Logo

अनियमित विद्युत आपुर्तीले हैरानी

म्याग्दीमा विद्युत् आपूर्ति अनियमित हुँदा घरेलु तथा साना उद्योग, ब्यापार व्यवसाय र सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ ।
अघोषित लोडसेडिङका कारण म्याग्दीमा बैंक तथा वित्तीय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यय, फर्निचर, मासु, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित उद्योग व्यवसाय प्रभावित बनेको हो ।
नेपाल विद्युत् प्राधिकरणले देशैभरि लोडसेडिङ हटेको उद्घोष गरे पनि अघोषित रूपमा हुने लोडसेडिङ हटाउन माग गर्दै म्याग्दी उद्योग वाणिज्य संघको एक टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
संघका अध्यक्ष उत्तम कर्माचार्यको नेतृत्वमा संघका पदाधिकारीको टोलीले केन्द्रका प्राविधिक कृष्णप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाउँदै बिना जानकारी हुने विद्युत् कटौतीले उद्योगी व्यवसायी एवं सर्वसाधारण मर्कामा परेकाले समस्या समाधान गर्न माग गरेका छन् ।
जिल्लाको विद्युत् समस्या समाधानमा यथाशीघ्र ठोस कार्य नभएमा संघले उद्योगी व्यवसायीलगायत आमनागरिक समाजका तर्फबाट प्राधिकरणको कार्यालयमा धर्ना र तालाबन्दीलगायतका दबाबमूलक कार्यक्रम गर्ने संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताए ।
विद्युत् आपूर्ति अनियमित हुने समस्यालाई निराकरणका लागि पर्वतमा ३३ केभीलाई ट्रान्समिसन लाइन र ११ केभीलाई वितरणको रूपमा मात्रै प्रयोग गर्ने गरी काम भइरहेकाले पछिल्ला केही दिन म्याग्दीमा अनियमित रूपमा लामो समय विद्युत् कतौटी भएको केन्द्रका प्राविधिक शर्माले बताए । शर्माले पर्वत र बागलुङमा विद्युत् मर्मतको क्रममा म्याग्दीमा समेत हुने विद्युत् कतौटीले समस्या निम्त्याएको बताउँदै सेवाग्राहीलाई अग्रिम जानकारी दिनका लागि आवश्यक पहल गरिएको बताए ।
बागलुङ र पर्वतमा ३३ केभी प्रभावित क्षेत्रमा काम गर्दा सुरक्षाका लागि म्याग्दीको विद्युत् कतौटी हुने गरेको बताउँदै शर्माले जिल्लामा अहिले साँझ आधा घण्टा हुने विद्युत् कतौटीलाई बेनी, दाना र रत्नेचौर फिडरमा लोडको भार हेरेर व्यवस्थापन गरिँदै आएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्