विदेशी माला आयात स्वदेशी बजारको तगारो

काठमाडौं– आन्तरिक मागको तुलनामा सयपत्री फूलको माला व्यापक रुपमा आयात भएपछि तिहारलाई लक्षित गरेर फूलखेती गरेका किसान मर्कामा परेका छन् ।
स्थानीय किसानले करोडौं लगानी गरी तिहारका लागि फूलखेती गरेका थिए । तर, तिहार अगाडि भारतीय बजारबाट बिना रोकतोक लाखौं फूलका माला आयात भएका छन् । यसले नेपाली किसानको फूलले बजार नपाउने सम्भावना बढेको छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले भारतीय बजारबाट जथाभावी रुपमा सयपत्री फूलका माला आयात भएको जानकारी दिँदै स्वदेशी फूल बिक्री नहुने सम्भावना बढेको गुनासो गरे । उनका अनुसार स्वदेशी मागभन्दा धेरै फूलका माला आयात हुँदा पनि सरकारले रोकेको छैन । भारतीय फूलसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । यस्तोमा नेपाली फूल त्यसै फाल्नुपर्ने अवस्था आएको छ ।
स्वदेशमा नै पर्याप्त फूल उत्पादन हुँदाहुँदै सरकारले आयातमा कुनै कडाइ गरेको छैन । माग भएका बेला बेच्न नसकेपछि फूलखेती र व्यवसायबाट किसान पलायन हुने खतरा बढेको उनको भनाइ छ । अध्यक्ष तामाङका अनुसार तिहारमा सयपत्री मालाको माग ३५ लाख थानमात्र हो । स्थानीय उत्पादनले ३० लाख थान माला बुन्न पुग्छ । अपुग ५ लाख थानमात्र आयात गर्न दिएको भए कुनै समस्या हुने थिएन । तर, पचासौं लाख माला विभिन्न ठूला सहरमा भित्रिसकेको हुँदा स्वदेशी माला सडकमा फाल्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।
अहिलेसम्मको आयातको तथ्यांक हेरेर यसबारेमा सरकारसँग छलफल गर्ने तयारी गरिएको उनले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार मुलुकभित्र मागको करिब ८५ प्रतिशत स्थानीय उत्पादनले धान्छ । बाँकी १५ प्रतिशत हाराहारीमात्र अपुग हो ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सावित्री बरालले भने स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न सरकारले माला आयात अनुमति दिएको भन्ने हल्लामात्र भएको बताइन् । उनले फूल आयातलाई निरुत्साहित गर्न आयात मापदण्ड लागु गरिएको जानकारी दिइन् ।
प्रमुख बरालले भनिन्, ‘हामीसँग आयात रोक्न मिल्ने कानुनी व्यवस्था छैन । तैपनि कात्तिक १२ मा सूचना निकाली आयात मापदण्ड तोकिएको छ । मापदण्ड पूरा गरेका फूलमात्र नाकाबाट भित्र्याउन सबै क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिएका छौं ।’ उनले विदेशी माला आयातमा कडाइ गर्न सयपत्री फू र मालाको मात्र छुट्टै प्रवेश अनुमति लिनुपर्ने निर्णय गरिएको जानकारी दिइन् । अनुमति प्रमाणपत्र बिना सयपत्री माला र फूल भित्रन नदिन क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको उनको भनाइ छ । उनका अनुसार मापदण्ड लागु गरिएका कारण जथाभावी रुपमा फूल आयात हुन रोकिएको छ ।
क्वारेन्टाइन केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यका अनुसार असोज २३ देखि कात्तिक २२ सम्ममा ५९ वटा फूल आयात अनुमतिका ‘कन्साइन्मेट’ स्वीकृत भएका थिए । ती ‘कन्साइन्मेट’बाट एक महिनाको बीचमा ३ लाख २ हजार ३३५ किलो सयपत्री फूल आयात भएको छ । एउटा ‘कन्साइन्मेट’मा ७५ हजार किलो आयात गर्न पाइन्छ ।
उनका अनुसार सामान नल्याएका अर्का ४८ वटा ‘कन्साइन्मेट’ रद्द भएका छन् । केन्द्रको सूचनापछि भने १६ वटा ‘कन्साइन्मेट’ स्वीकृत गरिएको हो । १६ ‘कन्साइन्मेट’को फूल आयात हुँदा स्वदेशी उत्पादनलाई असर नपर्ने केन्द्रका सूचना अधिकारी आचार्यले जानकारी दिए । यसैगरी उनले पुष्प विकास केन्द्र गोदावरीले सिफारिस गरेको बाहेक आधिकारिक रुपमा फूल आयात नभएको बताए । क्वारेन्टाइन केन्द्रले फूल आयात अनुमति दिएर स्वदेशी व्यवसायी मर्कामा पारेको भन्ने हल्लामात्र भएको उनको भनाइ छ ।
केन्द्रको अनमुति भन्दा पनि खुला नाकाबाट अवैध रुपमा फू आयात हुँदा स्वदेशी फूलले मूल्य नपाउने देखिएको केन्द्रका एक अधिकारीले जानकारी दिए । फ्यान अध्यक्ष तामाङका अनुसार बजारमा प्रतिगोटा सयपत्री मालाको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ रुपैयाँ छ । ठूलो मात्रामा फू आयात हुँदा स्थानीय कृषकले एउटा मालाको ५० देखि ६० रुपैयाँसम्म पनि नपाउने देखिएको उनले बताए ।
उनका अनुसार गत वर्ष प्रतिमालाको ५० देखि एक सय रुपैयाँ मूल्य थियो । यस वर्ष मखमली मालाको मूल्य थोकमा ४५ रुपैयाँ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने तामाङले जानकारी दिए । फ्यानका अनुसार पछिल्लो समय बजारमा फूलको माग वृद्धि भएपछि काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेप, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्प खेती विस्तार भइरहेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा १ हजार १ सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन् । स्वदेशी पुष्प खेती र व्यवसायबाट ४४ हजारले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा फूलको कारोबार तीन अर्ब सात करोड पुगेको छ । यो अवधिमा मुलुकबाट ६८ अर्ब १८ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात हुँदा ३३ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांक छ ।