इजरायलमा सम्पर्कविहीन जोशी हमासको नियन्त्रणमा

काठमाडौं– इजरायलबाट युद्ध बन्दीका रुपमा हमासले बन्धक बनाएका मध्ये १ जना नेपाली पनि रहेको इजरायल सरकारले पुष्टि गरेको छ । इजरायलस्थित नेपाली दूतावासले लामो समयदेखि खोजी कार्यमा रहेको जनाउँदै आए पनि ३ दिनअघि इजरायल सरकारले १ नेपालीसहित १२१ विदेशी हमासले बन्दक बनाएको बताइको छ ।
इजरायलले बन्धक बनाइएका नेपालीको नाम भने सार्वजनिक नगरे पनि हाल सम्पर्कमा नआएका जोशी नै एकमात्र नेपाली हुन् । हमासले २८ देशका २२१ विदेशीलाई आफ्नो नियन्त्रणमा लिएको इजरायल सरकारले अक्टोबर ३० मा सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । जसमा थाइल्याण्डका २४, अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७, हंगेरीका ४, पोल्याण्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जनिया र युकेका २/२ जना रहेका छन् ।
यसैगरी अष्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्याण्ड, लुथिनिया, मेक्सिको, नेपाल, नेदरल्याण्ड, सर्विया, दक्षिण अफ्रिका र श्रीलंकाका १/१ जना रहेका छन् । यस सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले भने केही बताएको छैन । बन्धक बनाइएका नेपाली नागरिकलाई कहाँ राखिएको छ भन्नेबारे उल्लेख गरिएको छैन । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका नेपाली विपिन जोशी हमासको नियन्त्रणमा रहेको भने पुष्टि भएको छ । जोशी विगत २५ दिनदेखि बेपत्ता रहेका थिए ।
स्टेट अफ इजरायल नामक सरकारी सूचनामा जोशी सहित २८ देशका विदेशी हमासको नियन्त्रणमा रहेका बताइएको छ । अक्टोबर ७ मा हमासले बन्दक बनाएका एक नेपालीसहित अन्य विदेशी बन्धक रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले सञ्चार माध्यमलाई बताएका छन् । नेपाली नागरिक जोशी सहित बन्धक बनाईएका दुई अमेरिकी नागरिक र दुई इजरायली नागरिकलाई भने हमासले मुक्त गरेको छ ।
इजरायल सरकारले बन्धक बनाइका विदेशीसहित इजरायली नागरिकलाई निःसर्त रिहाइ गर्न अनुरोध गरेको छ । अझै पनि इजरायलका १७८ सेना तथा नागरिक हमासको नियन्त्रणमा रहेका छन् । यसअघि नेपाल सरकार परराष्ट्र मन्त्रालयले जोशीलाई मुक्त गराउन अन्तर्राष्ट्रिय समुदाय सहित कतार सरकारसँग समेत अनुरोध गरेको थियो ।
मृतक सबै नेपालीको शव पहिचान
इजरायलस्थित नेपाली दूतावासले हमासको हमलामा परि मृत्यु भएका सबै नेपालीको शव पहिचान भएको जनाएको छ । बुधबार २ जना मृतक नेपाली नेपाली राजेश कुमार स्वरांकर र आन्नद साजको शव पहिचान भएको दूताबासले जनाएको छ ।
यसअघि ३ चरणमा ५ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिसकिएको छ भने ३ जनाको शव नेपाल पठाउने तयारी भइरहेको इजरायल स्थित नेपाली दूतावासले जनाएको छ । अक्टोबर ७ मा हमासको आतंककारी आक्रमणमा परी इजरायलको दक्षिणी क्षेत्रमा हत्या गरिएका नेपाली अध्ययनका क्रममा इजरायल गएका थिए ।