घरेलु र साना उद्योग स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी «
Logo

घरेलु र साना उद्योग स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले घरेलु, लघु तथा साना उद्योगहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी थालेको छ ।

ती उद्योगहरू प्रदेश मातहतको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता र नवीकरण गर्दा स्थानीय तहको सिफारिस गर्न अनिवार्य गरिएको र स्थानीयस्तरमा सञ्चालन गरिने स–साना उद्योग दर्ता, नवीकरण गर्न झण्झटिलो भएकाले त्यसलाई सहज गर्न प्रदेश सरकारले उद्योग व्यवसाय दर्ता ऐन संशोधन गर्ने तयारी गरेको हो ।

ऐन संशोधन गरी उद्यमीहरूलाई सहज बनाउन स्थानीय तहलाई ती उद्योगहरू हस्तान्तरण गर्ने कि भन्ने विषयमा छलफल भइरहेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले बताए । उनले ऐन संशोधन गर्नका लागि समिति बनेको र सोही समितिले ती उद्योगहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरी ऐन संशोधनको प्रस्ताव तयार गर्ने बताए ।

‘उद्योग व्यवसाय दर्तासम्बन्धी ऐनलाई संशोधन गरेर घरेलु, लघु तथा साना उद्योगहरूलाई हामीहरूले स्थानीयस्तरमै दर्ता गर्ने व्यवस्था मिलाउने योजना बनाएका छौं,’ मन्त्री धामीले भने, ‘मझौला तथा जिल्लास्तरीय उद्योगहरूलाई प्रदेशस्तरमा दर्ता गर्ने व्यवस्था भयो भने उद्योगी व्यवसायीलाई पनि सहज हुन्छ । घरेलु, लघु तथा साना उद्योगहरू सञ्चालन अनुमति दिने र नियमन गर्ने जिम्मेवारी पालिकालाई दिइयो भने यस्ता उद्योगहरू अझै प्रभावकारी हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले प्रत्येक जिल्लामा रहेको प्रदेश मातहतका घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीले उद्योग दर्ता गर्न आउँदा स्थानीय तहको सिफारिस ल्याउनुपर्ने प्रदेशको कानुनमा व्यवस्था रहेको बताए । उनले सिफारिस लिन जाँदा उद्यमीले स्थानीय तहमा समेत दर्ता गरेमात्रै सिफारिस दिने गरेकाले उद्यमीहरू दोहोरो करमा पर्ने गरेको बताए । उनले नवीकरण गर्दासमेत स्थानीय तह र प्रदेश दुवै तहमा दर्ता गर्नुपर्ने बाध्यता हटाएर एक ठाउँबाट उद्यमशीलता सम्बन्धी सेवा दिन आवश्यक रहेको बताए ।

‘स्थानीय तहले उद्योगहरूलाई दर्ता, नवीकरण लगायत सम्पूर्ण सेवा दिन सक्षम भए स्थानीय तहमा ससाना उद्योगहरू हस्तान्तरण गर्दा उद्यम विकासमा टेवा नै पुग्छ,’ उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक खेमप्रसाद चौधरीले भने, ‘संघीयता स्थापना गर्दा पनि घरेलु तथा साना उद्योगहरू स्थानीय तह मातहत राख्ने र स्थानीय तहमा नै उद्योग कार्यालय राखिने भन्ने परिपत्र आएको थियो । तर सबै स्थानीय तहले सोसम्बन्धी सेवा प्रदान गर्न नसक्ने अवस्थामा रहेकाले प्रदेश मातहत ल्याइयो । अहिले पनि स्थानीय तहलाई ती उद्योग हस्तान्तरण गर्ने हो भने कुन कुन स्तरका र कुन कुन सेवा दिने सर्तमा हस्तान्तरण गर्ने हो, त्यस विषयमा स्पष्ट नीति बनाइनु पर्छ ।’

सुदूरपश्चिम प्रदेशमा ६ हजार ७७ वटा उत्पादनमूलक, नौवटा ऊर्जामूलक, २४ हजार ४११ वटा कृषि तथा वनजन्य, १६ हजार ५४ वटा पर्यटनमूलक, १४ हजार ९०६ सेवामूलक, ७०२ वटा पूर्वाधारमूलक र ५८ वटा सूचना तथा सञ्चारमूलक उद्योगहरू दर्ता भई सञ्चालन भइरहेका छन् । यीमध्ये कैयौ उद्योग स्थानीयस्तरका साना, लघु, घरेलु तथा कुटिर उद्योग रहेको निर्देशक चौधरीले बताए । उनले केही उद्योगहरू जिल्ला र प्रदेशस्तरमा सञ्चालनमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्