Logo

भूकम्पपीडितलाई नबिल बैंकको एक करोड सहयोग

काठमाडौं– नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङकेट, औषधीलगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ । ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौं, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने । उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए ।

राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्