Logo

विश्वको अर्थ चक्र र हाम्रो तिहार

विश्व अर्थतन्त्र संकटमै छ । कोभिड–१९ ले लथालिंग पारेको अर्थतन्त्र पछिल्ला युद्धहरूमा रुमल्लिएको छ । सन् २०२२ को विश्वको आर्थिक वृद्धि अध्ययन गर्दा सन्तोष लिने ठाउँ छैन । रसिया–युक्रेनको युद्ध जारी रहँदै इजरायल अशान्त छ । युद्ध गर्नु हुन्न भन्ने संरासंघको प्रस्तावलाई हाम्रो देशले अनुमोदन गरेको छ, तर छिमेकी भारत अनुपस्थित देखिएको छ भने स्वयं युद्धग्रस्त इजरायल राष्ट्रसंघको विपक्षमा उभिएको छ । अबको संसार केवल हतियारले मात्र अशान्त हुने स्थिति छैन, किन्तु खाद्य असुरक्षा, भोकमरी, पोषणको अभाव पनि विश्व युद्धसरह नै हुनेछ ।

अघिल्लो वर्ष सन् २०२२ मा विश्वकै आर्थिक राजधानीको रूपमा रहेका अमेरिकाको आर्थिक वृद्धि केवल २ प्रतिशतमा सीमित रह्यो । विश्वमै एकछत्र आर्थिक राज गर्न खोजेको चीनको आर्थिक वृद्धिदर २.९९ प्रतिशत मात्र रह्यो भने अर्को उदीयमान भारतको यो दर ६.८३ प्रतिशत छ । छिमेकी भारत आर्थिक विकासमा जति हौसिएको छ, हामीले त्यसको फाइदा लिन सकेका छैनौँ । भारतले विश्वका १ सय ४० देशलाई खाद्यान्न निर्यात गर्दै छ, खासगरी चामल । त्यही चामल उसले निर्यात रोक्दा यहाँको बजारमा समस्या आएको छ भने हाल ९५ हजार टनको मात्र निकासी कोटा दिएको छ उसले । केमरुन, कोटेडिआइभोर, मलेसिया, गिनी, फिलिपिन्स, सेसेल्सलगायतका देशलाई समेत गरी उसले १० लाख ३४ हजार ८ सय टन चामलको कोटा तोकेको छ ।

चन्द्रयान–३ चन्द्रलोक पुर्याएर हौसिएको भारतले गरेका पूर्वाधारका कामहरू प्रशंसनीय पनि छन्, संसारमै ।
आइएमएफको भनाइमा सन् २०२३ मा चीनको जिडिपी वृद्धि ५.२ प्रतिशत हुनेछ । संसारकै उच्च जनसंख्या भएको चीनमा कृषिमा जिडिपीको योगदान ७.२ प्रतिशत मात्र छ, औद्योगिक उत्पादनको योगदान ३९.३ प्रतिशतको छ । अमेरिकामा जिडिपीमा कृषिको योगदान मात्र १ प्रतिशत हो, औद्योगिक क्षेत्रको योगदान १८ प्रतिशतको छ । भारत जनसंख्यामा चीनलाई उछिन्दै छ अहिले र जिडिपीमा कृषिको योगदान १८ प्रतिशत मात्रै छ । जिडिपीमा उसको औद्योगिक योगदान २६ प्रतिशतको छ । औद्योगिक उत्पादनमा उन्नत देशहरूमा पनि अहिले रोजगारी र निर्यात व्यापार खस्किएको अवस्था छ । संरासंघको एफएओको भनाइमा गत वर्ष खाद्यवस्तुको मूल्य १२.६ प्रतिशतदेखि ३३.६ प्रतिशतसम्म वृद्धि भयो र यो वर्ष झन् बढी मूल्यवृद्धि भएको छ, खाद्यान्नलगायत हरेक वस्तुमा । तर, आमजनताको क्रयशक्ति बढेको छैन, घटेको छ । चालु वर्ष विश्वको विकास दर ३.१ प्रतिशत र आउने वर्ष २०२४ मा यसभन्दा पनि खस्किनेछ । अर्को वर्ष विश्व अर्थतन्त्र ३.१ को अनुमान गरिरहँदा विकसित देशको १.३ र विकासशील देशको ४.३ प्रतिशतको प्रक्षेपण गरिएको छ ।

