नेपाल–बंगलादेश व्यापार
नजिक भएर पनि सदुपयोग छैन

काठमाडौं– नेपाल र बंगलादेशबीच भौगोलिक दूरी नजिक रहे पनि नेपाली निर्यातयोग्य वस्तुका लागि बंगलादेश निकै टाढाको बजार बनेको छ । नेपाली वस्तुले बजार नपाउँदा व्यापार घाटा बर्सेनि बढ्दो छ । गत आर्थिक वर्ष २०७९–८० मा नेपालले बंगलादेशसँगको व्यापारमा ५ अर्ब ४७ करोड रुपैयाँ घाटा व्यहोरेको छ । बंगलादेशतर्फको निकासी ५७ करोड ४० लाखमा सीमित छ । आयात भने ६ अर्ब ४ करोडको भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ ।
बंगलादेशसँगको व्यापारमा नेपालले घाटा बेहोर्न थालेको एक दशकमात्र भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०७१–७२ देखि बंगलादेशसँगको व्यापार घाटा बढेको बढ्यै छ । त्यसअघि आव २०६४–६५ देखि २०७०–७१ सम्म करिब ७ वर्ष नाफामा थियो । चालु आवको दुई महिनाको तथ्यांकले पनि व्यापारको असन्तुलित अवस्थालाई चित्रण गर्छ । भदौसम्म नेपालले ५ करोड ८६ लाखको सामान निकासी गर्दा ८६ करोड ३२ लाखको आयात गरेको छ । दुई महिनामै व्यापार घाटा ८० करोड ४६ लाखभन्दा बढी छ ।
भौगोलिक दूरी नजिक रहेको र बजारको प्रचुर सम्भावना रहे पनि बंगलादेश नेपालको ठूलो व्यापारिक साझेदार बन्न सकेको छैन । नेपालले व्यापार साझेदारीतर्फ आयात तथा निर्यात गर्ने १५ मुलुकको सूचीमा बंगलादेश अटाउन सकेको छैन । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट जम्मा ५५ किलोमिटरको दूरीमा बंगलादेशको सीमा पुग्न सकिन्छ । भारत हुँदै बंगलादेश पुग्ने बाटो सहज भए पनि यसको उपयोग दुवै देशले गर्न सकेका छैनन् ।
वाणिज्य मन्त्रालयका पूर्व सहसचिव तथा व्यापार विज्ञ रविशंकर सैंजु बंगलादेशसँगको व्यापारमा नेपाली पक्षको कमजोर प्रदर्शन हुनुमा व्यापार लागत उच्च हुनु, कूटनीतिक लबिङ कमजोर तथा नेपाली वस्तुमा भ्यालु एड हुन नसक्नु मुख्य समस्या रहेको बताउँछन् । उनका अनुसार बंगलादेशमा मागअनुसार नेपालले निर्यात गर्न नसक्नु पनि अर्को समस्या हो । ‘अहिले नै बढाउन सक्ने भनेको धागोको निर्यात हो, जुन अलिकति मेहनत गर्ने हो भने १५ देखि २० अर्ब पुर्याउन सकिन्छ,’ उनी भन्छन्, ‘बिजुली निर्यातका सम्बन्धमा भने नेपाल, भारत र बंगलादेशको त्रिपक्षीय सम्झौता गर्नुपर्छ । बंगलादेशसँग नेपालले व्यापार गर्न सक्ने भनेको धागो, बिजुली, कृषि जडिबुटी, हस्तकलाका सामग्री नै हुन् ।’
नेपाल र बंगलादेशले सन् १९७६ मा व्यापार तथा भुक्तानी सम्झौता र पारवहन सम्झौतामा हस्ताक्षर गरेका थिए । अहिले बंगलादेशसँग फूलबारी–बंगलाबन्द नाकाबाट मात्रै व्यापार भइरहेको छ । बंगलादेशले बिरोल नाका पनि नेपालका लागि खुला गरिसकेको छ । यद्यपि, त्यो नाका प्रयोगमा भारतले अहिलेसम्म नेपाललाई अनुमति नदिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले जानकारी दिए । ‘बिरोल सडक नाका हो । यदि यो नाका प्रयोग गर्न दिएमा विराटनगरमा सामान ल्याउन