उपनिर्वाचनका लागि दल दर्ता गर्न दुई साताको समय «

उपनिर्वाचनका लागि दल दर्ता गर्न दुई साताको समय

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका दल दर्ता गर्न सूचना जारी गरेको छ । उपनिर्वाचनका लागि यही भदौ मसान्तभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जानकारी दिएको छ ।
दल दर्ताका लागि राजनीतिक दलले पार्टीको नाम, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन भएको मिति र स्थान, केन्द्रीय कार्यालय रहेको ठेगाना खुलाएर निवेदन दिनुपर्नेछ ।
त्यसैगरी दलको केन्द्रीय पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय महाधिवेशनको मिति, भाग लिन चाहेको उपनिर्वाचन (प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह), यसअघि निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को चिह्न लिन चाहे कुनै तीनवटा निर्वाचन चिह्न र राजनीतिक दलको संगठनात्मक स्वरूप खुलाएर निवेदन दिन आयोगले अनुरोध गरेको छ ।
दल दर्ता गर्न जाँदा दलको विधान, घोषणापत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति, दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि आदि समावेश गर्न पनि निर्वाचन आयोगले अनुरोध गरेको छ ।

कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
निर्वाचन आयोगले ३५ जिल्लामा विभिन्न कारणले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचन गराउँदैछ । ०७४ मा सम्पन्न ३ तह (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) को निर्वाचनपछि १ प्रतिनिधिसभा सांसद, ३ प्रदेशसभा सांसद, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको निधन भएको छ । ४७ मध्ये ९ जनाबाहेक अरु सबै जनप्रतिनिधिको निधन भएका कारण स्थान रिक्त छ । ५ जना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका, एकजनाले राजीनामा दिएको र २ स्थान अन्य कारणले रिक्त भएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३ सांसद, उपमहानगरपालिकाको १ प्रमुख , ३ गाउँपालिका प्रमुख, १ उपप्रमुख र ३८ वडाध्यक्षका लागि निर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगसँग भएको तथ्यांकअनुसार ती स्थानमा ०७४ सालको निर्वाचनमा ४ लाख २५ हजार ७४ मतदाता रहेका थिए । २४१ स्थानमा मतदान केन्द्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस्