Logo

पलेशालाई एनसेलको सम्मान

काठमाडौं– चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदको तेक्वान्दो महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान भएको पनि एनसेलले जनाएको छ ।

योसँगै एनसेलले राष्ट्रिय पारालिम्पिक समिती (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ । एनसेलले नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामनासहित भेटघाट कार्यक्रम पनि आयोजना गरेको थियो ।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको एतिहासिक उपलब्धिबाट हर्षित भएको बताए । यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा भएको भन्दै उनले भने, ‘पलेशा र अन्य सबै पारा खेलाडीले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो ।’

पलेशाले एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोेमा गौरवान्वित भएको बताएकी छिन् । पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि सबै पारा खेलाडीहरुको तर्फबाट धन्यवाद दिन चाहेकी पनि उनले बताएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्