गौरीशंकरका २० घरमा होमस्टे «

गौरीशंकरका २० घरमा होमस्टे

दोलखा-गौरीशंकर गाउँपालिकाको २० घरमा होम स्टे सुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रका २० घरमा होम स्टे सुरु गरेको हो । नेपाल भ्रमण वर्ष २०२० मा सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई सघाउन स्थानीयहरूले होम स्टे सुरु गर्न उत्सुकता देखाएका हुन् ।

पर्यटकहरू बढी पुग्ने गाउँहरूमा होटलको विकल्पमा घरघरमा पर्यटकहरूलाई सत्कार गर्नका लागि स्थानीयहरू अग्रसर भएका हुन् । आफ्नै घरमा थप १ देखि ४ कोठासम्म पाहुनाका लागि स्थानीयले छुट्याएका छन् । गौरीशंकर गाउँपालिका वडा नं. ५ लुङ्सामा ७ घर, वडा नं. ७ मार्बूमा १० घर र कालिञ्चोक गाउँपालिका वडा नं. १ मा ३ घरमा यसको सुरुवात भएको छ । संरक्षण क्षेत्र आयोजनाले इच्छुक स्थानीयलाई होम स्टे सञ्चालनका लागि प्रारम्भिक स्तरको तालिमपछि एक कोठा बराबरको सामाग्री समेत हस्तान्तरण गरेको छ ।
विहीबार संरक्षण क्षेत्र आयोजना कार्यालय सिंगटी परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा ३ नं. प्रदेश सांसद बिशाल खड्काले होम स्टे सञ्चालकहरूलाई बोर्ड र सामाग्री वितरण गरे । सांसद खड्काले पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउने सरकारी लक्ष्य पूरा गर्न स्थानीयस्तरदेखि नै लाग्नु पर्नेमा जोड दिए ।
पैसा कमाउन अन्यत्र गए तापनि सन्तुष्टि र मनोरञ्जनका लागि पर्यटकहरू आउने हुँदा राम्रो सञ्चालकहरूले सेवा सुविधा दिन आग्रह गरे । उनले आउने पर्यटकहरूलाई स्थानीयस्तरमा उत्पादित सामाग्री, धर्म संस्कृतिले स्वागत गर्न समेत आग्रह गरे । पर्यटन विकासमा पछिल्लो समय कम्बोडिया र भियत्नामको उदाहरण दिंदै उनले भने “लामो समय द्वन्द्वमा फसेका मुलुकहरूले त पर्यटन क्षेत्रमा ठूलो फड्को मारिसके, हाम्रो देशमा त पर्यटकहरूका लागि शान्ति सुरक्षाको राम्रो प्रबन्ध छ । अब हामीले नै पूर्वाधार तयार गर्ने र सन्तुष्टि दिनु पर्छ ।”

२०२० मा पर्यटक दोब्बर भित्र्याउने
गौरीशंकर संरक्षण क्षेत्र भित्र वार्षिक ३ हजार विदेशी पर्यटकले भ्रमण गर्छन् । यो वर्ष त्यो संख्या बढ्ने संभावना छ । संरक्षण क्षेत्रले कृषि र पर्यटनकै माध्यमबाट आफ्नो क्षेत्र भित्र स्थानीय आयआर्जन समेत गर्ने लक्ष्य राखेको छ ।
संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले सरकारले लक्ष्य राखेको सन् २०२० मा विदेशी पर्यटक विगतभन्दा दोब्बर भित्र्याउने दाबी गरे । “हामीले ९ वर्षसम्म पूर्वाधार तयारी र संरचना बनाउँनै लाग्यौं” उनले भने “अब पछाडी फर्कदैनौं आफ्नो लक्ष्यमा अघि बढछौं ।” गौरीशंकर संरक्षण क्षेत्र भित्र प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्य देशकै उत्कृष्ट रहे तापनि प्रचार प्रसार र पूर्वाधार अभावमा पर्यटक भित्र्याउन नसकेको बताए ।
जलविद्युत आयोजना क्षेत्र र बढी पर्यटकहरू आउने क्षेत्रमा होम स्टे राखेको उनले बताए । पर्यटकहरू आउँदा समेत राम्रो बस्ने खाने ठाउँको अभाव भएको गुनासो आएपछि होम स्टेमा सहयोग गरेको उनले बताए । तत्कालका लागि प्रति घर एउटा कोठाका लागि आवश्यक सिरक, डस्ना, कार्पेट, ऐना, सानो टेबल, मेनु लगायतका सम्पूर्ण सामाग्री सहयोग गरेको र पर्यटक बढ्दै जाँदा थप सहयोग समेत गर्न सकिने बताए ।
२०५३ देखि २०५६ मा अन्नपूर्ण क्षेत्र आयोजनामा आफू बस्दा लम्जुङमा पनि आफैंले होम स्टे सुरु गराउँदा पर्यटक आउँदैनथे । “त्यहाँ पनि यहाँकै जस्तै गाउँ हो”, उनले भने “पूर्वाधार र प्रचार प्रसार हुँदै जाँदा अहिले दैनिक २ सय नेपालीहरू नै पुग्छन्, यहाँ पनि त्यही मोडेलमा सुरु हुन्छ ।” नयाँ नयाँ पर्यटकीय पदमार्गहरू पनि सुरु हुने उनले जानकारी दिए ।
गौरीशंकर गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काले हरेक वडामा होम स्टे सुरु गराउने बताए । अब कार्यपालिका बैठक र अन्य विषयगत समितिका बैठकहरू हरेक वडामा पालैपालो गर्ने र बास होम स्टेमै गराउने बताए । पर्यटन विकासका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने बताए । दोलखाको गौरीशंकर हिमाल, च्छोरोल्पा हिमताल, रोल्वालिङ उपत्यका, लप्ची, चेर्दुङ, कालिञ्चोक, विगु गुम्बा, देउढुङ्गा पाँचपोखरी, जटापोखरी लगायतका महत्वपूर्ण पर्यटकीय स्थल संरक्षण क्षेत्र भित्रै पर्छन् ।

प्रतिक्रिया दिनुहोस्