गुटेरेस भ्रमणको पर्यटकीय महत्व «
Logo

गुटेरेस भ्रमणको पर्यटकीय महत्व

संयुक्त राष्ट्रसंघ (युएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका क्रममा गत साता नेपाल आइपुगेका थिए । भ्रमण विशेष गरी मुलुकको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन, गरिबी निवारणका साथै अन्य आर्थिक तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रित रह्यो । सन् २०१७ मा संयुक्त राष्ट्रसंघका महासचिव भएपछि पहिलो पटक नेपाल आएका गुटेरेसको भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । भ्रमणले प्रत्यक्ष रूपमा शान्ति प्रक्रियाअन्तर्गतको संक्रमणकालीन न्याय तथा जलवायु परिवर्तनको मुद्दालाई समेटेको देखिए पनि अप्रत्यक्ष रूपमा भने मुलुकको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्न सक्ने देखिएको छ ।

चारदिने भ्रमणका क्रममा गुटेरेसले विभिन्न उच्चस्तरीय भेटवार्ताका साथै नेपालका प्रमुख पर्यटकीय स्थलहरूको समेत भ्रमण गरेका थिए । यसले नेपाल पर्यटकीय हिसाबले सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वसामु पुर्याउन सफल भएको छ । भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका छन् । उनले ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरे । विश्वका प्रमुख समाचार संस्थाहरूको केन्द्रबिन्दुमा रहेका गुटेरेसले भ्रमण गरेका हरेक स्थानलाई विश्व समुदायले समेत गम्भीरतापूर्वक हेरिरहेको अनुमान लगाउन सकिन्छ । यसै कारण गुटेरेसको भ्रमणलाई पर्यटन प्रवद्र्धनका लागि अवसरको रूपमा समेत लिनुपर्ने देखिएको छ ।

भ्रमणको पहिलो दिन गुटेरेसले ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरे । उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ । यहाँ सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदा रहेका छन् । पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा गुटेरेसको भ्रमणले थप पर्यटकीय महत्व बढाएको देखिन्छ । यसैगरी भ्रमणको दोस्रो दिन महासचिव गुटेरेस पर्यटकीय नगरी पोखरा प्रस्थान गरेका थिए । पोखरा विमानस्थलमा उनलाई पञ्चैबाजा र गुरुङ, मगर तथा नेवार जातिको सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । उनी दृश्यावलोकनका लागि महादेवको विशाल मूर्ति रहेको पुम्दीकोट पुगेका थिए । दुईपल्ट महादेव मूर्तिको परिक्रमा गरी मूर्ति रहेको स्थलबाट उनले पोखरा, फेवाताल र हिमशृंखला नियालेको जनाइएको छ । यसले पर्यटकीय नगरी पोखरामा धार्मिक तथा सांकृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । महासचिवको पोखरा भ्रमणले पोखराको मात्र नभई गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन हुने विश्वास पर्यटन व्यवसायीहरूको छ ।

जलवायु परिवर्तनको असरबारे बुझ्न गुटेरेस कास्कीको अन्नपूर्ण आधार शिविरसमेत पुगेका थिए । त्यहाँ पुगेर उनले हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराएको जनाइएको छ । अधिक मात्रामा हरित ग्याँस उत्सर्जन गर्ने मुलुकहरूप्रति लक्ष्य गर्दै भिडियो सन्देशमार्फत ‘विकासका नाममा उन्माद रोक’ भनेर विश्व समुदायलाई सचेत गराएका छन् । जलवायु परिवर्तनका कारक मुलुकहरूले हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण र प्रभावित मुलुकहरूका लागि क्षतिपूर्ति प्रबन्धमा चासो नदिइरहेका बेला राष्ट्रसंघका महासचिवले हिमाली मुलुकमै आएर प्रवाह गरेको यो सन्देशलाई अमूल्य मान्न सकिन्छ । यसबाट विश्व समुदायको ध्यान नेपालप्रति आकर्षित हुने विश्वास गर्न सकिन्छ । यसले जलवायु परिवर्तन र यसले पारेको असरबारे अनुसन्धान गर्ने व्यक्ति वा संस्थाहरूका लागि नेपाल एउटा गन्तव्य स्थल भएको सन्देशसमेत प्रवाह गरेको छ ।

