बुटवलमा हुने सातौं स्टार्टअप क्यान–इन्फोटेकको तयारी पूरा «

बुटवलमा हुने सातौं स्टार्टअप क्यान–इन्फोटेकको तयारी पूरा

बुटवलमा हुने सातौं स्टाटअप क्यान इन्फोटेकको तयारी पूरा भएको आयोजकले बताएका छन् । सोमबार प्रदर्शनीस्थल बुटवल मण्डपमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रीकृत अवधारणअनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए । “सातै प्रदेशका मुख्य सहरहरूमा प्रदर्शनी गर्ने केन्द्रको योजना छ,” उनले भने ।
यसअघि काठमाडौं केन्द्रीय इन्फोटेकलाई देशभरमा प्रचार–प्रसार गर्ने लक्ष्यसहित ५ नम्बर प्रदेशमा हुन लागेको उनले बताए । अवलोकनकर्ता धेरै भिœयाउने मुख्य उद्देश्य रहेको भन्दै उनले सूचना प्रविधिबारे ज्ञान दिने गरी कार्यक्रम गरिएको बताए । जिल्ला अध्यक्ष नारायण श्रेष्ठले सातौं संस्करणका रूपमा आयोजना गरिन लागेको इन्फोटेकको सबै तयारी पूरा भएको भन्दै विगतमा भन्दा फरक र नयाँ विशेषतासहित आम दर्शकहरूले अवलोकन गर्न पाउने बताए । एकै थलोमा नयाँ र नौलो प्रविधि, उपकरणको प्रदर्शनी गरी उपभोक्ताहरूलाई खरिद बिक्रीका लागि सहज हुने बताए । फागुन २ देखि ६ गतेसम्म सञ्चालन हुने मेलामा दर्शक लोभ्याउन नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रविधियुक्त घर निर्माण गरिएको उनले बताए । मेलाको उद्घाटन नेकपा एमाले प्रदेश नम्बर ५ का संसदीय दलका नेता शंकर पोखरेलले गर्ने उनले बताए । मेलाको मुख्य प्रायोजक स्टाटअपको सञ्चालक सन्तोष गौतमले प्रविधि सिकाउने रूपमा मेला आयोजना भएको बताए । अवलोकनकर्ताहरूले स्टाटअपको स्टलमा विशेष छुट पाउने व्यवस्थासमेत गरिएको उनले बताए । इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्युर्टस, टेलिकम्युनिकेसन, आईएसपी, सफ्टवेयर सोलुसन्सलगायतका स्टल रहने छन् । मेला ५० हजार दर्शकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ ।
सो प्रदर्शनीमा फ्री सर्भिस क्याम्प, नेपाली टाइपिङ कम्पिटिसन, डान्स कम्पिटिसन, आइसिटी क्विज, भर्चुवल गेमिङलगायत पनि आकर्षणका रूपमा रहने सचिव वीरबहादुर क्षेत्रीले बताए । सूचना प्रविधिसम्बन्धी जानकारीमूलक १ सय ३० स्टल प्रदर्शनीमा रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्