलियम डिलर्स एसोसिएसन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपाने, पेट्रोलियम व्यवसायी चोपनारायण श्रेष्ठ, एसोसिएसनका महासचिव हरिराम कसौधनलगायतले निगम र सरकार बिनालगानी नाफा खाने व्यावसायिक साझेदार भए पनि व्यावसायिक हित र संरक्षणका क्षेत्रमा कुनै काम नगरेको गुनासो गरे ।
सो अवसरमा निगमको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख कमला न्यौपाने र गुणस्तर तथा नापतौल कार्यालय बुटलका प्रमुख तिलक केसीलाई स्वागत तथा आयल निगम भलवारीवाट काठमाडौं केन्द्रीय कार्यालयमा सरुवा भई जान लागेका इन्जिनियर जगदीशचन्द्र यादवलाई एसोसिएसनले विदाइ गरेको थियो ।