केयुको १ करोड ४० लाख लगानी

काठमाडौं– काठमाडौं विश्वविद्यालयले नवीनतम सोच भएका २८ परियोजनालाई ५ लाख रुपैयाँको दरले १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकारको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धनका लागि लगानी गर्ने भएको हो ।
यो कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयुलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । मंगलबारदेखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बरसम्मका लागि आवेदन दिन समय राखिएपनि निवेदन दिएपछि दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।
‘नवीनता सोचमा आधारित व्यापार र व्यवसायको प्रवर्द्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहानेहरुसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौ’ उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र भएर उनीहरुको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन् ।’
प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयुको प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ । केयुअन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनत्तम आइडियालाई लगानी गरिसकेको छ ।
विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरुले लगानी गरेका छन् । इनरजाइज नेपालका अनुसार यस आयोजनामार्फत दुई सयभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइसकेका छन् । लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए ।
विद्यार्थीलगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयुले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो । इनरजाइज नेपाल नर्वेजियन सरकारको सहयोगमा नर्वे राजदूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीनतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो ।