Logo

धानको समर्थन मूल्य तोकिएपछि किसान उत्साहित

महेन्द्रनगर– मंसिर अन्तिम सातातिर खोलिने धानको सर्मथन मूल्य यो वर्ष कार्तिक दोस्रो सातामै तोकिएपछि किसान उत्साहित भएका छन् । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि कञ्चनपुरमा धान खरिद गर्न सुरु गरेको हो । गत आर्थिक वर्ष भन्दा योवर्ष डेढ महिना अगाडिदेखि नै धान खरिद गर्न सुरु गरिएको छ ।

गत आर्थिक वर्ष मंसिर २९ देखि धान खरिद गरिएको थियो । यो वर्ष कार्तिक १५ देखि नै धान खरिद गर्न सुरु गरिएको छ । त्यसैगरी गत वर्ष भन्दा योवर्ष धानको सर्मथन मूल्य समेत वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा प्रति क्विन्टलमा २ सय ३१ रुपैयाँ वृद्धि भएको छ । गत वर्ष २ हजार ९ सय ६७ रुपैयाँ थियो भने यो वर्ष ३ हजार १ सय ९८ रुपैयाँमा खरिद भइरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रमुख राजु मोक्तानले किसानहरूले उत्पादन गरेको धान खरिद गर्न सुरु गरिएको बताए । उनले भने, ‘पहिलो दिन १६ जना किसानहरूले ल्याएको धान खरिद गरिएको थियो । प्रति किसानको अधिकतम ३० क्विन्टल धान खरिद गरिने र यो वर्ष वास्तविक किसानहरूको पहिचान र उत्पादित धान खरिदका लागि सम्बन्धीत वडाबाट सिफारिससहितका किसानका पहिचान हुने कागजपत्र सहिद धान खरिद गर्न लागिएको छ ।’

धान खरिदको सीमा निर्धारण केन्द्रीय कार्यालयबाटै भएको र गत आर्थिक वर्ष भन्दा यो वर्ष धान सफा र राम्रो भएको मोक्तानले बताए । जिल्लाको दक्षिणी क्षेत्रका किसानहरूको सुविधाका लागि बेलौरी पूर्व तिरका किसानहरूको सुविधाका लागि झलारीमा अस्थायी प्रकृतिको धान खरिद डिपो राख्नका लागि केन्द्रसँग माग गरिएको मोक्तानले बताएका छन् ।

भीमदत्त नगरपालिका–१० सुकासालका किसान श्याम सिंह धामीले विगत वर्षभन्दा यो वर्ष सरकारले किसानले उत्पादन गरेका धान समयमै खरिद गर्दा आफूहरूलाई निकै खुसी लागेको बताए । उनले धान खरिद गर्ने ठिक समयमै सरकारले किसानहरूको धान खरिद गरेको बताए ।

धान खरिद प्रक्रियामा वडाबाट सिफारिस सहितको ढिला सुस्ती देखिएको भन्दै उनले वडाबाट सिफारिस ल्याउँदा १ सय १० रुपैयाँ शुल्कसमेत तिनुपर्ने, काँटा एउटै भएकाले पालो कुर्नुपर्ने र गुणस्तर मापनका लागि वैज्ञानिक उपकरण यन्त्र समेत नभएकोमा जोड दिए । त्यसैगरी धामीले किसानले उत्पादन गरेको धान सिधै स्थानीय स्तरबाटै खरिद गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

किसानलाई धान बेच्न ढुवानीमा सहजताका लागि शाखा कार्यालय महेन्द्रनगरसहित दुई स्थान झलारी र बेलौरीमासमेत खरिद डिपोका लागि प्रस्ताव अघि सारेको कार्यालय प्रमुख मोक्तानले बताए । उनले भने,‘माथिबाट स्वीकृत भएर आएपछि दुवै स्थानबाट धान खरिद गरिने छ । किसानहरूलाई बैंकार्फत रकम भुक्तानी गरिनेछ । यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएको छ् भने, गत वर्ष १४ हजार क्विन्टल लक्ष्य तोकिएपनि ३ हजार मात्रै खरिद गरिएको छ ।’

विगतका वर्षहरुमा धान ढिलोगरी खरिद गरेपछि किसान मारमा परेका थिए भने, यो वर्ष डेढ महिना अगाडी नै धान खरिद गर्न सुरु भएपछि किसान विचौलियाबाट बाँच्ने अपेक्षा लिएका छन् । त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी महेन्द्रनगर शाखाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्नु पर्ने भएता पनि धान खरिद परिमाण समिति तोकि दिँदा किसानले उत्पादन गरेजति धान खरिद नगर्दा किसानले समर्थन मूल्यभन्दा कममै व्यापारीलाई बेच्न बाध्य हुँदै आएका छन् ।

हाल कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय महेन्द्रनगरमा मात्रै धान खरिद बिक्री हुने गरेको छ । जसका कारण जिल्लाका दक्षिणी क्षेत्रका जनताले धान बिक्रीका लागि ल्याउँदा महँगो भाडा तिर्नु पर्ने बाध्यता छ । नेपाल किसान महासंघका निवर्तमान सदस्य नारायणदत्त पन्तले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष धानको सर्मथन मूल्य समयमै तोकि धान खरिद गर्ने प्रक्रिया बढेकाले जिल्लाका सबै किसान हर्षित भएको बताए ।

कञ्चनपुरका ९ वटै स्थानीय तहका कृषहरुको उत्पादन गरेको धान खरिदका लागि जिल्लामा थप अस्थायी खरिद केन्द्र स्थापना गरी सहज रुपमा धान बिक्री गर्नसक्ने वतावरण प्रशासनले गरी दिनुपर्ने माग गरेका छन् । त्यसैगरी कृषि ज्ञानकेन्द्र कञ्चनपुरले कञ्चनपुर जिल्लामा कुल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिँदै आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्