Logo

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीव्र

चितवन– चितवनको भरतपुर महानगरले आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रको विकास लागि भरतपुर भ्रमण वर्ष २०२४ घुमौं भरतपुर अभियानलाई तीव्रता दिएको छ । विकास र समृद्धिमा अगाडि बढेको महानगरले आर्थिक मन्दी नभइ अर्थतन्त्र चलायमान बनाउन घुमौं भरतपुर अभियानलाई राष्ट्रिय उत्सवकै रुपमा मनाउने तयारी गरिरहेको मेयर रेणु दाहालले जानकारी दिइन् ।

‘घुमौँ भरतपुर’ नाराका साथ करिब ६ करोड रुपैयाँ खर्च गरी स्वदेशी ती लाख र विदेशी दुई लाख गरी ५ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य आफूहरूको रहेको मेयर दाहालले स्पष्ट पारिन् । मेयर दाहालले पत्रकार सम्मेलनमा एक वर्षमा ५ लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुमाउने गरी तयारी गरिएको र ३१ ठाँउलाई विशेष पहिचान गराउने योजाना रहेको बताइन् ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरले सरसफाइ र वृक्षरोपणलगायतका हरियाली प्रवद्र्वन कार्यक्रमलाई अभियानकै रूपमा तीव्र बनाइरहेको छ । उनले भनिन्,‘देश आर्थिक रूपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल भइन्छ ।’ उनले मुलुकको अर्थतन्त्रमा समस्या देखिए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान हुने विशवास राखिन् ।

महानगरको प्रमुख पर्यटकीय क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी देवघाट, क्रुजशिप, दियालो बंगला, अम्रेला स्टेट, निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत रहेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने गरी प्रचारप्रसारदेखि अभियानमुखी कार्यक्रम तीव्र छ ।

मेयर रेणुले अगाडी भनिन्,‘रसिया, युक्रेनलगायतका केही देश युद्धमा छन् । मुलुकमा आर्थिक मन्दी देखिएको छ । सोही कारण भ्रमण वर्ष रोक्ने हो कि सञ्चालन गर्ने दोधारमा छु, तर कडा मिहिनेत गरे हामी सफल हुनेछौं, अर्थतन्त्र चलायमान हुनेछ । सबैले नकारात्मक मात्रभन्दा पनि भ्रमण वर्ष सफल बनाउन हातेमालो गरौँ ।’

महानगरको मुख्य बजार क्षेत्रमा सडक विस्तारको काम जारी हुदाँ धुलो समस्या भए पनि दुई महिना भित्र धुलो रहित बनाउने गरि काम अगाडि बढेको उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए । एकता र सद्भावका साथ सहयोग गर्न भरतपुरवासीलाई उनले अपिल गरे । भ्रमण वर्ष सुरु हुन अब करिब दुई महिनाको समय छ ।

नगर उपप्रमुख एवं भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक चित्रसेन अधिकारीले भने,‘यो अवधि महानगरको लागि सुनौलो र इतिहास रच्ने समय हो ।’ महानगरमा आयोजना गरिएको कार्यसम्पादन समिति र उपसमिति संयोजकहरुको संयुक्त बैठकले भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा मनाउने निर्णय गरेको हो । महानगरपालिकाले २९ वटै वडामा ३१ वटा पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर भ्रमण वर्ष मनाउन लागेको छ ।

कार्यसम्पादन समितिका सहसंयोजक तथा स्थानीय युवा व्यवसायी दिनेशकुमार चुकेले भ्रमण वर्ष महानगरको लागि मात्रै नभई निजी क्षेत्रको लागि पनि उत्तिकै फलदायी रहने बताए । उनले भने,‘यो भ्रमण वर्षलाई सबैले अपन्त्व हुने गरी जिम्मेवारी लिन आवश्यक छ ।’ महानगरपालिकाले भ्रमण वर्षमा फुड फेस्टिभल, अन्तर्राष्ट्रिय जंगल सफारी, हात्ती पोलो, राजदूत सम्मेलन, मन्त्रिपरिषद् बैठक, अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

जलयात्रा, अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, अन्तर्राष्ट्रिय फर्मा एक्स्पो, अन्तर्राष्ट्रिय एग्रोभेट प्रदर्शनी, अन्तर्राष्ट्रिय मेडिकल मेसिन एक्स्पो, नाडा एक्स्पो, बोटे–माझी डुंगा प्रतियोगितासहितका विविधि कार्यक्रम रहेको महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए । उनले भने,‘ गैरआवसीय नेपाली संघको समन्वयमा ५२ देशमा प्रचारप्रसार समिति गठन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्