जाजरकोट भूकम्पमा १५७ को मृत्यु, अर्बौंको क्षति

काठमाडौं– जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेकामध्ये शनिबार अपराह्न ४ बजेसम्ममा १५७ जनाको मृत्यु भएको पृष्टि भएको छ । गृह मन्त्रालयका अनुसार तीन सय ७५ जना घाइते भएका छन् ।
भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरीको पनि मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको हो । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनीहरु सबै रुकुम पश्चिमका हुन् । भूकम्ममा जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी ५५ जनाको मृत्यु भएको छ । यस्तै, भेरी नगरपालिकामा ४२ जना, छेडागाड नगरपालिकामा १ जना र कुशे गाउँपालिकामा ७ जना गरी १०५ जनाको मृत्यु भएको छ । मृत्यु हुने १५७ मध्ये अरु रुकुम पश्चिमका हुन् ।
शुक्रबार मध्य राति भूकम्प गएपछि मानिसहरु आफ्नो घरमा फर्किन सकेका छैनन् । ठूलो भूकम्पपछि लगातार परकम्प गइरहेका कारण स्थानीय त्रासमा छन् । उनीहरुले शुक्रबारको रात बाहिरै बिताए । शनिबार राति पनि घरभित्र फर्किने स्थिति थिएन । धेरैजसो घर कच्ची भएकाले बस्न सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा भूकम्प पीडितहरु केही दिन बाहिरै बस्नुपर्नेछ ।
चिसो बढिसकेकाले उनीहरुलाई झन् समस्या भएको छ । उद्धार तथा राहतकर्मीहरुले लगेका पाल र कम्बलको भरमा उनीहरु बसेका छन् । यसैबीच, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना भने छैन । दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने बताइएको छ । रुकुम पश्चिम र जाजरकोट दुवै जिल्लामा पानी पर्ने र हिमपात हुने सम्भावना छैन ।
भौतिक क्षति
प्रारम्भिक अनुमानमा ३ हजारदेखि ३५ सयसम्म घरमा भूकम्पले क्षति पुर्याएको छ । आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका र मुसिकोट गाउँपालिकामा भूकम्पले बढी क्षति पुर्याएको छ ।
भत्केका तीन हजार बढी घरमध्ये रूकुम पश्चिममा २ हजारदेखि २५ सय र जाजरकोटमा एक हजार जति छन् । भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा धेरै घर भत्किएका छन् । तर, त्यहाँ मानवीय क्षति भने भएको छैन । भूकम्पबाट निजी आवासका साथै सरकारी संरचनामा समेत क्षति पुगेको छ । यकिन आँकडा नआए पनि अर्बौंको भौतिक क्षति भएको अनुमान छ।
उद्धार
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचार काठमाडौंको त्रिवि शिक्षण अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा भइरहेको छ । सामान्य घाइतेहरूको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सामान्य केही घाइते उपचारपछि डिस्चार्ज भएका छन् । शनिबार उद्धारमा जुटेको सरकारले क्षतिको यकिन विवरण संकलन गर्ने काम आइतबारदेखि सुरु गर्दैछ । भूकम्प प्रभावितलाई खाने र बस्ने व्यवस्था स्थानीय सरकारले नै गर्ने भएको छ ।
शनिबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधि एवं राहत सामग्रीसहित प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकनका लागि पुगेका थिए । त्यस क्रममा उनले पीडित परिवारसँग भेटघाट पनि गरे । प्रधानमन्त्री दाहाल सरोकारवाला निकायलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएर काठमाडौं फर्किएका थिए । प्रभावित क्षेत्रमा उद्धार एवं राहतमा जुट्न सबैमा उनले अपिल गरेका छन् । घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उनले जनाएका छन् ।
राहत
प्रभावित क्षेत्रहरूमा तत्कालका लागि त्रिपाल, म्याट, लत्ताकपडा, खाद्यान्न र पकाउने भाँडा पठाउने व्यवस्था मिलाइएको छ । अहिले केही स्थानमा हेलिकप्टर र ट्रकबाट राहत सामग्री पठाइएको छ ।
सरकारले भूकम्प प्रभावित पश्चिम रुकुम पश्चिम र जाजरकोटमा खोज-उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५-५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई यो रकम पठाउने निर्णय भएको छ । यो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुनेछ । खोज-उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन् ।
बैठकले भूकम्प प्रभावितमा खोज, उद्धार तथा घाइतेको उपचार कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने, स्थानीय अस्पतालहरूमा उपचार भइरहेका घाइतेको उपचारलाई प्रभावकारी बनाउन आवश्यक विशेषज्ञ चिकित्सकसहितका जनशक्ति, अत्यावश्यक औषधि उपकरण छिटो साधनद्वारा प्रभावित क्षेत्रमा पुर्याउने, थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगन्ज र काठमाडौंमा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
बैठकले तत्काल राहत व्यस्थापनका लागि खाद्यान्न र अस्थायी आवास (टेण्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि सामग्री प्रभावित जिल्लामा पठाउने एवं खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक केन्द्र तोकी आवश्यकतानुसार साधन स्रोत परिचालन गर्ने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन निर्देशन दिएको छ । प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले शनिबार सूचना जारी गर्दै बिदामा रहेका कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनेको छ । काममा रहेका कर्मचारीलाई पनि तत्काल बिदामा नरहन हुन निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।
नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुन सक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न अनुरोध गरेको छ । भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।
प्रवक्ता कडायतका अनुसार विगतमा यसरी सहयोगका नाममा ठगिएका र वास्तविक प्रभावितहरूले राहत नपाएका जानकारी आएको भन्दै त्यसतर्फ सचेत हुन भनिएको हो । विभिन्न सरकारी निकाय तथा संघसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । यसैगरी भारत, अमेरिका, चीन, रुसलगायतले राहत र पुनस्र्थापनामा सघाउने प्रतिबद्धता जनाएका छन् ।
सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए ।
जुम्लाबाट गयो विशेषज्ञ टोली
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विशेषज्ञ टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पुगेको छ । शनिबार दिउँसो प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलको नेतृत्वमा ३ जनाको टोली जाजरकोट पुगेको हो । हाडजोर्नी विशषज्ञ समेत रहेका उपकुलपति रावल, विशेषज्ञ डाक्टर सुवास खातुङ, शिक्षाध्यक्ष डाक्टर डबल धामी प्रभावित जिल्लामा पुगेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए ।
जुम्ला प्रतिष्ठानमा पनि टोली तयारी गरिएको छ । अहिले विषेशगरी सुर्खेत नेपालगन्जदेखि भूकम्प प्रभाजित जिल्लामा चिकित्सकको टोली परिचालित भएको छ । आवश्यक परेको खण्डमा जुम्लाबाट पनि थप चिकित्सकको टोली पठाउने तयारी भएको छ ।
भूकम्पका कारण जुम्लामा आंशिक क्षति भएको छ । जुम्लामा केही घर भत्किनुका साथै चर्किने र आधा दर्जन बढीलाई सामान्य चोपटक लागेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।