Logo

ओशो तपोवनमा विश्व कंग्रेस सम्मेलन

फाइल तस्बिर ।

काठमाडौं- गत सेप्टेम्बरमा ओशो तपोवन, काठमाडौंमा रजनीश साधना संघ इन्टरनेसनलको आयोजनामा तीनदिने सम्मेलन गरिएको थियो ।

‘फस्र्ट वल्र्ड कंग्रेस’ नाम दिइएको यो सम्मेलनमा करिब १९ देशका २ सयभन्दा बढी ओशो शिष्यको सहभागिता थियो । जीवन रूपान्तरणका लागि बोधिसत्व आनन्द अरुण स्वामीज्यूको आजीवन प्रयासले नेपाली एवं विभिन्न देशका व्यक्तिको चेतना विकासका लागि दिनरात कार्य भइरहेको छ ।

यो आध्यात्मिक लहरले व्यक्तिको जीवन रूपान्तरण, मानसिक स्वास्थ्य, साथसाथै नेपालको अर्थतन्त्रलाई उकास्न मद्दत गरेको छ । जुन अहिले नेपालमा अवस्थित ओशो तपोवन, विश्वमा महत्त्वपूर्ण ‘ध्यान गन्तव्य’ का रूपमा चिनिन्छ । ओशोको विरासतलाई पुने आश्रमबाट नेपालमा स्थापित गर्ने उनको प्रयास नेपालका लागि ठूलो प्रोत्साहनको विषय हो ।

आफ्नो जीवनको ५४ वर्ष ओशोको सानिध्यतामा रही उनको वाणी, ध्यानसँगसँगै ज्ञानको प्रचारमा व्यस्त रही नेपालको सांस्कृतिक पर्यटनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । बोधिसत्व आनन्द अरुणले करिब ८० विभिन्न देशका १ लाखभन्दा बढी व्यक्तिलाई संन्यास दीक्षा दिएर साधक–साधिकाका रूपमा स्थापित गरी व्यक्तिहरूलाई आरोग्य जीवन अवलम्बन गर्न मार्गदर्शन गरेका छन् । यिनै व्यक्तिहरू वर्षमा एकपटक नेपालमा रहेका विभिन्न ओशो आश्रममा आएर ध्यान गर्छन् ।

ओशोको मृत्युपछि छिन्नभिन्न भइरहेका ओशो साधकहरूलाई एक ठाउँमा संगठित हुन, ओशो विरासतलाई बचाउन, ध्यान र साधनालाई निरन्तरता साथै अनुशासित गर्न, साधकलाई सरल निर्देशन निर्देशित गर्न सम्मेलन आयोजना गरिएको स्वामी आनन्द अरुणले जानकारी दिएका थिए । सम्मेलनमा बलिउडका सुपरहिट पटकथा लेखक कमलेश पाण्डेका साथै नेपालका शीर्ष संगीतकार तथा गायक–गायिकाहरू सहभागी थिए ।

यस्तै सम्मेलनमा नेपालका सात प्रदेशमध्ये ६ प्रदेशसिहत अमेरिकाका दुई केन्द्र, ओशो निर्वाण र ओशो युनिभर्सल सेन्टर, डलास, टेक्सासको ओशो युनिभर्सल सेन्टरलगायत थुप्रै ओशो केन्द्र सहभागी थिए । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, इक्वेडर, जर्मनी, भारत, कजाखस्तान, नेपाल, रसिया, स्कटल्यान्ड, थाइल्यान्ड, तिब्बत, संयुक्त अरब इमिरेट्स, बेलायत, संयुक्त राज्य अमेरिकालगायतका मुलुकका प्रतिनिधिले संवादमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्