आज पनि दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं- शेयर बजार दोहोरो अंकले बढेको छ । हिजो (सोमबार) २१ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ । आज बजारसँगै कारोबार संख्या र रकम पनि बढेको छ ।
आज ४३ लाख ३१ हजार कित्ता शेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर नौ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ । आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको शेयर सामान्य बढेको छ ।
सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर आठ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ ।