झापाका किसानलाई धान काट्ने चटारो

बिर्तामोड– नेपालीहरूको ठूलो पर्व दसैं सकिएलगत्तै झापाका किसानलाई यो वर्ष धान काट्न चटारो सुरु भएको छ । तिहारको रौनकले छोए पनि झापाका किसानलाई भने वर्ष दिनलाई पुग्ने आफ्नो खाद्यान्न थन्क्याउने कार्यले व्यस्त बनाएको हो । किसानहरूले दसैं मनाएपछि पाकेको धानबाली काट्न थालेका हुन् । धान धत्पादनका दृष्टिकोणले पकेट क्षेत्रका रूपमा परिचित झापामा कात्तिक लागेसँगै किसानहरू धान काट्न व्यस्त बनेका हुन् ।
उनीहरू सपरिवार, छरछिमेक, नातागोता आफन्त मिलेर खुसीयालीसाथ धान काट्न व्यस्त देखिन्छन् । परिवार, छरछिमेक अनि नातागोतासँगै पालैपालो उनीहरू धान काट्न गर्छन् । तिहार नजिकिँदै जाँदा एकाबिहानैदेखि उनीहरूले समूह–समूहमा मिलेर धान काट्न थालेका छन् । यतिबेला जोकोही झापामा आउँदा लटरम्म झुलेका घान देखेर मन्त्रमुग्ध हुन थालेका छन् । अहिले मौसम सफा रहेका कारण धान काटेर थन्क्याउने काममा लागेका झापाका किसानलाई धान काट्ने चटारो छ ।
झापामा यो वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । यो वर्ष धेरै स्थान सिँचाइ पहुँच, समयमा पानी पर्नु, मल समयमा उपलब्ध हुनु, रोगव्याधि कम लागेका कारण झापामा यो वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए । मौसम अनुकूल र रोग कीराको प्रभाव कम हुनुका साथै धान खेतीको क्षेत्रफल पनि बढेकाले झापा जिल्लाभर धानबालीको औसत उत्पादकत्व बढ्ने अनुमान गरिएको उनले बताए ।
यता कोसी प्रदेशमा यस वर्ष धान उत्पादन बढ्न सक्ने अनुमान गरिएको छ । कोसी प्रदेशमा पनि झापा, मोरङ र सुनसरी जिल्ला धान उत्पादनको भण्डार मानिएकाले यी जिल्लाहरूमा अहिलेसम्म रोग, कीरा, पानी, बतासलगायतका समस्याले धानमा ठूलो असर नगरेकाले झापा, मोरङ र सुनसरीमा यस पटक धान उत्पादन राम्रो हुने अनुमान गरिएको कोसी प्रदेश कृषि निर्देशनालयका प्रमुख तथा कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीले बताए ।
किसानले उन्नत जातको बीउलाई प्राथमिकता दिनु तथा मौसम पनि अनुकूल भएकाले यो वर्ष धान उत्पादन बढ्न सक्ने अनुमान गरिएको उनले बताए । अहिलेसम्मको अवस्था हेर्दा कोसी प्रदेशमा धान राम्रो उत्पादन हुने देखिएकाले धान उत्पादन बढ्न सक्ने बताउँदै डाँगीले रोग कीरा तथा हुरीबतास र पानीले यसपटक ठूलो असर नगरेको पाइएको बताए ।
धान विज्ञ डा. राजेन्द्र उप्रेतीले कोसी प्रदेशमा धान गत वर्षभन्दा धेरै राम्रो उत्पादन हुने देखिएको बताए । उनले झापा, मोरङ, सुनसरीमा धानको बोट हेर्दा पनि राम्रो देखिएकाले यस पटक धान उत्पादन बढ्ने दाबी गरे । किसानहरूले धेरै धान रन्जित र स्वर्ण प्रजातिका लगाएका छन् । उक्त धान अहिलेसम्ममा दूध पसेर, नुहाइसकेको र पाक्ने क्रममा रहेका कारण अब हावाहुरी र असिनाले धेरै असर गर्न नसक्ने उप्रेतीको दाबी छ ।
कोसी प्रदेशमा यस वर्ष ३ लाख ३२ हजार ८ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो ९७.६७ प्रतिशत रोपाइँ भएको कोसी प्रदेश कृषि निर्देशनालयले जनाएको छ । गत वर्ष ९७.१ प्रतिशत अर्थात् ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएर १२ लाख ९८ हजार ८ सय ५५.१५ मेट्रिक टन धान उत्पादन भएको कोसी प्रदेश कृषि निर्देशनालयले जनाएको छ । कोसी प्रदेशमा धान उत्पादन हुने जमिन ३ लाख ४० हजार ८ सय २९ हेक्टर रहेको कोसी प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।