टुक्रे योजना माग्नै छाडे
श्रमदान अभियान प्रभावकारी

जुम्ला– गाउँमा कतै कुलो भत्क्यो, बाटो बिग्रियो, धारामा पानी आउन छोड्यो वा चौतारा भत्किय, मन्दिर जीर्ण भयो भने एउटा पत्र बोकेर पालिका धाउनेको लाम हुन्छ । गाउँले मिलेर गर्न सकिने पुनर्निर्माण तथा सामान्य मर्मतका लागि पनि पालिकाकै मुख ताक्ने प्रवृत्तिको विकास भएको छ । जसले गर्दा टुक्रे योजनामा बजेट माग्ने, काम चलाउ विकास गर्ने उपलब्धि नदेखिने समस्या उस्तै छ ।
सानाभन्दा साना योजनाको मर्मत तथा पुनर्निर्माणका लागि बजेट माग्ने परिपाटि बढेपछि जुम्लाको तातोपानी गाउँपालिकाले विगत ७/८ महिनायता श्रमदान अभियान सुरु गरेको छ । हरेक महिनाको दोस्रो शनिबार श्रमदान गर्ने निर्णयअनुसार सुरु भएको अभियान प्रभावकारी देखिएको छ ।
उक्त अभियानले हालसम्म निरन्तरता पाएको छ । श्रमदान अभियानअन्तर्गत साउन भदौमा बाढीले भत्केका, पुरिएका सिँचाइ कुलो निर्माण गरी खेतमा रोपाइँमात्र भएको छैन । नाङ्गा डाँडामा वृक्षरोपण, मठमन्दिरको मर्मत, प्रतिक्षालय निर्माण, पर्यटकीय क्षेत्र तातोपानी, बाटोघाटोलगायतका सफाइ काम भएका छन् ।
हालसम्म वडा नं ३ को ता ज्युलोको सिँचाइ कुलो, वडा नं २ र ३ को लाछु ज्युलोको सिँचाइ कुलो, वडा नं ६ को भत्केको प्रतिक्षालय,वडा नं ४ को मन्दिर,वडा नं ४ मा वृक्षरोपण, पर्यटन क्षेत्र तातोपानी सरसफाइलगायतका काम भइसकेका छन् । विगतमा यस्तै कामका लागि पनि पालिकामा योजना माग्न आउनेको ताँती हुन्थ्यो ।
तर हामीले सबै मिलेको खण्डमा सानातिना विकास श्रमदान गरेरै हुन्छ भन्ने देखाउन र श्रम संस्कृतिको विकास गराउन श्रमदान अभियानको थालनी गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
उनले भने, ‘हामीले दर्जनौं योजना श्रमदानबाटै निर्माण तथा पुनर्निर्माण गरिसकेका छौं । विगतमा यस्तै योजनाका लागि जाने बजेट बचेको छ । वडा बस्तीबाट माग भएर आइसकेपछि मात्रै कहाँ श्रमदान गर्ने भनेर सूचना जारी गरी काम गर्दै आएका छौं । तर अभियानमा अपेक्षित रूपमा नागरिकलाई जोड्नसकेका छैनौ । तथापि हाम्रो अभियान सफलता उन्मुख छ ।’
‘गाउँबस्तीबाट माग भइरहेका योजनामा पालिकाभरका जनप्रतिनिधि कर्मचारी, नागरिक अगुवा, पत्रकार राजनीतिकर्मीले नि:शुल्क श्रमदान गर्नेछौं । सार्वजनिक काममा ठग्ने र श्रमदानमा कन्जुस्याइँ गर्ने प्रवृत्तिको अन्त्य गर्दै विकासमा सबैलाई जोड्ने अभियान हो,’ अध्यक्ष चौलागार्इंले भने । यो अभियानलाई पाँच वर्षसम्मै निरन्तरता दिइने पालिकाको लक्ष्य छ ।
पालिकाकी उपाध्यक्ष रेवती रावल भन्छन्, ‘गाउँमा उपभोक्ताले काम गर्न नसकेका अधुरा योजना, बाढीपहिरो भत्किएका संरचनाको मर्मतका लागि प्रत्येक महिनाको दोस्रो शनिबार गाउँगाउँ पुग्ने गरेका छौं । सानातिना काम गर्न पनि बजेट नै चाहिन्छ भन्ने नागरिकको सोचाइ छ । श्रमदान अभियानले त्यो भ्रम चिरेको छ ।’ सरकारबाट माग्ने मात्रै प्रवृत्ति बढेको बेला नागरिकले पनि दायित्व पूरा गर्नुपर्छ भन्ने विषयमा जोड दिएका छांै ।
सामग्री खरिदमा २० लाख बजेट
श्रमदान गर्दा चाहिने आवश्यक सामान खरिद गर्न तातोपानीले चालू आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । सुरुसुरुमा आवश्यक पर्ने सामान (सिमेन्ट, पन्जा) कर्मचारीबाट उठाएर खरिद गर्यौं ।
उनले भने, ‘सधै पैसा उठाएर सम्भव नहुने । गाउँमा गएको बेला कोसँग माग्ने ? कतै सिमेन्ट चाहिने कतै के चाहिने । त्यस्तै समस्यालाई मध्यनजर गर्दै श्रमदान गर्दा आवश्यक पर्ने सामग्री खरिद गर्न २० लाख छुटाएका छाैं ।’ विनियोजित बजेटबाट आवश्यकता अनुसार सिमेन्ट, छड, ढुंगा, गिट्टी बालुवालगायतका सामग्री खरिद गरिने छ ।
श्रमदान अभियानमा समुदायलाई जोडन सकिएको छैन । हाल जनप्रतिनिधि र कर्मचारीको मात्रै उल्लेखनीय सहभागिता हुने गरेको छ । श्रमदान अभियान सुरु भएयता पालिकामा साना योजना माग्नेको संख्या घटेको छ । कोही माग्न आए पनि त्यस्ताखाले योजना श्रमदानबाटै निर्माण हुन्छ भनेर पठाउने गरिएको उनको भनाइ छ ।
श्रमदान अभियान प्रभावकारी र प्रशंसायोग्य भएकाले यसलाई निरन्तरता दिन नागरिकले सक्दो सहयोग गर्नुपर्ने स्थानीय युवा नवराज बुढाले बताए । श्रमदानबाट निर्माण गरेको खण्डमा अपनत्वको भावना पनि विकास हुने भएकोले सबैलाई जोड्नुपर्ने उनको भनाइ छ ।