हाम्रो देशमा औद्योगिक कलकारखाना छैनन् । दसैँमा प्रतिदिन ५ सय मे.वाट बिजुली खेर गयो भनियो । यहाँ रोजगारी नहुँदा विगत पाँच वर्षमा २४ लाखभन्दा बढी मानिस विप्रेषणका लागि विदेश भौँतारिए । जनताले खेती गर्न छोडे, मनोरञ्जन खर्च दोब्बरले बढेको छ र विप्रेषणले पुँजी निर्माण गर्न सकेन । देशको अर्थतन्त्र स्थिर छ, विकास खर्च पहिलो त्रैमासिकमा ४ प्रतिशत भएको छैन, चालु खर्च २० प्रतिशत नाघेको छ भने आन्तरिक ऋण अघिल्लै त्रैमासिकमा उठाइएको छ । प्रतिवर्ष ५ लाख युवा बिदेसिएको अवस्था छ । यता भारतको सन् २०२२ को मुद्रास्फीति ६.१ प्रतिशतको छ भने चीनमा १८ प्रतिशतसम्म पुगेको छ । नेपालको ७.१ प्रतिशत भनियो, हेर्दा त्योभन्दा बढी छ । विगत केही वर्षयतादेखि यहाँको जनजीवन बढी कष्टकर हुँदै छ, कर तिर्न नसकेको अवस्था छ, लम्पी स्किन रोग भनिरहँदा कृषि उत्पादन ह्वात्तै घटेको छ । कृषि उत्पादन वृद्धि गराउने मल, बीउको अभाव कायमै छ । देशमा गरिबी घटेको भनियो, व्यवहारमा घटेको नभई बढेको छ, सुशासनको अभाव छ र राजनीतिक भ्रष्टाचारले सीमा नाघिसकेको छ । कोभिडलाई दोष दिइएको छ घरेलु आय २१ प्रतिशतले घट्नुमा । विदेशी मुद्रा सञ्चितिलाई मात्र आर्थिक विकासको मापदण्ड मान्नु राम्रो हो र ?

दसैँ आएर गयो हाहाकारकै बीच, कसैले सिएर मोजा लगाए, कसैले एक किलो मासु सापटी गरेर दसैँ मनाए । सरकारी सुपथ मोलका पसल हात्तीका देखाउने दाँतमात्रै भए, २ किलो चिनी पाइएन, लाइन बस्दा पकेट काटियो । अतीतको दसैँजस्तै दुर्घटना नभएको कुनै दिन भएन, शान्ति–सुरक्षाको हालत स्पष्टै भयो । मुगुमा एकै परिवारका चार जनालाई हत्या गरेर ढोकामा ताल्चा लगाएर हत्याराहरू भागे । घटना बाहिर आउनै धेरै समय लाग्यो, आएपछि हत्यारा खोज्ने काम भएको भनियो, निर्मला पन्तका हत्याराहरू अभैm पेला परेका छैनन् । तीन तहका अदालतले कैद तोकेको मान्छे फूलमाला लगाएर निस्कन्छ भनेपछि समाजको स्वरूप हामीले कस्तो कल्पना गरेका छौँ, स्पष्टै छ ।

जनताको आयस्तर बढाउन उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्छ, दुवै काममा हामी अलमलिएका छौँ, नेतृत्व भने विदेशीलाई खुसी गराउनमै व्यस्त छ । दूध, माछा, मासुमा आत्मनिर्भर भनियो, तिनै वस्तु आयात भइरहेको छ । दसैँभरि सडक र गल्ली–गल्लीमा फलफूलको पहाडै देखियो, ती सबै आयातित नै हुन् । सबैलाई थाहा छ, दसैँलगत्तै झिलिमिली पर्व तिहार, त्यो पनि पाँचदिने लामो चाड आउँछ । यसमा त भाइमसला, रंगलगायत फलफूलको अधिक माग हुन्छ नै, तर हामीले यी वस्तु उत्पादनतिर ध्यान दिएनौँ । फलफूलमा आत्मनिर्भर हुने प्रशस्त सम्भावना हुँदाहुँदै पनि यसतर्फ ध्यान गएन र त स्याउ, मौसम, केरा, सुन्तला प्रचुर मात्रामा आयात भएको छ । तराई र कतिपय पहाडी क्षेत्रमा पनि केरा थुप्रै देखिन्छ, तर माग धान्ने भनेको स्वदेशी केराले ३० प्रतिशतमात्रै हो । छिमेकी भारतबाटै बढी आयात हुन्छ, हिमाली भेगमा प्रशस्त स्याउको सम्भावना छ तर ढुवानी समस्या छ ।