भ्रमणको तेस्रो दिन महासचिवले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । लुम्बिनी पुगेर उनले विश्वभर भइरहेको द्वन्द्व अन्त्यका लागि आह्वानसमेत गरेका छन् । विशेष गरी युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्दै उनले युक्रेन, रसिया, इजरायल, प्लानेस्टाइनजस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकाले शान्ति स्थापनाका लागि लाग्न सबैलाई आग्रह गरेका थिए । उनले बुद्धका सन्देश तथा पञ्चशील सिद्धान्तहरू संयुक्त राष्ट्रसंघको मिसनसँग मिल्दोजुल्दो रहेको समेत बताएका थिए । शान्ति र मानवता अपरिहार्य विषय भएकाले मानवीयता मर्न दिन नहुने सन्देश बुद्ध भूमिबाट विश्वसामु प्रवाह गरेका छन् । लुम्बिनी शान्तिको मुहान भएको र विश्वमा शान्ति स्थापनाका लागि सबैले लुम्बिनी घुम्नुपर्ने धारणा उनको थियो । यो धारणाबाट विश्व समुदायले लुम्बिनीको महत्वलाई अझ गहिराइसम्म बुझ्ने आशा गर्न सकिन्छ । महासचिवको लुम्बिनी भ्रमणको आह्वानलाई विश्व समुदायले गम्भीरतापूर्वक लिने आशा गर्न सकिन्छ । यसले शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने देखिन्छ । आगामी दिनमा बौद्ध धर्मावलम्बीहरू मात्र नभई विश्वका जुनसुकै धर्मका मानिसहरूका लागि लुम्बिनी एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना महासचिवको आह्वानले जगाएको छ ।

नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी महासचिव गुटेरेस गत बुधबार स्वदेश फर्केका छन् । नेपाल भ्रमणमा रहँदासम्म विभिन्न उच्चस्तरीय भेटका साथै मंगलबार बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधनसमेत गरेका थिए । उक्त अवसरमा उनले संक्रमणकालीन न्याय टुंग्याउन, जलवायु परिवर्तनको असर र विश्व शान्तिमा नेपालको योगदानको बारेमा मुख्य चर्चा गरेका थिए । सम्बोधनको अन्त्यमा उनले ‘मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्छ— नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ । संयुक्त राष्ट्रसंघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि संघर्ष गर्न छाड्ने छैन’ भनेर नेपालप्रतिको माया र सम्मान व्यक्त गरेका छन् । यो अभिव्यक्तिले नेपाललाई विश्वमाझ सम्मानजनक रूपमा प्रस्तुत गर्न खोजिएको देखिन्छ । यसर्थ, महासचिव एन्टोनियो गुटेरेसको हालै भएको नेपाल भ्रमणले विश्वसामु नेपालको छुट्टै पहिचान दिलाउन सफल भएको छ भन्दा फरक पर्दैन ।

महासचिव गुटेरेसको नेपाल भ्रमणले विश्वसामु प्रदान गरेको नेपालको नयाँ पहिचानलाई पर्यटन प्रवद्र्धनका लागि अवसरको रूपमा लिनुपर्ने देखिन्छ । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा भएको प्रचार–प्रसारलाई अझ व्यापक बनाउनुपर्ने खाँचो देखिएको छ । महासचिवको भ्रमणबाट प्रख्यात भएका ललितपुर, पोखरा, लुम्बिनी, अन्नपूर्ण तथा सगरमाथा आधार शिविरका साथै अन्य क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन आवागमनलाई आकर्षित गर्नुपर्ने आवश्यकता देखिन्छ । पर्यटकको आगमनपछि उनीहरूको बसाइ अवधि तथा औसत खर्चमा वृद्धिका लागि पर्यटन पूर्वाधारहरूको विकास र विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । पर्यटकीय गन्तव्यसम्म पुग्न सहज र सुलभ हुन सक्ने यातायात, सञ्चार, स्वास्थ्य सेवा, सरसफाइजस्ता पूर्वाधारहरूको विकास र विस्तारले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसको उचित व्यवस्थापनले मुलुकभित्र पर्यटकहरूको संख्या वृद्धिमा सहयोग पुग्नेछ ।