सबैभन्दा नजिक पर्छ । बेनापोल कलकत्ता नजिकैको सडक क्रसिङ प्वाइन्ट हो र यसको भारतीय पक्षको सीमा बिन्दु पेट्रापोल हो । चिल्हाटी एउटा ब्रोडगेज रेल टर्मिनल हो, जुन सन् १९७१ भन्दा पहिले सीमा रेल स्टेसन हल्दिबारीको भारतीय पक्षसँग जोडिन्थ्यो । अहिले भने नेपालले बिरोल नाका प्रयोगका लागि पहल गरेको छ । यसका लागि कूटनीतिक रुपमा भारतसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ,’ उनले भने ।
बंगलादेशको जनसंख्या धेरै भएकोले नेपालले भारतसँग असल सम्बन्ध कायम गर्दै त्रिपक्षीय रुपमा समझदारी गरेर बंगलादेशमा बिजुली निर्यात गर्न सक्ने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् । ‘सन् २०१३–१४ सम्म सरप्लस भएको बंगलादेशसँगको व्यापार निरन्तर रुपमा घाटामा गएको छ । यो खाडललाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ र ठूलो लगानीका लागि पहल गर्दै प्रविधिमा अपग्रेड हुनुपर्छ,’ उनी भन्छन्, ‘बंगलादेश औद्योगिक रुपमा धेरै प्रगति गरेको देश हो । त्यसैले उद्योग–उद्योगबीच सहकार्य गर्न सकिएमा पनि धेरै लाभ लिन सकिन्छ । कृषि उपज, धागो र बिजुली नै बंगलादेशसँग व्यापार गर्न सकिने वस्तु हुन् ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव सिर्जना तिवारीले बंगलादेशसँगको व्यापारमा उच्च सम्भावना रहेको महसुस गरेर सरकारले सहजीकरणको भूमिकालाई बढाइरहेकोे बताइन् । सरकारले नीतिगत रुपमा सहजीकरण गर्ने र उत्पादनमा निजी क्षेत्रको भूमिका हुने भन्दै उनले यसका लागि मन्त्रालयले कूटनीतिक रुपमा हुन सक्ने पहलका सवालमा पनि उत्तिकै जोड दिएको उल्लेख गरिन् । पछिलो समय नेपाल र बंगलादेश दुवैतर्फका उत्पादनलाई दुवै देशमा सहज पहुँच दिनका लागि द्विपक्षीय व्यापार सम्झौताको पहल भइरहेको छ । यस्तो सहमति हुन सकेमा बंगलादेशमा उत्पादन भएका सामान नेपालमा र नेपालमा उत्पादिन निश्चित सामानले बंगलादेशमा सहज पहुँच पाउनेछन् ।
बंगलादेशको सीमामा रहेको मिटरगेज रेल नाका भएको बिरललाई भारत सरकारले आफ्नो सीमा नाका राधिकापुरदेखि रेल जडान गर्न अनुमति दिएपछि बंगलादेश जाने र बंगलादेश हुँदै नेपालको व्यापार आवागमनका लागि नियमित प्रयोगमा ल्याउन सहज हुनेछ । भारतले बंगलादेशसँगको फूलबारी नाकाबाट सडक प्रयोग गर्न अनुमति दिएको छ । नेपालको सीमा काँकडभिट्टा र भारततर्फको पानीटंकी हुँदै बंगलादेशसँगको भारतीय सीमा फूलबारी मार्गले नेपाल र बंगलादेशलाई जोडेको छ
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका पूर्व अध्यक्ष प्रकाश कार्कीका अनुसार वार्षिक ३ हजार कन्टेनर नेपालमा सामान लिएर बंगलादेशबाट आउँछन् । नेपाल–बंगलादेश व्यापारबारे अध्ययन गरिरहेका सावतीका वरिष्ठ अनुसन्धानकर्ता क्षितिज दाहाल बंगलादेशसँग व्यापारका लागि धेरै सम्भावना भए पनि ट्यारिफ तथा पारा–ट्यारिफ व्यवधानका कारण अपेक्षित लाभ लिन नसकिएको बताए । ‘अहिले पनि बंगलादेशसँगको व्यापारमा मुख्य बाधक भनेको भन्सारमा लाग्ने करहरु नै हो । यसअन्तर्गत भन्सार महसुल लगायत ५ वटा कर भन्सार विन्दुमै संकलन हुन्छ,’ उनले भने ।