स्वदेशी उत्पादनले १० प्रतिशतमात्रै धानेको छ, बाँकी ७० प्रतिशत चीनबाट आउँछ र २० प्रतिशत भारतबाट आउने हो । गल्ली–गल्लीमा मुस्ताङको स्याउ भन्दै चिनियाँ स्याउ बिक्री भइरहेको छ । सुगर रोगीलाई पनि हुने मौसम १५ प्रतिशत यहाँ उत्पादन हुन्छ, तर आयातित मौसमको तुलनामा यहाँको मौसममा स्वाद हुन्न र ७० प्रतिशत भारत र बाँकी अन्य देशबाट आउने गरेको छ । सुन्तला यहाँको स्थानीय उत्पादनले धान्ने भनेको ५० प्रतिशत मात्रै हो, बाँकी ५० प्रतिशत आयात नै हुने हो । नेपाली घर–आँगनीमा फलफूलको प्रयोगको मात्रा बढेको छ । अघिपछिभन्दा फलफूलको खपत दसैँतिहारमा त तेब्बरको दरले वृद्धि हुन्छ, तर उत्पादनमा चासो कसैको गएन ।

नेपाललाई १० थरीका फलफूलमा आत्मनिर्भर बनाउने भन्दै आव ०७३-७४ मा फलफूलका लागि आत्मनिर्भर दशक भनियो, सफलता सुको छैन । सात वर्ष बित्यो कार्यक्रम सञ्चालन भएको, नाममात्रको छ । भैँसेपाटीमा संघीयताका भवनहरूको कार्यक्रम पूरा हुने तर कृषि उपज र यसका कार्यक्रमहरू मात्रै होइन, अन्य राम्रा सबै काम पूरा नहुने हाम्रो देशको जटिल रोग हो । जलस्रोतको धनी देशमा पानीमै आत्मनिर्भर हुन सकिएन, हिउँद लागिसक्यो कुम्भकर्णको चीर निद्रामा परेको मेलम्ची निद्राबाट ब्युँझिएको छैन । ट्यांकर व्यवसायीले हम्मर नहानेसम्म मेलम्चीको निद्रा खुल्ने छाँट छैन । भन्सार विभागको आँकडा हेर्दा फलफूल दशक आरम्भको आव ०७३-७४ मा १ लाख ९७ हजार ४ सय ५१ मे.टन, ०७४-७५ मा ४ लाख १८ हजार मे.टन, ०७५-७६ मा ३ लाख ७३ हजार ३ सय ५० मे टन, ०७६-७७ मा २ लाख ८० हजार ४ सय ७१ मे.टन, ०७७-७८ मा २ लाख ९९ हजार ४ सय ६९ मे टन र ०७८-७९ मा ३ लाख ३१ हजार ६ सय १० मे.टन आयात भएको देखिन्छ ।

यहाँ बनाइएको छ— जोन, सुपर जोन, पकेट क्षेत्र, कृषि विकास मन्त्रालयका धेरै संयन्त्र छन् तर उत्पादन गर्न सक्दैनन् र फलफूल आयातकै कारण पनि देशको व्यापार बढेको छ, हाम्रो अर्थतन्त्र नकारात्मक छ । व्यापारघाटा घटाउन, निर्यात बढाउन निर्यातका २८ प्रकारका थप वस्तुको पहिचान गरियो तर पहिचानका लागि मात्रै भयो यो काम । कृषि उपजका लागि उपयुक्त सिँचाइको प्रबन्ध हुन सकेन, माटोको उर्वराशक्ति, कीटनाशक औषधि, प्रोटिन तत्व, भण्डारण र चिस्यान तथा बजारीकरणमा ध्यान दिन सकिएन ।

