कोशी अस्पतालमा बेथिति «

कोशी अस्पतालमा बेथिति

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पताल आफैं बिरामी परेको छ । उपचारका लागि आउने कोशीमा आउने बिरामी उपचार नपाएपछि नजिकैको निजी अस्पताल र क्लिनिकमा जान बाध्य भएका छन् । अस्पतालको शल्यक्रिया कक्षमा रहेको फाइबर अप्टिक केबल बिग्रिएको लामो समयसम्म मर्मत नगर्दा ल्याप्रोस्कोपिक विधिबाट गरिने शल्यक्रिया बन्द भएको छ ।

सरकारी अस्पतालमा सञ्चालन हुँदै आएको सेवा बन्द भएपछि सर्वसाधारण बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालबाट सेवा लिन बाध्य भएका छन् । अप्टिक केबल बिग्रिएको एक महिना बढी भइसक्दा पनि अस्पताल प्रशासनले मर्मत गर्ने वा नयाँ केवल जडान गर्ने तर्फ ध्यान नलिई अलमल र लापरबाही गर्दा एक महिनादेखि सेवा बन्द हुन पुगको हो । जसले गर्दा बिरामीलाई थप आर्थिक भार थपिएको छ ।

केही दशकयता संसारभर ल्याप्रोस्कोपिक विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया वा गर्ने क्रम बढ्दै गएको छ । घाउ छिटो निको हुने र कम जोखिम तथा पीडा हुने विश्वासले बिरामीहरू यस विधिबाट उपचार गराउन चाहन्छन् । जसले गर्दा पछिल्लो समय यो विधिबाट शल्यक्रिया गर्न चाहने बिरामीको संख्या बढेको छ । परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा पारेर गरिने अपरेसनको साटो पेटमा ससाना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो ।

यो सर्जरी गर्दा पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामेरा पठाएर उच्च प्रकाश र क्यामेराको सहायताले पेटको शल्यक्रिया गरिन्छ । पेटको कुन भागको शल्यक्रिया गर्ने हो, त्यसअनुसार पेटमा अन्य दुई वा तीन ०.५ सेन्टिमिटरसम्मको वटा प्वाल पारेर औजारको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ । कोशीमा यो सेवा सुरु भएको वर्षौं भएको थियो ।

दसैंअगाडि अप्टिक केबल बिग्रिएर ल्याप्रोस्कोपिक सर्जरी सेवा बन्द भएको उपचारमा संलग्न चिकित्सकले बताए । तर, अस्पताल प्रशासनले चासो नदेखाएर ल्यप्रोस्कोपिक प्रविधिबाट गरिने सर्जरी बन्द भएको कारणले यहाँ आउने बिरामीले चर्को शुल्क तिरेर निजीमा जान बाध्य भएका छन् । कोशीमा दैनिक सरदर तीन वटा ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया हुने गरेको थियो ।

यसअघि नै समय पाएका बिरामीले पनि शल्यक्रिया गर्न नपाएपछि निजी अस्पतालमा जान बाध्य भएका हुन् । यसले अस्पतालप्रतिको विश्वास र सरकारको नागरिकप्रतिको जिम्मेवारी कमजोर बनेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । सरकारले सञ्चालन गरेको कोशी अस्पतालमा अधिकांश निम्न तथा मध्यम आय भएका सर्वसाधारण उपचार सेवा लिन पुग्ने गरेका छन् ।

कोशीमा ल्याप्रोस्कोपिक प्रविधिबाट आठदेखि १२ हजार रुपैयाँमा हुने शल्यक्रिया निजीमा २५ देखि ४० हजार रुपैयाँसम्म तिनुपर्छ । पछिल्लो वर्ष कोशीमा अस्पतालमा नयाँ–नयाँ उपकरण भित्र्याइए पनि बिरामीको भारलाई धान्ने क्षमता भने नरहेको बताइन्छ । सरकारीमा भन्दा अगाडि निजी अस्पतालले ल्याएका उपकरण उपकरण बिग्रिएको खासै सुनिदैन । तर सरकारीमा नयाँ होस् वा पुरानो, साना होस् ठूला उपकरण महिनैपिच्छे बिग्रिन्छन् ।

नयाँ किन्दा वा मर्मत गर्दा पाइने कमिसनले पनि सरकारी अस्पतालका उपकरण धेरै बिग्रनुमा ‘नियत’लाई समेत दोष दिने गरिएको छ । महिला रोगबाहेक ल्याप्रोस्कोपिल प्रविधिबाट पित्त थैली, अपेंडिक्स, मुत्रनली, आन्द्रा आदि अंगको पनि अपरेसन गरिन्छ । ल्प्रोस्कोपीको मद्दबाट कुनै पनि प्रकारको अण्डासयको सिस्ट्स, ट्युमर, संक्रमण वा फिब्रोइद्सको बारेमा पत्ता लगाउन सकिने सर्जन चिकित्सक बताउँछन् ।

सर्जरी ओटीमा स्ट्राइकर कम्पनीको फाइबर अप्टिकल केबल मगाएकोले एक हप्ताभित्रमा आउने कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले बताए । ‘भारतबाट मगाएकोले केही समय लागेको हो । यसअघि पनि मगाएका थियौं । फाइबर अप्टिकल केबल फिट नभएपछि अर्को स्ट्राइकर कम्पनीको मगाएको हो,’ उनले भने, ‘आएपछि ल्याप्रोसकोपिक प्रविधिबाट शल्यक्रिया सुचारु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्