वीरगन्ज बस टर्मिनल सञ्चालनमा «

वीरगन्ज बस टर्मिनल सञ्चालनमा

वीरगन्जमा निर्माण सम्पन्न भएको अत्याधुनिक बस टर्मिनलको संचालनमा आएको छ । जर्मनको दातृ निकाय (केएफडब्लू) को आर्थिक सहयोगमा नगर विकास कोषको ऋण लगानीमा निर्माण भएको अत्याधुनिक बस टर्मिनलको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हालै उद्घाटन गरे ।
ठेक्का सम्झौता भएको चारबर्षपछि बस टर्मिनल संचालनमा आएको हो । टर्मिनलको उदघाटन गर्दै मन्त्री यादवले निर्माण सम्पन्न भएर मात्रै नहुने त्यसको मर्मत सम्भार र रेखदेख महत्वपूर्ण रहेको बताए । उनले भने, “आज उदघाटन भयो । यसको संरक्षण र मर्मत सम्भारमा ध्यान दिनुपर्छ । एकबर्षपछि आउदा हिलोमा फस्न नपरोस् ।” राजनीतिक परिवर्तन पछि प्राप्त संघीयताले जनतामा विकासको अपेक्षा धेरै भएकोले अब विकासलाई तीब्र गतिमा अगाडि बढाउनुपर्ने बताए । अवरोध आयो भनेर बहाना गर्ने अवस्था अब नरहेको यादवले बताए । उनले भौतिक संरचनाको निर्माणले मात्रै विकास नहुने भएकोले शैक्षिक र स्वास्थ्य क्षेत्रको विकास महत्वपूर्ण रहेको बताए ।
शैक्षिक र स्वास्थ्यको विकासतर्फ बढी जोड दिनुपर्ने उनले बताए । अत्याधुनिक टर्मिनलको अनुमानित लागत १९ करोड ८ लाख ९५ हजार भ्याट रहेकोमा १७ करोड ७३ लाख ५० हजार ६ सय ९ र भ्याटमा ठेक्का सम्झौता भएको थियो । जर्मन दातृ निकाय (केएफडब्लू) ऋण अनुदानमा वीरगंज नगर विकास कोषले बसपार्कको निर्माण कार्य गर्न ठेक्का लगाएको थियो । २०७१ माघ २२ गते सम्झौता भएपछि २०७२ साल वैशाख १२ गते आएको भूकम्पन तथा त्यसपछि भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दीको कारण निर्माण कार्यमा ढिलो भएको ठेकेदार कम्पनीले जनाएको छ । त्यसपछि २०७३ चैत २४ देखि काम शुरु गरेको ठेकेदारले निर्माण सामग्रीको अभाव तथा प्राविधिक कमजोरी लगायतका विभिन्न कारण देखाई निर्माणमा ढिलाइ भएको थियो ।
बसपार्क निर्माणको ठेक्का आशिष, पप्पु, रोशन जेभीले पाएका छन् । पहिलो पटकको ठेक्का आपूmलाई नपरेपछि पप्पु कन्सट्रक्सनले बढी रकममा ठेक्का दिएको भन्दै मुद्दा दायर गरेपछि दातृ निकायले पहिलो ठेक्का नै रद्द गरेको थियो । दोश्रो पटकको ठेक्का लागेपछि ठेकेदारलाई १५ महिनामा काम सम्पन्न गर्न समय दिइएको भए पनि काम पूरा गर्न नसक्दा पटक पटक गरी चार म्याद थपेर अहिले निर्माण सम्पन्न गरेको हो । ठेकेदार कम्पनीले निर्माण कार्य २०७५ मंसिर २० गते नै सम्पन्न गरेको कागजमा दावी गरेपनि वीरगन्ज महानगरपालिकालाई भने भदौ १० (मंगलबार) मात्रै हस्तान्तरण गरेको छ ।
बस टर्मिनल ५ विगाह ५ कठ्ठामा निर्माण गरिएको छ । तीन तल्लाको टर्मिनल भवन सहित ५५ वटा सटर, एउटा वर्कशप, सवारी पार्किङक्षेत्र, शौचालय ब्लक लगायत निर्माण गरिएको छ । टर्मिनल भवन भित्र टिकट काउण्टर, स्टोर रुम, कन्ट्रोल रुम, लगेज रुम लगायत रहेको छ । त्यस्तै बच्चाका आमाहरूलाई स्तनपान गराउने कोठा, जेन्ट्स पार्लर, लेडिज पार्लर, फोटोकपी, एटिएम सुविधा, पिसिओ लगायत रहने छ । वीरगन्जमा सुविधायुक्त बसपार्क नहुँदा यात्रुवाहक सवारी साधनहरू सडकमा नै राखेर चलाउनुपर्ने अवस्थाको अब अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्