कामना सेवा बैंकको रक्तदान कार्यक्रम

काठमाडौं– कामना सेवा विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सबै क्षेत्रीय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट, मधेस प्रदेशको वीरगञ्ज शाखामा भएको रक्तदानमा २३ पिन्ट, बर्दिबास शाखामा भएको रक्तदानमा ३० पिन्ट, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा ११० पिन्ट रगत संकलन भएको छ ।
त्यसैगरी पोखरा क्षेत्रको प्रस्र्याग शाखामा भएको रक्तदानमा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । सोही कार्यक्रमअन्तर्गत बुटवल क्षेत्रको बुटवल शाखामा भएको रक्तदानमा ७६ पिन्ट रगत संकलन भएको थियो । यसरी बैंकले कुल ४१७ पिन्ट रगत संकलन गरेको जनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमअन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्तीसमेत प्रदान गरेको छ । उक्त छात्रवृत्ती रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताए । बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ ।