Logo

पर्यटन विकासका लागि सञ्जाल

काठमाडौं– पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुले मुलुकको आर्थिक–सामाजिक विकासका लागि अग्रसर हुने उद्देश्यले ‘पर्यटनका लागि सँगै’ नारा विकास गरेका छन् ।

आर्थिक उपार्जन गर्दै नारा सफल पार्न पर्यटनका एक दर्जन प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त सञ्जाल गठन गरेको होटल संघ नेपालले बताएको छ । सञ्जालले पर्यटन विकास र विस्तारका लागिमात्र नभई जनमानसको दैनिक जीविकोपार्जनका लागि पनि विभिन्न सीपमूलक तालिम प्रदान गर्नेछ । सञ्जालले विभिन्न कालखण्डमा दैवी प्रकोप तथा सामाजिक उत्तरदायित्वका काम गर्दै जाने पनि जनाएको छ ।

सोही कार्यक्रम अन्तर्गत गत शुक्रबार गएको जाजरकोट भूकम्पका पीडितलाई सहयोग कोष स्थापना गरी गर्दै समन्वयको काम यसै हप्ताबाट सुरु गरिएको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । संघसंस्थाहरुको संयुक्त अभियान अन्तर्गत भूकम्प पीडितका लागि राहत कोष स्थापना गरी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने पहिलो निर्णय गरिएको छ । उनले भने, ‘पर्यटनका लागि सँगै भन्ने अभियानसहित हामीले पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको एकीकृत सञ्जाल गठन गरेका हौं ।’

भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरी कमाउने र सिक्ने अर्न एन्ड लर्न अवधारणामा कार्यक्रमहरु सञ्चालन गरिनेछ । भूकम्पबाट प्रभावित क्षेत्र राजधानी काठमाडौंभन्दा करिब ५ सय किमी पश्चिममा रहेको र उक्त स्थानमा पर्यटनसँग सम्बन्धित प्रत्यक्ष गतिविधिहरु कम हुने भएको हुँदा यस प्रकोपका कारण नेपालको मुख्य पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायत समग्र पर्यटन क्षेत्र न्यून रुपमा प्रभावित भई सुरक्षित रहेको पनि सञ्जालले विश्वमा सन्देश प्रवाह गरेको छ ।

पर्यटनसँग सम्बद्ध सबै संघसंस्था एकै छातामा आवद्ध हुने भएका छन् । पर्यटनका लागि सँगै (टुगेदर फर टुरिजम) भन्ने नारासहित पर्यटनसँग सरोकार राख्ने ११ संस्था एकै सञ्जालमा आएका हुन् । हान, टान, नाटा, एनएमए, नारा, ओएएन, स्कल नेपाल, एनटीभीए, टीवान, पाटा, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टर लगायतले पर्यटकको आगमनलाई सहज बनाउने र पर्यटनसँग सम्बन्धि नीति तथा कार्यक्रमका लागि सँगै दीर्घकालीन सोचसहित काम गर्ने लक्ष्य लिएका छन् ।

हान अध्यक्ष शाहले भने, ‘निर्माण पूरा भएका २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन । हामी निजी क्षेत्रले मात्र पनि र सरकारसँग पनि समन्वय गरेर विभिन्न अभियान चलाएर पर्यटक आगमन गर्ने गरी विमानस्थल सञ्चालनमा ल्याउन सक्छौंं । यो र यस्तै सहजीकरणका काम तथा नीति निर्माणमा फोरमले काम गर्नेछ ।’

हानका अनुसार देशभरका पर्यटकीय स्तरीय होटलले दैनिक १० हजार पर्यटकलाई सेवा प्रदान गर्न सक्छन् । ‘दैनिक १० हजारले वार्षिक ३६ लाख बढी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार भए पनि १० लाख मात्र पर्यटक आगमन भएको अवस्था छ,’ अध्यक्ष शाहले भने, ‘यस्ता धेरै नीतिगत तथा पर्यटकसँग सम्बद्ध धेरै समस्याहरुलाई एकै समूहबाट लबिङ गर्न सक्छौं । नेपालको प्रवर्द्धन तथा पर्यटन निर्माणको क्रममा रहेको छ ।

यसमा कसरी सरकार तथा निजी क्षेत्रलाई समन्वय गरेर काम गर्न सकिन्छ भन्ने अभिप्रायले अभियान सुरु भएको हो । सबै संघसंस्था एउटै छातामा जम्मा भएका छौं । यसो हुँदा विभिन्न काम गर्न र आर्थिक तथा सामाजिक उपार्जनमा सहयोग पुग्छ । पर्यटन बोर्डले पनि सोचेजस्तो काम गर्न सकेको छैन । बोर्डसँगको समन्वयमा विभिन्न काम गर्न सकिन्छ, जसले नेपालको पर्यटक आगमनमा वृद्धि पुर्‍याउने छ ।’

उनका अनुसार पर्यटनका समस्या समाधान गर्ने फोरमको रुपमा विकास गर्ने सञ्जालले लक्ष्य लिएको छ । सञ्जालले एकै थलोमार्फत समस्या उजागर गरेर समाधानका लागि सम्बन्धित पक्षलाई दबाब दिनेछ । ‘सञ्जालले मूलतः नेपालको पर्यटन उद्योगको विकास गर्दै पर्यटन हबको रुपमा विश्वमा सन्देश प्रवाह गर्नेछ । यसले गर्दा पर्यटन उद्योग फस्टाउने अपेक्षा हाम्रो छ,’ शाहले भने ।

प्रतिक्रिया दिनुहोस्