यस्तैगरी सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, क्यासिनो, डिस्कोबारका साथै रात्रिकालीन पर्यटनको प्रवद्र्धनले समेत पर्यटनको विकासमा सहयोग पुग्न सक्नेछ । पर्यटन क्षेत्रका नयाँ अवधारणाहरू जस्तै— ग्रामीण पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटनजस्ता क्षेत्रहरूको विकास र विस्तारले समेत पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । पर्वतारोहण, ट्रेकिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जंगल सफारी, र्‍याफ्टिङ, बोटिङ आदिजस्ता मनोरञ्जनात्मक गतिविधिहरू अहिलेको समयमा पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्न पुगेका छन् । यसको विकास र विस्तारले समेत पर्यटन आवागमनमा वृद्धि ल्याउन सकिने सम्भावना देखिन्छ । यसबाट मुलुकमा भित्रिएका पर्यटकहरूको बसाइ अवधि लम्ब्याउने तथा खर्च गर्ने इच्छाशक्ति जगाउन सहयोग पुग्ने देखिन्छ, जसले गर्दा गुणस्तरीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।

पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकभित्र १० लाख पर्यटक भित्यार्उने सरकारको योजना छ । यसलाई टेवा पुग्ने गरी पर्यटकहरूको आवागमनमा समेत वृद्धि भइरहेको देखिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को पछिल्लो १० महिनासम्म ८ लाख ९ हजार ६ सय ७८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो अक्टोबर महिनामा मात्रै १ लाख १७ हजार ३ सय ६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो । अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो । पर्यटकको संख्या बढ्दै जानु आफैंमा सुखद पक्ष हो । अबका दिनमा पर्यटकको संख्यामा मात्र ध्यान केन्द्रित नगरी गुणस्तरीय पर्यटनमा समेत सोच्नुपर्ने बेला आएको छ । मुलुकमा पर्यटकको संख्यामा वृद्धिका साथसाथै पर्यटन आम्दानी, रोजगारीको सिर्जना, वैदेशिक मुद्राको आप्रवाह तथा पर्यटन व्यवसाय पनि त्यही अनुपातमा वृद्धिका लागि गुणस्तरीय पर्यटनको अपरिहार्यता देखिएको छ । यसपछि मात्र हामीले पर्यटन क्षेत्रबाट सोचेजस्तो लाभ प्राप्त गर्न सक्ने अवस्थाको सिर्जना हुन सक्छ । मुलुकमा गुणस्तरीय पर्यटन प्रवद्र्धनका लागि समेत गुटेरेसको भ्रमण सहयोगी बन्न सक्ने देखिएको छ ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा सुपरिचित छ । पर्यटन क्षेत्रको प्रवद्र्धनले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने कुरामा दुईमत छैन । तथापि, यस क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ३ प्रतिशतको मात्र योगदान गरेको देखिन्छ । यसैकारण यस क्षेत्रको विकास र विस्तारका लागि विभिन्न अवसरहरूको सदुपयोग गर्नुपर्ने आवश्यकता छ । भर्खरै भएको राष्ट्रसंघका महासचिवको भ्रमणले नेपालमा पर्यटन प्रवद्र्धनका लागि एउटा सुनौलो अवसरको सिर्जना गरेको छ । यसलाई उचित तवरले उपयोग गर्न सकेको खण्डमा पर्यटन क्षेत्रको विकासले नयाँ गति लिन सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्