Logo

भूकम्प क्षेत्रमा राष्ट्रपति: सरकार साथमा छ

जाजरकोट– राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार हेलिकोप्टरमा भूकम्पबाट थिलथिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे । सदरमुकामबाट पठाएको राहत सामग्री अझै राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहतभन्दा अगाडि गाउँ पुगे ।

अगुवा, पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेका राष्ट्रपति पौडेलले जनता जनधनको क्षतिप्रति दुःखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्वसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए, तर राष्ट्रपति खाली हात भाषणमात्र लिएर भत्किएका संरचना हेर्न पुग्दा यहाँका जनताले हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं भएको बताएका छन् ।

बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्रविन्दु थियो । केही काम गरौंला भनेर आशा लिएर आएका छौं, हाम्रो भरोसा मान्नुहोस् भन्दै आश्वासनको पोको सुनाएर राष्ट्रपति पौडेल काठमाडौं हुँइकिए । त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकाम स्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए । उनले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

जाजरकोट अस्पतालमा बिरामी भेट्न गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका–१ कि सीतली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको गुनासो गरेकी थिइन् । उनले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन समेत राष्ट्रपतिसँग आग्रह गरेकी थिइन् । भूकम्पका कारण मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेका नलगाडका बीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउँदै राष्ट्रपतिसँग गुनासो गरे ।

अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझ्न नसकेको उनले राष्ट्रपतिलाई सुनाए । राष्ट्रपति पौडेलले बीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त पारे । राष्ट्रपति काठमाडौं पुग्ने समयसम्म पनि बीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन् । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्ट समेत हटाइएको थियो ।

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हालसम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताए । १ हजार ३०० कम्बल , ४०० थान म्याट्रिस बारेकोट पठाइएको उनले बताए । त्यस्तै कुशे गाउँपालिकामा पनि हवाई मार्गबाट केही सामग्री पठाइएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबारमात्र पठाउने कार्ययोजना रहेको छ ।

जिल्लास्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन् । राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । यो भन्दा अगाडि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आउने र जाने गरिरहेका छन् ।

उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन् । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेत जाजरकोटमै रहेका छन् । मन्त्री देखि राष्ट्रपतिसम्म जिल्लामा आउने र जाने भीड लागे पनि भूकम्प पीडितसम्म अझै राहत सामग्री पुग्न नसक्दा समस्या उत्पन्न भएको छ ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले लेखेका छन्, ‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतंक बन्द गर । संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज,’ उनले थप लेखेका छन्, ‘भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो ।’

प्रतिक्रिया दिनुहोस्