Logo

किवी खेतीप्रति कृषकको आकर्षण बढ्दो

म्याग्दी– म्याग्दीका किसानमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक–३ भकिम्लीका किसानले व्यावसायिक रुपमा किवीखेती बढाउँदै गएका छन् । २०६७ सालमा हालका वडाध्यक्ष पदम पुनले १५० बिरुवा लिएर किवीको परीक्षण गरेका थिए । भकिम्लीमा किवीको सफल परीक्षण भएपछि किवीखेती गर्ने किसान बढ्दै गएका छन् ।

पछिल्लो चार/पाँच वर्षमा व्यावसायिक रूपमा किवीखेती गर्ने कृषकले आम्दानी गर्न लागेका छन् । उनीहरूले कोदो र मकैमा सीमित बारीमा किवीखेती लगाएर आम्दानी गर्न थालेका हुन् । हाल भकिम्लीमा व्यावसायिक रूपमा घरायासी प्रयोजन लगायतका लागि किसानले करिब ६ हजार किवीका बिरुवा लगाएका छन् । यस वर्ष पाँच लाखदेखि १० लाखको किवी भकिम्लीबाट बिक्री हुने अनुमान वडाध्यक्ष पदम पुनले गरेका छन् ।

अबको पाँच वर्षमा यहाँका किसानले ५० लाखभन्दा माथि किवी बेचेर गाउँमा आम्दानी भित्र्याउने देखिन्छ । मुसुङस्थित लालबहादुर घर्तीले सात रोपनीमा व्यवस्थित रूपमा किवीखेती गरेका छन् । उनले २०७७ सालदेखि मनोज कृषि फार्ममार्फत् सुरु गरेको किवीखेतीले अघिल्लो वर्षदेखि उत्पादन दिन थालेको छ । यस वर्ष उनको फार्ममा तीन क्विन्टल किवी फलेको उनी बताउँछन् । व्यावसायिक रूपमा किवीखेती गर्न तीन लाख लगानी गरेकोमध्ये घर्तीले एक लाख ५० हजार रुपैयाँ अनुदानसमेत पाएका छन् ।

उनले किवीसँगै टिम्मुरखेती पनि गरेका छन् । त्यस्तै मुसुङस्थित लक्षु पुनले चार रोपनीमा १७० वटा किवीका बिरुवा लगाएका छन् । उनले अघिल्लो वर्षदेखि किवी उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । उनले अघिल्लो वर्ष पाँच क्विन्टल फलेको थियो भने यस वर्ष चार क्विन्टल फलेको अनुमान गरे । उत्पादन भएको किवी बेनी र पोखराको बजारमा दुई सयदेखि तीन सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

त्यस्तै अर्का कृषक पृथीप्रसाद पुनले पनि ८९ किवीका बिरुवा लगाएका छन् । अघिल्लो वर्ष तीन क्विन्टल उत्पादन गरेर बेचेका पृथीप्रसादले यस वर्ष पनि सोही अनुपातमा उत्पादन भएको बताए । त्यस्तै भकिम्ली सिमका लालबहादुर पुनले पनि १५० बिरुवा लगाएको फार्ममा राम्रो किवी उत्पादन भएको छ । व्यवस्थित रूपमा लगाएको किवीले राम्रो आम्दानी दिँदा पुन पनि खुसी छन् ।

अबको पाँच वर्षमा भकिम्लीमा करिब एक करोडको किवी उत्पादन हुने अनुमान वडाध्यक्ष पुनले गरेका छन् । स्थानीय सरकारले बजारको व्यवस्थापन नगर्दा किसानले बजार खोजेर प्रतिकिलो १५० देखि तीन सय रुपैयाँसम्ममा फार्मबाट बेनी र पोखराका व्यापारीलाई बेच्ने गरेका छन् । भकिम्लीको बीचको भाग र उपल्लो भागको ठन्नेरी, भुकभुके मुुसुङलगायत क्षेत्रलाई किवीको पकेट क्षेत्रका रूपमा विकास गर्न बेनी नगरपालिका र कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान, तालिम र बिउबिजन उपलब्ध गराउँदै आएको छ ।

अबको पाँच वर्षपछि भकिम्लीमा सुन्तला, आलु र किवी बिक्रीबाट यहाँका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले भकिम्लीको तल्लो भागमा रहेका राखु मरेक, हल्लघौडा, ज्यामिरे र तोराखेतमा ३३ हजार सुन्तलाका विरुवा किसानले लगाएका छन् भने बीचको भागलाई किवीको पकेट र उपल्लो भेगको भुकभुके, मुसुङ र ठन्नेरीलाई आलु र किवी खेतीको पकेट क्षेत्र घोषणा गरेर बिउबिजन, अनुदान र तालिम उपलब्ध गराउँदै आएको वडाध्यक्ष पुनले बताए । भकिम्लीका किसानलाई संघ, प्रदेश र स्थानीय सरकारले सहयोग गरे अबको पाँच वर्षमा सुन्तला, किवी र आलुबाट गाउँमा करिब १० करोड भित्र्याउने लक्ष्यसहित काम भइरहेको वडाध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्