Logo

बन्द उद्योग सञ्चालन गर्न कार्यदल गठन

फाइल तस्बिर ।

काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४औं बैठक बसी निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधानका विषयमा छलफल भएको छ ।

बैठकले हाल नेपाल सरकारको स्वामित्वमा रहेको तर बन्द अवस्थामा रहेका उद्योग वा प्रतिष्ठानहरुका सम्बन्धमा कार्यदल बनाइ सञ्चालनमा ल्याउन सक्ने सम्भावना र मोडालिटीका बारेमा अध्ययन गर्ने र अध्ययनको निष्कर्षका आधारमा अगाडी बढ्ने निर्णय गरेको छ । तर जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्बन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेका जमिनको स्वामित्व भने नेपाल सरकारकै रहने उक्त बैठकले निर्णय गरेको छ ।

बैठकले नेपाल रोजिन एण्ड टर्पेन्टाइन, नेपाल चिया विकास निगम, रघुपति जुट मिललगायत प्रतिष्ठानको निजीकरण पश्चात सम्झौता कार्यान्वयनमा देखिएका समस्याको कानूनी, प्राविधिक तथा व्यवस्थापकीय पक्ष समेत अध्ययन विश्लेषण गरी सुझाव र सिफारिस निजीकरण समितिमा प्रस्तुत् गर्न सरकारका सचिवहरु संयोजक रहने गरी अलग अलग कार्यदल गठन गरेको छ ।

हाल बन्द अवस्थामा रहेका नेपाल ओरिण्ट म्याग्नेसाइटलगायत सात वटा उद्योगहरु सञ्चालनका मोडालिटी तथा विकल्पहरु बारे समेत छलफल भएको छ । उक्त बैठकमा प्रतिनिधि सभा सदस्य राजेन्द्र केसी, माधव सापकोटा, राष्ट्रिय योजना आयोगका सदस्य, सचिवहरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्