नेपालले बंगलादेशतर्फ गरिरहेको निकासीको परिमाण ज्यादै न्यून छ भने आयात पनि उल्लेख्य मान्न नसकिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा बताउँछिन् । बंगलादेशसँग बिजुली निर्यात गरेर व्यापार घाटा कम गर्न सकिने र यसका लागि भारत, बंगलादेश र नेपालको त्रिपक्षीय सम्झौता हुनुपर्ने उनको भनाइ छ । ‘कृषि उत्पादन, जडिजुटी तथा प्राकृतिक स्रोतहरुलाई पनि निर्यात गर्न सकिन्छ । बंगलादेश छिटो औद्योगिक रुपमा फड्को मारेको देश हो, हामीले त्यहाँको लगानीलाई ज्वाइन्ट भेन्चरको रुपमा प्रयोग गरी भारत तथा चीनमा पनि सामग्री निर्यात गर्न सकिन्छ,’ राणा भन्छिन्, ‘नाकाहरुमा समन्वयको अलि समस्या छ । त्यसतर्फ कूटनीतिक रुपमा पहल जरुरी छ ।’
नेपालबाट बंगलादेशतर्फ मुख्यतया दाल, अदुवा, जडिबुटीको तेल, सुन्तला र स्याउको जुस, नक्कली कपाल, कन्ट्याक्ट लेन्स तथा केही हस्तकलाका सामग्री निकासी भएको भन्सार विभागको तथ्यांक छ । बंगलादेशबाट भने फ्रोजन माछा, आलु, कोका पाउडर, चकलेट, बिस्कुट, जुस, फलफूल, लुब्रिकेन्ट आयल, ट्रान्सफरमर आयल, औषधि तथा भ्याक्सिनहरु, कस्मेटिक सामग्री तथा तयारी पोशाक आयात हुने गरेको छ ।
निर्यात व्यापारमा विद्युतको आशा
नेपाल र बंगलादेशबीचको व्यापार घाटा कम गर्न र दुवै मुलुकबीच व्यापार अभिवृद्धिका लागि विद्युत व्यापारलाई सम्भावनाका रुपमा हेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतमा २० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको थियो । त्यही बेला बंगलादेशमा ५० मेगावाट निर्यातका लागि भारतले अनुमति दिने घोषणा भएको थियो । यसअनुसार हाल पूर्वतयारीका कामहरु भइरहेका छन् ।
नेपालबाट बंगलादेशले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित विद्युतमध्ये ५ सय मेगावाट आफ्नो देश लैजान चाहेको छ । यो आयोजना विकासको जिम्मा भारतीय कम्पनी जीएमआरले पाएको छ । यसबाहेक बंगलादेशले ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना आफैंले निर्माण गरेर बिजुली लैजान चाहेको छ । बंगलादेशको प्राविधिकसहितको टोलीले आयोजनाको स्थलगत निरीक्षणसमेत गरिसकेको छ भने दुई देशको सचिवस्तरीय बैठकमा ६ महिनाभित्र संयुक्त कम्पनी बनाएर आयोजना अघि बढाउने सहमति भएको छ । यो आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएर तयार अवस्थामा छ ।
बंगलादेश हाल चरम ऊर्जा संकट खेपिरहेको मुलुक हो भने नेपाललाई उत्पादित विद्युत कहाँ बिक्री गर्ने भन्ने समस्या छ । बंगलादेशमा विद्युत पु¥याउन भारतको बाटो र प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले नेपाली पक्षको जोड भारतलाई मनाउनेमै छ । बंगलादेशले एक दशकदेखि पटक–पटक नेपालसँग विद्युत लैजाने विषयमा प्रस्ताव गर्दै आए पनि भारत बल्ल सहमत भएको अवस्था छ । भारतले सहमति दिएसँगै व्यापार सुरु गर्ने योजना अघि बढाइएका कारण नेपालको ऊर्जासहित निर्यात क्षेत्रमा आशाका किरणहरु देखा परेका छन् ।
