सिंगटी जलविद्युुतको हेडवक्सको सफल परीक्षण «

सिंगटी जलविद्युुतको हेडवक्सको सफल परीक्षण

दोलखा-सिँगटी खोलामा निर्माणाधीन सिंगटी खोला जलविद्युत आयोजनाको हेडवक्सको परीक्षण सफल भएको छ । निर्माणाधिन २५ मेगावाट क्षमताको सिँगटी खोला जलविद्युत आयोजनाको हेडवक्सको संरचनामा एक साताअघि पोखरीमा पानी भरेर परीक्षण गरेको हो ।
हेडवक्सका इन्टेक, बालुवा थिग्रयाउने पोखरी, हेडपोन, बाँधमा पानी भर्दा कुनै समस्या नदेखिएकोले परीक्षण सफल भएको सिँगटी खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनहरी सापकोटाले बताए । इन्टेकको परीक्षण सफल भएपछि अब अरु काममा केन्द्रित हुने उनले बताए ।
सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । आयोजनाको ५.६७ किलोमिटर मुख्य सुरुङ (हेडरेस) लामो सुरुङ बैशाखमा पूरा भएको हो । सुरुङमा अहिले फिनिसिङको काम भइरहेको छ । करिब १ हजार मिटर मात्र फिनिसिङ हुन बाँकी उनले बताए ।
विद्युतगृहमा इलेक्ट्रोमेकानिकलको उपकरण जडान र परीक्षणमा ढिलाइ भएका कारण आयोजनाको विद्युत उत्पादनको समय तालिका पनि फेरिएको छ । पूरानो तालिका अनुसार काम भएको भए अहिले विद्युत उत्पादन भइसक्थ्यो । चिनियाँ प्राविधिकहरुले काममा ढिलाइ गरेका कारण आयोजनाबाट विद्युत उत्पादन कार्तिक मंसीरमा पुग्ने सक्ने अवस्था आएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साढे २ वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको छ । आयोजनाको समग्र प्रगति ९५ प्रतिशत भएको छ । शिरिसघारीस्थित कात्तिकेमा विद्युत गृहको निर्माण भइरहेको छ ।
आयोजनाको प्रभावित क्षेत्र साविकको बाबरे सहित लामिडाँडा, खोपाचागू, लादुक र चिलंखा साविकका गाविस पर्दछन् । बाबरे र चिलंखा गाविस बीचमा सोरुङ खोलामा इन्टेक र डिस्याण्डर बनाएर आयोजनाको सुरुङ निर्माण गरी लामिडाँडा ७ को जुरेपानीमा सर्जट्याङ्क निर्माण गरेको छ । त्यसपछि ९ सय ५० मिटर पेनस्टकमार्फत लामिडाँकै शिरिसघारीमा पावरहाउसमा पानी खसाली विद्युत उत्पादन हुने छ । आयोजनाको पेनस्टक पाइप पनि जडान गर्न अब ५० मिटर मात्र बाँकी रहेको आयोजना प्रमुख सापकोटाले बताए ।
सरकारले प्रतिश्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ बैशाख १ गतेदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । केही प्राविधिक कामले ढिला भए तापनि ७ महिना ढिला विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
विद्युतगृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड लागत अनुमान गरीएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड स्वपूँजी लगानी रहेको छ । डलरमा भएको मूल्य वृद्धि र सरकारले भ्याट छुट स्वरुप दिने भनेको प्रतिमेगावाट ५० लाख नआउँदा आयोजनाको लागत भने केही बढ्ने आयोजनाले बताएको छ ।
आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, हाइड्रो मेकानिकलको काम क्रिम हाइड्रो प्रालि तथा इलेक्ट्रो मेकानिकलको काम चिनियाँ कम्पनी क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडले गरिरहेको आयोजना ले बताएको छ । आयोजनाका लागि स्थानीय र सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्