आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक «
Logo

आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं– सुस्त अर्थतन्त्रका कारण व्यवसाय बढाउन नसक्दा बैंकहरूको वितरणयोग्य नाफा र लाभांश क्षमता घट्न पुगेको छ । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढेका कारण सम्भावित कर्जा नोक्सानीबापत व्यवस्था गर्नुपर्ने प्रोभिजन रकम पनि बढेको छ । प्रोभिजन रकम धेरै राख्नुपर्दा बैंकहरुको नाफा बढ्न नसकेको हो ।

चालु आवको पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा ३.३९५ प्रतिशत छ । गत आवको सोही अवधिमा बैंकहरूको औषत खराब कर्जा १.६७ प्रतिशत थियो । खराब कर्जा बढेसँगै बैंकहरूले सम्भावित कर्जा नोक्सानीबापत रकम प्रोभिजन गर्नुपर्ने भएकाले नाफा घटेको हो ।

चालु आर्थिक वर्षको २०८०–८१ को पहिलो त्रैमासमा बैंकहरूको वितरणयोग्य नाफा र लाभांश क्षमता दुवै घटेको छ । बैंकहरूले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूको वितरण योग्य नाफा घटेको छ । यी बैंकहरूले पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएका थिए । गत आवको पहिलो त्रैमासमा बैंकहरूको यस्तो नाफा ४४ अर्ब ९१ करोड रुपैयाँ थियो ।

अर्थतन्त्रमा आएको सुस्तताले बैंकहरूलाई गाँज्दै लगेको तथ्यांकले देखाउँछ । बैंकको नाफा गिरावट, खराब कर्जा वृद्धि लगायत सबै हेर्दा बैंकहरूको धेरैजसो सूचक प्रभावित भएको देखिएको छ । बैंकहरूको नाफा प्रभावित हुँदा वितरणयोग्य नाफा पनि घटेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये असोज मसान्तसम्ममा ६ वटाको वितरणयोग्य नाफा ऋणात्मक छ । गत आवको सोही समयसम्म यी सबै बैंकहरूको वितरणयोग्य नाफा धनात्मक थियो ।

सिटिजन्स बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । सबैभन्दा धेरै कुमारी बैंकको २ अर्ब १६ करोड रुपैयाँ वितरण योग्य नाफा ऋणात्मक छ । गत आवको सोही अवधिमा यस बैंकको वितरण योग्य नाफा २ अर्ब ६४ करोड रुपैयाँ थियो ।

हिमालयन बैंकको १ अर्ब ८५ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ९८ करोड ८२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८५ करोड ३२ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ करोड ३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । यसैगरी सिटिजन्स बैंकको २३ करोड १८ लाख रुपैयाँ वितरण योग्य नाफा ऋणात्मक भए पनि लाभांश क्षमता भने ३.३४ प्रतिशत छ ।
असोज मसान्तसम्ममा सबैभन्दा धेरै लाभांश क्षमता स्ट्याण्डर्ड बैंकको छ । यो बैंकको ३ अर्ब १४ करोड रुपैयाँ वितरण योग्य नाफा रहँदा ४७.२२ प्रतिशत लाभांश क्षमता छ ।

यस्तै एभरेष्ट बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड रुपैयाँ रहँदा लाभांश क्षमता ४२.२६ प्रतिशत छ । सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ११ करोड रुपैयाँ र लाभांश क्षमता १३.८० प्रतिशत हुँदा नबिल बैंकको वितरण योग्य नाफा ३ अर्ब ६० करोड रुपैयाँ र लाभांश क्षमता १३.३४ प्रतिशत छ । यस्तै कृषि विकास बैंकको ४३ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा र १२.९३ प्रतिशत लाभांश क्षमता छ ।

नेपाल बैंकको वितरण योग्य नाफा ३६ करोड ७५ लाख रुपैयाँ र लाभांश क्षमता १० प्रतिशत, ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँ र लाभांश क्षमता ९.९६ प्रतिशत छ ।

प्राइम कमर्सियल बैंकको वितरण योग्य नाफा ६२ करोड ८६ लाख रुपैयाँ र लाभांश क्षमता ९.७८ प्रतिशत र नेपाल एसबिआई बैंकको वितरण योग्य नाफा ९४ करोड ६४ लाख रुपैयाँ र लाभांश क्षमता ८.०७ प्रतिशत छ । लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, एनएमबि बैंक र माछापुच्छ«े बैंकको लाभांश क्षमता ५ प्रतिशतभन्दा कम छ ।

प्रतिक्रिया दिनुहोस्