Logo

भूकम्पका घाइते भन्छन्ः मस्त निन्द्रामा थियौं, बिउँझिँदा भाग्यले बाँच्यौं, सर्वस्व गुमायौं

नेपालगन्ज– बाँकेबाट दसैं मनाउन भन्दै जाजरकोट खलंगा गएकी बैजनाथ गाउँपालिका–३ बानियाभारकी २२ वर्षीय ईशा शाहका लागि शुक्रबारको रात जीवनकै सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । मामाघरबाट दिदीबहिनीसँग रमाइलो गर्न खलंगाभन्दा केहीपर थाप्लेस्थित सानीआमाको घरमा गएको बेला शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर भूकम्प गयो ।

निन्द्राबाट बिउँझिएपछि भूकम्पले निदायकै बेला घरको छानो शरीरमाथि खसेको अवस्थामा उनी थिइन् । निकैबेर बेहोस् भएकी उनी होसमा आउँदा सँंगै सुतेका तीन दिदी (ठूलीआमा र अन्टीका छोरी) मेरिना आरसी, उर्जासिंह र उपासना सिंह कहिल्यै नबिउँझिने गरी अस्ताई सकेका थिए । ‘म त भाग्यले बाँचेछु,’ उनले भनिन्, ‘तर सँगै सुतेका तीन दिदी भने सदाका लागि हामीलाई छोडेर जानुभयो ।’

आफू बाँचे पनि सँगै सुतेका तीन दिदीलाई गुमाउनुपर्दा साहै्रै पीडाबोध भएको छ । सर्वस्व गुमाएजस्तो लागेको छ । झण्डै दुई घण्टापछि उनको उद्धार गरी जाजरकोट अस्पतालमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि हाल उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । घटना सम्झिँदै उनी विछिप्त हुन्छिन् ।

उनीजस्तै सानो भेरी गाउँपालिका–४ रुकुमपश्चिमकी नविता खड्का पनि निन्द्राबाट भूकम्पको झड्कासँगै शरीरमा केही खसेको जस्तो लागेपछि ब्यूँझिइन् । ‘सबैजना मस्त निन्द्रामा थियौं, माथिबाट माटो खसेजस्तो लाग्यो,’ भेरी अस्पताललमा उपचाररत उनले भनिन्, ‘उठनै लाग्दा छाना खसेछ, सानो बाबु रोइरहेको थियो, उता ठूलो बाबुको मृत्यु भइसकेको रहेछ ।’

घर भत्किँदा निकै चोट लागेको अवस्थामा आफूलाई पाएकी उनका नौ वर्षका छोरा निर्जल चन्दको मृत्यु भएको अवस्थामा थिए भने चार महिने कान्छो छोरा घाइते अवस्थामा लगातार रोइरहेका थिए । उनका श्रीमान् कामको शिलशिलामा बाहिर थिए पछि हारगुहार गर्दा निकै पछि उनीहरूको उद्धार भयो । हाल नवितासँगै उनका कान्छो छोराको उपचार भेरी अस्पताल भइरहेको छ ।

जाजरकोट रिम्नाकी २६ वर्षीय कृष्णा परियार पनि भूकम्पले घर भत्किँदा शरीर पुरिएको अवस्थामा थिइन् । भूकम्पको झड्कासँगै अत्तालिएर व्यँझिदा सँगै सुतेका साना बाबु र नानीले बचाउ–बचाउ भन्दै चिच्याउँदै थिए । ‘भूकम्प आएको चाल पाए पनि एक झड्कामै घर भत्कियो,’ उनले भनिन्, ‘घर भत्किएपछि बाहिर भाग्न सकिएन, अहिले यस्तो अवस्था भयो ।’

उनका सात वर्षीय छोरी र ६ वर्षका छोरा घाइते भएका छन् । भूकम्पले चोट लागेपछि उनका ससुराको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने श्रीमान् भारत कमाउन गएका छन् । ‘घटना थाहा पाएसँगै श्रीमान. फर्किंदै हुनुहुन्छ,’ उनले भनिन्, ‘हामीलाई भूकम्पले असह्य पीडा दियो, घरवारविहीन जस्तै बन्यौ ।’ कर्णाली प्रदेशको उच्च पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा शुक्रबार मध्यराती गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कैयौं परिवार विचल्ली परे ।

कैयौंले ज्यान गुमाए, कतिले आफन्त गुमाए । कति घरवारविहीन भए तर भाग्यले बाँचेकाहरू आफन्तकै शोकमा देखिन्छन् । उनीहरू आफूहरूले पुनर्जीवन पाए पनि छिटो निको भएर सकुसल घर जान पाए हुने आशामा छन् । भूकम्पमा परी घाइते भएका ३९ जनाको अहिले बाँकेमा उपचार भइरहेको छ । जसमध्ये एकजनाको ल्याउँदा ल्याउँदै बाटैमा निधन भइसकेको छ ।

उपचाररत घाइते सबैको अवस्था अहिले सुधारोन्मुख र खतरामुक्त छ । घटनामा आफन्त गुमाएका यतिबेला अस्पतालमा उपचाररत रहे पनि आफन्तकै शोकमा देखिन्छन् । भाग्यले आफूहरूले पुनर्जीवन पाए पनि धनजन गुमाउनु पर्दा छिटो निको भएर सकुसल घर जान पाए हुने उनीहरूको आशा छ ।

प्रतिक्रिया दिनुहोस्