हिमालय एयरलाइन्सले पायो ‘एसियाकै प्रभावशाली’ वायु सेवा कम्पनीको पुरस्कार

हिमालय एयरलाइन्सले दक्षिण एसियाकै प्रभावशाली नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) ले शनिबार मलेसियाको इक्वेटर भिलेजमा आयोजित साटा २०१७ कार्यक्रममा एयरलाइन्सलाई सम्मान गरिएको हो ।
सो समारोहमा नेपालको निजी अन्तराष्ट्रिय वायु सेवा कम्पनीकी ब्रान्ड एन्ड सर्भिस डिपार्टमेन्टका प्रमुख उज्जवला डालीले पुरस्कार ग्रहण गरेकी थिइन् । उनले यसले उडानका क्षेत्रमा हिमालयन एयरलाइन्सलाई अघि बढ्न प्रत्साहित बनाएको बताइन् ।
साटा दक्षिण एसियाको पर्यटन क्षेत्रमा पहिलो रिजनल ट्राभल अवार्ड समारोह हो । गत अगस्ट ३१ सम्म अनलाइनमार्फत मतदानको व्यवस्था गरिएको थियो । अवार्ड प्राप्त गर्दै डालीले यो अवार्डले कम्पनी एकदमै गौरवान्वित भएको बताइन् । यसले हामीलाई सेवा र सुविधा विकासलाई बढाउन ऊर्जा प्रदान गरेको छ, उनले भनिन्, हामी यात्रुको सेवाका लागि अहोरात तल्लिन भएर लाग्नेछौं ।’
सन् २०१३ मा स्थापना भएको यो एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी छ । दोहा, कोलालम्पुर, दुबई र दम्माममा सेवा दिइरहेको यो एयरलाइन्सले ढाका, हङकङ र बैंककमा पनि सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी केही महिनामा यो एयरलाइनले चीनको बेइजिङ र छेङडुलाई पनि अन्य सहरहरूसँग जोड्ने योजना बनाएको छ ।
हाल तीनवटा एयरबस रहेको हिमालय एयरलाइन्सले छिट्टै १५ विमान थप्ने योजना तयारी गरेको बताएको छ ।