Logo

बेलढुंगामा आन्तरिक पर्यटक बढे

म्याग्दी– म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदैं गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सीमामा बेलढुंगा अवस्थित छ ।

बेलढुंगामा पुगेको सडक, गण्डकी प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा पदमार्ग र भ्यूपोईन्टलगायतको पूर्वाधार निर्माणले यहाँ पुग्ने पर्यटकलाई सहज बनाएको छ । समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाइमा रहेको बेलुढुंगाबाट देखिने सुर्योदय, दन्तेलहर हिमाल र ग्रामिणबस्तीको दृष्यले स्वार्गमा आएको अनुभूति हुने अनुभव त्यहाँ पुगेका पर्यटकले गर्ने गर्छन् । बेलढुंगा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको सदरमुकाम बेनीबाट पुगेका पर्यटक एवं पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताए ।

सुर्योदय, दन्ते लहर हिमाल, धेरै ग्रामिण बस्ती र डाडाँकाडाँ देखिने म्याग्दीका एकमात्र ठाउँ बेलुढुंगा भएको बेनी पुगेका अर्का पर्यटक घनश्याम खड्काले बताए । ‘यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो’, उनले भने । एकदम राम्रो सुर्योदय, पूर्वी रुकुमको चुरेन हिमालदेखि गोर्खाको मनास्लु हिमालसम्म अवलोकन गर्न यहाँबाट पाउने भकिम्ली मुसुङका स्थानीयबासी पृथ्थीबहादुर पुनले बताए ।

‘यहाँबाट चुरेन, गुर्जा, धौलागिरी, मानामाथि, निलगिरी साउथ, निलगिरी नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लु हिमाल देख्नपाइन्छ ।’ धेरै ग्रामिण बस्ती र दन्ते लहर हिमालको दृष्य देखिने बेलुढुंगाको पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा तारामिलन छन्त्यालले सुरुवात गरेको पुनले बताए । यसलाई पहिले मुसुङ धुरी पनि भन्ने गरिन्थ्यो । दाया म्याग्दी र बायाँ बागलुङ पर्ने बेलढुंगामा पूर्वाधार नबन्दा नाममा मात्र सिमित थियो ।

पर्यटनको सम्भावना बलियो देखिएपछि वडाको नेतृत्वमा आउन वित्तिकै सूरुको वर्षमै एक लाख बजेटबाट पदमार्ग निर्माण सुरुवात गरेको वडाअध्यक्ष पदम पुनले बताए । त्यसपछि भकिम्ली, भुकभकुेका स्थानीयवासी र काठे गाउँपालिका धम्जा ओखलेका जनप्रतिनिधि र स्थानीयसँग सयुक्त रुपमा मिलेर यसको पूर्वाधार निर्माण कार्यअघि बढाइएको वडाअध्यक्ष पुनले बताए ।

उनले बागलुङको सक्रियतामा प्रदेश सरकारबाट २५ लाख, काठेखोला गाउँपालिका र बेनी नगरपालिबाट ५ लाख रुपैयाँ बजेट र मुसुङ, भुकभुके र धम्जा ओखलेका जनताको श्रमदानबाट ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगा माथि बनाइएको संरचनाले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए । दुवैतर्फबाट बेलढुंगाको घाटीमा रहेको देउरालीमा सडक सुविधा पुगेको छ ।

‘प्राकृतिक पहाडको टुप्पोमा रहेको बेलढुंगाको प्रचारप्रसार तथा पूर्वाधार निर्माणका कारण म्याग्दी र बागलुङबाट पर्यटक आउने क्रम बढेको छ । अहिले शुक्रबार र शनिबार अरू समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन्’, वडाअध्यक्ष पुनले भने । ‘दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुंगा नयाँ स्वरूपमा आएको छ ।’

बेलढुंगाबाट पूर्व पर्वतको जलजला, उत्तरतर्फ धौलागिरी गाउँपालिका र ताराखोला गाउँपालिका, उत्तरतर्फ मंगला, रघुगंगा अन्नपूर्ण र दक्षिणतर्फ काठेखोला, धम्जा गुल्मीको ग्रामिण बस्ती देख्न सकिन्छ । स्वर्गाश्रम र बेलढुंगामा आउने पर्यटकलाई लक्षित गरेर भकिम्लीका मुसुङ भुकभुकेमा होमस्टे सञ्चालन गर्ने योजनामा रहेको वडाअध्यक्ष पुनले बताए । बेनी १८ किमिको सडक सुविधाबाट बेलढुंगा पूग्न सकिन्छ ।

आध्यात्मिक स्थल

बेनी नगरपालिका–३, भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम क्षेत्र पूर्वाधार निर्माणले चिटिक्क बनेको छ । हिमाल अगाडि पहाडको थुम्कोमा रहेको एकसय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँको रुपमा परिचित छ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको छ ।

यसक्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोग पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत म्याग्दी सदरमुकाम बेनीनजिकै रहेको आर्कषक गन्तव्य स्वर्गाश्रममा फाटफुट पर्यटक पुग्न थालेपछि गण्डकी प्रदेशले २० लाख, बेनी नगरपालिकाबाट २४ लाख र स्थानीयको जनश्रमदानबाट पूर्वाधार विस्तार गरेको स्वर्गाश्रम बेलढुंगा व्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताए ।

प्राकृतिक रूपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमको प्रचारप्रसार नहुँदा ओझेलमा परेको बेनपा–३ का वडाध्यक्ष पदम पुनले भने । बेनी नगरपालिकाले पनि धार्मिक पर्यटकियस्थलको रुपमा विकास गर्न पर्यटकियस्थलको रुपमा सूचिकृत गरेको उल्लेख गरे ।

स्वर्गाश्रमबाट मनोरम हिमशृंखला र बेनी बजारसहित, दर्जनौं गाउँबस्तीलाई समेत अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रममा हरेक वर्षको वैशाख १ गते रथयात्रासमेत गरिँदै आइएको छ । पुरानो इतिहास बोकेको आश्रमको प्रचारप्रसार गरी पर्यटन विकास गर्नसकेमा यस क्षेत्रमा धार्मिक पर्यटकलाई भित्र्याउन सकिने समितिका अध्यक्ष जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्