भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन
भूकम्प अपडेटः ६३ जनाको मृत्यु, उद्धारमा कठिनाइ

काठमाडौं- भूकम्पमा परी ६३ जनाको मृत्यु भएको छ । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ६३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिएका हुन् ।
उनका अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । झण्डै सय जना घाइते भएका छन् । यस्तै जिल्ला प्रशासन कार्याल जाजरकोटका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का देशका विभिन्न ठाउँमा महसुस भएको थियो ।
त्यस्तै भूकम्पका कारण ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोटमा गएरातिको भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । घाइतेहरूको उद्धारका लागि स्वास्थ्यकर्मी, हेलिकप्टर र औषधि पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्रीले गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल उद्धार र घाइतेहरुको उपचारको व्यवस्थानका लागि स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा जान लागेको सचिवालयले जनाएको छ ।