तिहार भनेको फूलैफूलको चाड पनि हो । त्यसो त फूको महत्व शब्दले वर्णन गर्न सकिन्न । बाँचुन्जेल कुनै पनि हर्षको काममा फूल नभइ हुन्न । कुनै पनि पूजा, विवाह, उत्सव, गाडी, घर सजाउनेदेखि मरणोपरान्त पनि फूलैफूल आवश्यक हुन्छ । देखिन्छ, लासभरि, घाटभरि नै फूल, यसैमा पनि हामी आत्मनिर्भर हुन जरुरी छ । समय अर्थात् कालका प्रतीक यमपूजा भनौँ यमपञ्चकभरि नै अत्यधिक फूलको माग हुन्छ । फूलमा हामी आत्मनिर्भरउन्मुख छौँ भन्छौँ तर आयात नगरी सुखै छैन । त्यसो त हामी जीउको जनै पनि आयात नै गर्छौं, तिहारको भाइमसला मात्रै होइन, माघको तरुल, तीजका सरसामग्री पनि हामीले ल्याउने विदेशबाटै हो । अर्थतन्त्रमा पराधीन हामी आयातित सरसामानबाट बाँच्न र रमाउन अभ्यस्त भइसक्यौँ । खर्बौंको व्यापारघाटा छ र विदेशी ऋण किन भयो हामीलाई ? केही समययतादेखि हाम्रा किसानले फूलको केही व्यावसायिक खेती गरे तर अघिल्लोे दसैँको रुन्चे झरीले फूलमा पनि डडुवा रोग लागेर ती घाटामा पुगे, धेरै फूल बिग्रिए । विगतमा धेरै फूल आयात भए, गत वर्ष तिहारको फूल आपूर्ति ९० प्रतिशत आपैmँबाट र बाँकी १० प्रतिशतमात्रै आयात भएको हो ।

फ्लोरिकल्चर एसोसिएनले कृषि सरकारी निकायसमेतको आयोजनामा हरेक वर्ष ललितपुरको जावलाखेलमा तिहारको समय पारी पुष्प प्रदर्शनी गर्दै छ । गत वर्ष ५५ वटा स्टल राखी एसोसिएसनले व्यावसायिक, प्रतियोगी, सूचनामूलक स्टलहरू राखेर १ करोड बढीको व्यावसायिक कारोबार गरेको थियो । देशैभरि फूल उत्पादनमै ७ अर्बको लगानी रहेको बताउँछन् एसोसिएसनका मित्रहरू । तिहारमा मखमली, गोदावरी, सयपत्री फूलको धेरै माग हुन्छ । मखमली माला निर्यात र सयपत्रीको आयात देखिएको हो विगतमा । अन्य मालाको अपेक्षा गोदावरी माला केही महँगो हुने र यसका प्रजाति मुख्य पाँच थरी रहेको फूल विज्ञहरूको मत छ । देश कृषिप्रधान भएकाले पुष्प खेतीमा चनाखो भई व्यवसाय वृद्धि गर्न सके फूलमा आत्मनिर्भर हुन सकिने र व्यापारघाटामा केही राहत हुने निश्चित छ ।

यसमा राज्यक्षेत्र सजग हुँदै किसानहरू उत्साहित हुनुपर्ने हो । तिहारमा धनको प्रतीक कुवेरको पूजा हुन्छ । धनी हुन हामीलाई भाग्यले पनि ठगेको छ । हुँदा खाने र चाड मनाउने मानिस नभएका होइनन् तर सरकारी निकायको आधिकारिक भनाइ नै २० प्रतिशत त गरिबीको रेखामुनि छन् । मध्यमवर्गीलाई पनि समस्या छ । विगतमा कोरोनाले सतायो, अहिलेको दसैँमा डेंगुले सातो लियो, रोजगारी र आयआर्जन छैन । तिहार तेलको चाड पनि हो, तेलका लागि तोरीको उर्वरक्षेत्र हो हाम्रो देश, तर तेल आयात हुने गरेको र भाउ अचाक्ली छ । तेलमा धनको प्रतीक लक्ष्मीको बास हुन्छ भन्ने हाम्रो मान्यता छ । अतः तेलमा बत्ती बालेर दीपावली गर्ने हाम्रो चलन हो, तर हिजोआज बिजुलीको नक्कली उज्यालो, प्लास्टिकका फूलहरू आउन थालेका छन् । पर्व धानिँदै गरेको देउसीभैलो पनि खर्चिलो र बढी व्यावसायिक हुँदै आएको छ ।

पार्टीप्यालेसमा तीज भड्किलो भएजस्तै तिहारलाई भड्किलो बनाइयो । गाईको गोबरमा धन लक्ष्मी बस्ने कथन छ, तर गाईगोरु नै मासिँदै छन् । गोवद्र्धन पूजाले गोरक्षा र कृषिकर्ममा लाग्न प्रेरित गर्ने गरी थालनी भएको पर्व हो तिहार, तर गाईगोरुकै सम्मान भएन यहाँ । पृथ्वीको पूजा गर्नु भनेको माटोको माया हो, यसको माया नगर्दै नेपालीहरू बिदेसिएका छन् । पर्व, चाड, ऐश्वर्य र समृद्धि त्यहीँ हुन्छ जहाँ भोक, रोग र शोक हुन्न ।

प्रतिक्रिया दिनुहोस्