एनआरएनए इजरायलद्वारा सहयोग

काठमाडौं– गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसि) इजरायलले भूकम्प पीडित तथा हमासको आक्रमणमा परी उपचाररत नेपाली धनबहादुर चौधरीलाई आर्थिक सहयोग गरेको छ ।
एनसिसि इजरायलकी प्रवक्ता मञ्जु थपलियाले जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्प पीडित जनताको सहयोगका लागि १ लाख रुपैयाँ र उपचाररत नेपाली विद्यार्थी चौधरीको उपचारका क्रममा आवश्यक पर्ने अन्य खर्चका लागि ५० हजार दिएको बताइन् ।
हमासको आक्रमणमा परी घाइते भई नेपाल फर्किएका चौधरीको औषधी उपचारको खर्च मात्र सरकारले बेहोरेको र उपचार बाहेक अन्य खर्च जुटाउन नसकेपछि नियमित उपचारमा आर्थिक अभाव हुन नदिन एनआरएन इजरायलले ५० हजार उपलब्ध गराएको हो ।
एनआरएनए इजरायलले चौधरीको उपचारसहित अन्य खर्च व्यवस्थापनमा समेत सरकारले सहयोग गर्नु पर्ने माग राख्दै उपचारमा अतिरिक्त रकम सहयोग गरेको हो । चौधरीले उपचार बाहेक अन्य क्षेत्रमा खर्च अभाव भएपछि एनआरएनए इजरायललाई आर्थिक सहयोग गर्न अनुरोध गरेपछि एनआरएनए इजरायलले सहयोग उपलब्ध गराएको थियो ।
यसैगरी जाजरकोटमा गएको भूकम्पमा परी मृत्यु तथा घाइते भएका नेपाली प्रति समवेदना तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गदै तत्काललाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको एनसिसि इजरायलले जनाएको छ । यसअघि एनआरएनए आइसिसीले तत्काल आर्थिक सहयोग र भविष्यका लागि सहयोग कोष बनाइ थप रकम उपलब्ध गराउने जनाएको छ ।