कोरलीको संगतले बढ्यो स्थानीय गाईको दूध

काठमाडौं– सिन्धुलीको कमलामाई नगरपालिका–४ र ५ मा हेफर ईन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालनमा छ । नेपाल सरकार तथा हेफरको माग तथा सकृयतामा कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने यो परियोजना गत आर्थिक वर्षदेखि सुरु भएको हो ।
दुग्ध क्षेत्र रुपान्तरणको लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटर दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका १ सय वटा शुद्ध होलिस्टिन कोरली बाच्छी र ८ बटा उच्च प्रजननमान भएका होलिस्टिन बहरहरु उपलब्ध भएको थियो । सिन्धुली कमलामाई नगरपालिका ५० किसानलाई ती गाई वितरण गरिएको छ । कोरियन गाईको संगतमा स्थानीय गाईमा दूध उत्पादन वृद्धि भएको किसान बताउँछन् । कोरली गाईलाई स्थानीयको भन्दा धेरै नै स्याहार गर्नुपर्छ ।
कोरियन गाईसँगै स्थानीयले पनि राम्रो स्याहार र दाना पानी पाउन थालेपछि गाईको दूध विगतको भन्दा आधा लिटर बढी दिन थालेका कृषक विमला घलान बताउँछिन् । उनले भनिन्, ‘सरकारले कोरली गाईसँग कसरी पालन पोषण गर्ने ज्ञान र सीप दिएको छ । सोही गाईसँग स्थानीय गाईलाई पनि स्याहार र पालन पोषण दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको छ ।’ कृषक घलानले थपिन्, ‘किसान पहिलेदेखि नै गाई, भैंसी पालन परम्परागत रुपमा गर्थे । कोरियन गाई गोठमा आएपछि सँगै बस्ने अन्य गाईवस्तुको व्यवहारमा र स्याहार परिवर्तन आएको छ । पहिला पालेको लोकल गाईले डेढ दुई लिटर दूध दिन्थ्यो भने अहिले अढाईदेखि तीन लिटर दिन थालेको छ ।’
यस्तै ५ वटा स्थानीय गाई पालन गरेकी अनिसा कार्कीले भनिन्, ‘कोरली गाई पाल्न निकै गाह्रो छ । त्यसको निकै हेरचाह गर्नुपर्छ । सफा सुग्घर, खाना–पानी, वातावरण सबैमा ध्यान दिनुपर्छ । गाईको गोठमा फोहोर राख्नु हुँदैन । गाई छटपटाउन थाल्छन् । बस्न पाइँदैन । कोरेली गाईलाई सफा म्याट नै चाहिन्छ । म्याट बिना भुइँमा बस्न मान्दैनन् ।’ कोरली गाईलाई समय–समयमा दाना पनि दिनुपर्छ । कोरली गाईलाई जस्तै स्याहार अन्य गाईलाई पनि पाउने हुँदा उनीहरुको व्यवहारमा पनि परिवर्तन आएको छ । विगतका भन्दा दूध पनि बढी दिन थालेको कृषक कार्कीले सुनाइन् ।
उच्च माध्यमिक विद्यालयमा नेपाली विषय पढाउँदै गाई पालन गरेकी गुणकुमारी घिमिरेले पनि कोरली गाईको संगतले स्थानीय गाईमा धेरै पनि परिवर्तन आएको बताइन् । घिमिरेसँग पाँच महिनाको गर्भवती कोरली गाई छ । चार महिनापछि गाईले बच्चा जन्माउँछ । गर्भवती भएका कारण गाईलाई विशेष ध्यान दिनुपरेको घिमिरेले बताइन् । कोरली गाईसँगै अन्यले पनि स्याहार सुसार पाउन थालेपछि स्थानीय गाईले दूध धेरै दिन थालेको उनले बताइन् ।
हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे परियोजनाका म्यानेजर नारायणप्रसाद शर्माका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीमा ५ वर्षमा ५ सय घरपरिवार कृषकलाई कोरली गाई दिनेछ । कोरिया सरकारले गत वर्षकाे पुस महिनामा एक सयवटा बाछी र ८ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो ।
म्यानेजर शर्मा भने, ‘८० वटा गाईमध्ये ५ वटा लम्पी स्किनको रोग र अन्य रोगले मरिसकेका छन् । ७४ वटामध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । जसमा ३७ वटा गाई गर्भवती छन् ।’ बाँकीको गर्भ सुनिश्चित यकिन नभएको उनले बताए । उनले २ महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने जानकारी दिए । हेफर कोरियाका निर्देशक हे वन लीका अनुसार कोरली गाई उपहार स्वरूप नै आएका हुन् ।
कोरियाका किसान, विद्यार्थी तथा अन्य व्यक्तिहरूले नेपाललाई कोरिया सरकार मार्फत नेपाललाई प्रदान गरेको हो । कोरिया सरकारले उपहारस्वरूप दिएको कारणले पनि यहाँका किसानले पनि कमसेकम एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक हेवन लीले जानकारी गराइन् ।