ऊर्जा संकट खेपिरहेको बंगलादेशलाई विद्युत बिक्री गर्दा भारतमा जस्तो मूल्यमा सम्झौता गर्नु नपर्ने तथा व्यापारका अन्य ढोका पनि खुल्ने भएकाले नेपालको जोड बंगलादेशसँगको विद्युत व्यापारमा छ । नेपाल र भारतबीच गत फागुन पहिलो साता १० औं ऊर्जा सचिवस्तरीय बैठक बसेको थियो, जसमा नेपालले बंगलादेश विद्युत निर्यात गर्न अनुमति मागेको थियो । सुरुमा प्रसारणलाइनको समस्या देखाएको भारत ४० देखि ५० मेगावाटमात्र निर्यात गर्ने भनेपछि सकारात्मक भएको छ । उसले प्रचलित ऐननियममा रहेर अनुमति दिने सहमति गरेको छ । यसअनुसार तत्काल ५० मेगावाटबाट व्यापार सुरु गर्ने सहमति भएको छ ।
रविशंकर सैंजु, पूर्व वाणिज्य सहसचिव
व्यापारका लागि बंगलादेश सम्भावित गन्तव्य हुँदाहुँदै पनि व्यापार गर्न सकिएको छैन । बंगलादेशले नेपालसँगको व्यापार बढाउन पनि चाहेको छ । उनीहरुको प्रतिव्यक्ति आम्दानी पनि पछिल्लो समय बढ्दै गएको छ । भोलिका दिनमा आम्दानी बढेअनुसार गुणस्तरीय सामग्रीको माग बढ्नेछ । बीबीआईएन सम्झौता, नेपाल भारत र बंगलादेशसँगको त्रिपक्षीय सम्झौता, उत्पादनमा भ्यालु एड तथा बंगलादेशको बजार मागअनुसार नेपालले उत्पादनमा जोड दिनुपर्छ । यसो गर्न सकिएमा धागो, बिजुली तथा कृषि उत्पादन, जडिबुटी र हस्तकलामा ५० अर्बसम्मको व्यापार बंगलादेशसँग गर्न सकिन्छ ।
पुरुषोत्तम ओझा, पूर्वसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय
नेपालमा उत्पादन लागत बढी हुँदा प्रतिस्पर्धी बजारमा हाम्रा उत्पादन कमजोर बनेका छन् । प्रविधिमा पनि हामी समयसापेक्ष रुपमा अपग्रेड हुन सकिएको छैन । बंगलादेश औद्योगिक रुपमा क्रान्ति नै गरेको देश हो, त्यसैले त्यहाँका उद्योग र यहाँका उद्योगलाई टाइ–अप गर्न सकियो भने भ्यालु एडको लाभ लिन सकिन्छ । कृषि, जडिबुटी, बिजुली र धागो नै बंगलादेशसँग व्यापार गर्न सकिने सामग्री हुन् ।
सिर्जना तिवारी, उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
मन्त्रालयबाट नीतिगत रुपमा गर्नुपर्ने सहजीकरणमा हामीले काम गरिरहेका छौं । कूटनीतिक रुपमा हुन सक्ने पहल, जीटुजी लगायतका विषयमा सरकारले बंगलादेशसँगको व्यापारमा पहलकदमी उच्च बनाएको छ ।
भवानी राणा, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
आर्थिक रुपमा छिटो प्रगति भएको देश हुनाले हामीले त्यहाँको लगानी, प्रविधि र दक्षतालाई ल्याउन पहल गर्नुपर्छ । ज्वाइन्ट भेन्चरको रुपमा लगानी भित्र्याएर भारत तथा चीनमा सामान निर्यात गर्न सकिन्छ । बजार निरन्तर घटिरहेको समयमा सार्वजनिक निष्काशनलाई स्वीकृति दिँदा लगानीकर्ता झनै ‘प्यानिक’ हुने निष्कर्ष निकाल्दै बोर्डले केही समयका लागि रोक्ने तयारी गरेको हो ।