Logo

मुगुमा मारिएका सबैको दाहसंस्कार, के थियो घटना ?

मुगु- छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक विभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ । घटना भएको ८ दिन र लासको पोस्टमार्टम भएको ४ दिनपछि हत्या गरिएका आमा र ३ छोरा,छोरीको दाहसंस्कार गरिएको हो ।

घटना कसरी घट्यो ? के कारण घट्यो ? र हत्यारा को हो ? भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान् दिपक बोहोरा र आफन्तले शव बुझ्न मानेका थिएनन् । घटना गत ८ गते बुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारी पाएको थियो ।

जानकारी पश्चात् घटना स्थल पुगेको प्रहरीले २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍याइएको थियो ।

घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिबार ११ गतेदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्युरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिइ अनुशन्धान तीव्र बनाउँदै आएको छ ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो । घटनाको प्रकृति, अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै पुगेका थिए ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरुमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । ‘विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धीत व्यक्तिहरुसंग भेरिफाइ गर्न कम्तीमा १ देखि २ दिनसम्म लाग्छ । यति ठूलो ४/४ जनाको हत्या भएको छ कयौं जनासंग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका बावजुद काम गर्नुपर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन, नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्बन्धी क्रियाकलाप गर्न घटना स्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक/पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भैरहेको छ’, प्रनाउ थापाले भने ।

प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भैरहेको बताएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा कारोबारले हत्या भएको हुन सक्ने अनुमान गरी प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रहरीले हालसम्म घटनामा संलग्न व्यक्ती बारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनैपनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुशन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो ? भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउ विरेन्द्र थापाले भने, ‘कुनै क्लु नभेटाइ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्यारा बारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोली पनि मुगु आउन सक्छ ।’

‘जिल्ला अस्पताल मुगुमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरु गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा गन्धित फैलिने त्रास थियो ।’ चिकित्सक अर्जुन भामले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ शुष्म अध्ययनका लागि सव परिक्षण पनि भैसक्यो आफन्तहरुले लास बुझिदिनु भयो अब हाम्रो त्रास हट्यो ।’

हत्यारा र हत्याको कारण पत्ता नलाग्दै शवहरु बुझ्न दबाव परेपछी मानसिक तनावमा रहेका मृतक श्रीदेविका श्रीमान् दिपक बोहोरा बिहिबार बिहानैदेखि बेपत्ता भएका थिए । सबैतिर प्रहरी र स्थानीयहरुले खोजी गर्दा राती ८ बजे छायाँनाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा रहेका आफन्तको घरमा बसेको फेला पारेका थिए ।

शुक्रबार बिहान नगरप्रमुख विष्णुकुमार भाम, आफन्तहरुको सम्झाइ बुझाइपछि दिपक बोहोरा शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका हुन् । आमा श्रीदेवी बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको शव जलाइयो भने ८ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी अप्सरा बोहोराको शव जमिनमा दफन गरिएको नगरप्रमुख भामले बताए ।

प्रतिक्रिया दिनुहोस्