आधारभूत अस्पताल निर्माण अलपत्र «

आधारभूत अस्पताल निर्माण अलपत्र

धनकुटा– आधारभूत अस्पताल निर्माणका लागि बजेट नआउँदा धनकुटामा निर्माणाधीन अस्पताल अलपत्र परेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा निर्माण थालिएको १५ शैयाको आधाभूत अस्पताल बजेट अभाव र निर्माण व्यवसायीका कारण अलपत्र परेको हो । संघीय सरकारले पठाउनु पर्ने रकम समयमा नपठाउँदा र निर्माण व्यवसायीको लापरबाहीका कारण आधारभूत अस्पताल अलपत्र परेको हो । गत असारमै निर्माण सम्पन्न भई सञ्चालन हुनुपर्ने अस्पतालको अहिलेसम्म जग हाल्ने र पिल्लर ठड्याउने काममात्र भएको छ ।

संघीय सरकारले पठाउनु पर्ने रकम समयमा नपठाउँदा र निर्माण व्यवसायीका कारण अस्पताल निर्माण कार्य ढिलाइ भएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताए । अहिले अस्पताल निर्माणका लागि समय थप गरिएको र अब भने समयमै काम सम्पन्न गर्ने गरी संयोजनको काम भइरहेको नगर प्रमुख रायको भनाइ छ । त्यस्तै धनकुटाको साँगुरीगढी गाँउपालिकामा आधारभूत अस्पतालका लागि जग्गा प्राप्ति र डीपीआरबाहेक अरु केही काम अघि बढ्न सकेको छैन ।

अघिल्ला जनप्रतिनिधिले अस्पताल निर्माणको प्रक्रिया अगाडि नबढाएकाले काममा ढिलाइ भएको र अहिले सबै प्रक्रिया पूरा गरी स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकेको छ । तर मन्त्रालयबाट फाइल स्वीकृत गर्ने र बजेट व्यवस्थापनको स्पष्ट आधार नआएकाले काम अघि बढ्न नसकेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । धनकुटाकै चौबिसे गाँउपालिकामा पनि अस्पताल निर्माणको काम ४० प्रतिशत भएको छ ।

आधा पालिकाले आधा संघीय सरकारले खर्चगर्ने गरी सम्झौता भएकाले काम गर्न असहज भएको पालिकाले जनाएको छ । छथर जोरपाटी गाउँपालिकामा समेत बजेट नआएपछि काम रोकिएको छ । सहिदभूमि गाउँपालिका र पाख्रिवास नगरपालिकामा पनि निर्माण प्रगति न्यून छ । सरकारले एक साथ आधारभूत अस्पतालको शिलान्यास गरेको करिब ३६ महिना बितेको छ । तर योे अवधिमा उपलब्धि भने लगभग शून्य छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा आधारभूत अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । तर आन्तरिक स्रोतसमेत न्यून भएका स्थानीय तहलाई बजेट नआउँदा अस्पताल निल्नु न ओकल्नु बनेको छ ।

प्रतिक्रिया दिनुहोस्