प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको छ । मन्त्रालयले नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सुझाव समिति गठन गरेको हो ।
दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयनका लागि निगमका पूर्व महाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको छ । समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगम सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहनेछन् ।
पूर्व गभर्नर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यावसायिक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो । उक्त सुझाव कार्यान्वयनका लागि समिति तयार पारिएको मन्त्रालयले जनाएको छ । निगमको अवस्था सुधार गर्नका लागि गठन भएको सुझाव समितिले असोज १४ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गठन गरेको समितिले सोल्टी होटलमा रहेको सेयर बिक्री गर्न सुझाव दिएको थियो । आन्तरिक तथा बाह्य उडानमा विमान संख्या कम भएर सेवा विस्तार गर्न नसकेको निगमलाई विमान खरिदको लागि होटलमा रहेको कम्पनीको सेयर बिक्री गरेर स्रोत व्यवस्थापन गर्न सकिने सुझाव दिइएको थियो । सोल्टी होटलमा निगमको १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर छ ।
यो सेयरको हालको बजार मूल्य ४ अर्ब ५७ करोड रूपैयाँ पुगेको समितिको प्रतिवेदनमा उल्लेख छ । यो सेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ विमान खरिद गर्न उपयोग गर्न सुझाइएको छ । निगमको उडान गन्तव्य र बजार हिस्सा वृद्धि गर्न आन्तरिक तथा बाह्य उडानका लागि विमान खरिद गर्नुपर्ने समितिको सुझाव छ । निगमले ३ वटा नयाँ विमान खरिदका लागि बोलपत्र आह्वान समेत गरिसकेको छ । कात्तिक ८ गते निगमले ४५ दिनको सूचना राखेर बोलपत्र आह्वान गरेको हो ।
निगमको सुधारका लागि विभिन्न समयमा समिति गठन भए पनि त्यसको प्रतिवेदन कार्यान्वयनका लागि भने पहिलो पटक समिति गठन भएको हो । विभिन्न समस्याबाट ग्रस्त निगम सुधारका लागि आधा दर्जन बढी समिति गठन भए पनि त्यसको कार्यान्वयन हुन नसकेको अवस्था छ । निगम सुधारका लागि तयार भएका प्रतिवेदन कार्यान्वयन हुनुको साटो थन्क्याएर थप समिति गठन गर्ने परिपाटी विकास हुँदै गएको छ ।