कुन पालिकामा कति भयो क्षति ?
भूकम्प पीडित मानसिक समस्यमा

जाजरकोट– गत शुक्रबार राती भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा र छोरी च्यापेर घर बाहिर निस्किन् । बाहिर निस्कँदा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । सदरमुकाम खलंगाको नयाँ बस्तीमा बस्दै आएकी थापा र उनका छोरा, छोरी अहिले नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै छन् ।
उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्य देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसक्नु भएकी थापाकी १४ वर्षीया छोरीसमेत राती सुतीरहेको समयमा हल्लायो ममी भन्दै कराउने गरेको आमा रमिताले बताइन् । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामबासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् ।
सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि सबैभन्दा ठूलो मारमा परेका छन् । राहत स्वरुप आएको त्रिपाल र अन्य सामग्री घरमूलीको नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए ।
वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरमूलीबाहेक अरुले नपाउने भनेपछि आफूहरू हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहेनछ भन्दै निरास भएको छ । त्यस्तै अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा वडा सचिव उपेन्द्रजंग शाहले म त्रिपाल दिन्न जहाँ मरे मर भन्दै हप्काएर पठाएको बताए ।
पीडितले त्रिपाल माग्दा जहाँ मरे मर, म दिन्न भन्नु अराजकताको पराकाष्टा भएको उनको भनाइ छ ।
वडा सचिवले हप्काएपछि जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुनः एक थान त्रिपाल पाएको उनले सुनाए । वडा कार्यालयमा राहत वितरणमा व्यापक पक्षपात भएको थापाको भनाइ छ । सुरुमा क्षति भएको नामावली संकलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए । घर पूर्णरूपमा भत्किएर समस्यमा परेको झलकको परिवारले अहिलेसम्म त्रिपाल पाउन सकेको छैन ।
यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा झन ठूलो समस्या रहँदै आएको छ । समय समयमा भूकम्पको पराकम्पन जाने क्रम जारी रहेपछि काममा निस्कने जागर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए । यो समाचार तयार पार्दासम्म ३३९ पटक यहाँ पराकम्पन गएको भूकम्प मापन केन्द्रको अभिलेखमा रेकर्ड भएको छ ।
कुन पालिकामा कति भयो क्षति ?
भेरी नगरपालिकामा ३४४ घर पूर्णरूपमा भत्किएका छन् भने आंशिक ७१२, २ वटा विद्यालय पूर्णरूपमा भत्किएको र १७ वटा आंशिक रूपमा क्षति भएको छ । त्यस्तै भेरी नगरपालिकामा पाँचवटा सरकारी कार्यालयमा क्षति पुगको छ । मृतकको संख्या ३६ रहेको छ भने घाइते ६५ छ । नलगाड नगरपालिकामा दुई सय घर पूर्णरूपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् ।
विद्यालय १२ पूर्णरूपमा भत्किएका छन् भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ । मृत्यु हुनेको संख्य ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा एक सय घरमा पूर्ण क्षति भएको र आंशिक रूपमा पाँच सयमा क्षति भएको छ ।
तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । दुईजनाको मृत्यु भएको छ भने घाइते एकजना भएको बताइएको छ । कुशे गाउँपालिकामा ९५ वटा घर पूर्णरूपमा क्षति भएको छ भने ३०१ वटा आंशिक रूपमा क्षति पुगेको छ । चारवटा विद्यालय पूर्णरूपमा भत्किएका छन् भने १७ वटा आंशिक रूपमा क्षति भएको पाइएको छ ।
एउटा सरकारी कार्यालय पूर्णरूपमा भत्किएको भने १७ वटा आंशिक रूपमा क्षति पुगको छ । कुशेमा दुईजनाको मृत्यु र एकजना घाइते भएको पाइएको छ । १६० घर पूर्णरूपमा बारेकोटमा भत्किएका छन् भने ५६० घर आंशिक रूपमा क्षति पुगेको छ । पाँचवटा विद्यालय पूर्णरूपमा भत्किएका छन् भने दुईवटा आंशिक रूपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्णरूपमा भत्किएको र दुई कार्यालयमा आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । चारजनाको मृत्यु र चारजना घाइते भएका छन् ।
शिवालय गाउँपालिकामा एक घर पूर्णरूपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताइएको छ । एकजना घाइते भएका छन् । जुनिचाँदे गाउँपालिकामा २७० घर पूर्णरूपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा एक हजार १७० वटा घर पूर्णरूपमा क्षति भएको पाइएको छ ।
सात हजार १६६ वटा घर आँशिक रुपमा क्षति भएको पाइएको छ । २३ वटा विद्यालयको पूर्ण क्षति र ७५ वटा आंशिक क्षति भएको जानकारी आएको छ । १०१ जनाको मृत्यु भएको छ । १५२ जना घाइते भएको प्रहरीले जनाएको छ ।