बगैंँचामै व्यापारी पुगेपछि जुम्लाका किसानलाई राहत «

बगैंँचामै व्यापारी पुगेपछि जुम्लाका किसानलाई राहत

जुम्ला-भदौ महिना लागेसँगै व्यापारी स्याउ खरिदका लागि जुम्लाका बगैचामै पुग्न थालेपछि निर्यातमा निकै सजह भएको किसानहरुले बताएमा छन् । कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीले व्यापारीहरु बगैँचामै स्याउ खरिद गर्न आएपछि निकै राहात भएको बताइन् ।
गत वर्ष व्यापारी खोज्न झनझट खेपिकी उनले यो वर्ष घरमै लाखौ रुपैयाँ पाएपछि निकै खुसी छन् । आफैले सुर्खेत र नेपालगञ्जलगायतका बजारमा प-याउँदा कुहिने र भनेको समयमा नबिक्ने झण्झट व्यहोरेका किसानले बगैँचाबाटै बेच्न पाएपछि सहज भएको बताएका छन् ।
चन्दननाथ–१० की माया देवकोटाले यस वर्ष स्याउ निर्यातमा कुनै समस्या नभएको बताइन् । एक सातादेखि बारीमा स्याउ टिपेर भण्डारण गरेकी उनलाई घरैमा व्यापारी अँएपछि निर्यात कसरी गर्न, भन्ने कुराको चिन्ता नभएको बताइन् ।
जुम्लाका अधिकांश किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । जुम्लाका अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन् । यतिबेलै यहाँका एक जना किसानले कम्तीमा पनि ५ लाख रुपैयाँ बराबरको आम्दानी गर्दछन् । जुम्लाका साढे १६ हजार घरधुरीले स्याउ खेती गर्छन् ।
यस वर्ष जम्लामा स्याउ उत्पादन बढ्ने अनुमान गरेसँगै व्यापारीहरु बगैँचामै पुगेका हुन् । स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जुम्ला पुगेका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन् ।
यस वर्ष जुम्लामा ६ हजार १ सय मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्र जुम्लाको छ । अहिले स्याउ टिप्ने र निर्यात हुने काम भइरहेको छ । स्याउ उत्पादनबारे प्राविधिकले तथ्यांक संकलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको अनुमान गरिएको छ ।
केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलंगा बजारमा लैजानुपर्ने बाध्यता थियो । तर अहिले प्रतिकेजी ४० देखि ६० रुपैयाँसम्म जुम्लामै स्याउ विक्रि भइरहेको छ ।
आठ वर्षअघि साविक जिल्ला विकास समितिले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा ग-यो । जुम्लाले विसं २०६६ मा नेपाल प्राङ्गारिक प्रमाणीकरण मान्यता पाएपछि जुम्ली स्याउको बाहिरी बजारमा माग बढेको हो । विगतका वर्षमा विदेशी कार्टुनमा जुम्लाका स्याउ निर्यात गर्दा व्यापार घट्नुका साथै जुुम्ली स्याउको पहिचान गुमेको थियो । तर यस वर्ष जुम्लामा सबै किसानका घरघरमा ( जुम्ला स्याउ) लेखिएको कार्टुन पुगेको छ । जसले गर्दा बजारमा माग बढेको कृषि अर्थविद देवकोटाले बताए । स्याउ निर्यातमा किसानलाई सहज भएपनि व्यापारीलाई झनझट भएको छ । जुम्लाको स्याउको माग काठमाडौँ, नेपालगन्ज, विराटनगर धनगढी पोखरा लगायका शहरमा बढी छ ।
स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा अझै पनि समस्या छ । तर, पनि व्यापारीहरुले प्रतिकेजी बाट १०-१५ रुपैयाँ अहिलेनै फाइदा लिइरहेका छन् । सुर्खेत नेपालगञ्मा खरिद गर्नु भन्दा बगंैचामै खरिद गर्दा फाइदा धेरै हुने व्यापारी मिन कठायतले बताए । जिल्लामा स्याउ भण्डारणको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जुम्लामा तीन हजार एक सय हेक्टरमा स्याउ खेती गरिएकोमा ८०० हेक्टरमा मात्रै स्याउ फलेको छ ।

प्रतिक्रिया दिनुहोस्