Logo

प्याजमा अस्वाभाविक मूल्य वृद्धि

काठमाडौं– प्याजमा अस्वाभाविक मूल्य वृद्धि भएको छ । गत साता मात्र प्याजको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको थियो । तर, अहिले थोक बजारमै एक सय २५ रुपैयाँ पुगेपछि खुद्रा बजारमा यसको मूल्य एक सय ६० रुपैयाँसम्म पुगेको हो । नेपाल प्याजमा पूर्ण रूपमा परनिर्भर हुँदा भारतीय बजारमा मूल्य वृद्धि भएको बहाना बनाएर व्यवसायीले प्याजको मूल्य बढाएको उपभोक्ताहरूको गुनासो छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्याज र आलुमा १३ प्रतिशत भ्याट लगाएको बहानामा प्याजको मूल्य वृद्धि गरेको थियो । सोही अवस्थाको जस्तै वातावरण सिर्जना गरी व्यापारीले अस्वाभाविक रूपमा चार गुणाले प्याजमा मूल्य वृद्धि गरेको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनको आरोप छ । जेठ महिनामा भ्याटको बहानामा कृत्रिम अभाव सिर्जना गरी व्यापारीले अहिले प्याजमा मूल्य वृद्धि गरेको उनको भनाइ छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले नै व्यापारीलाई अस्वाभाविक मूल्य वृद्धि गराउन क्रियाकलाप गरेको अध्यक्ष महर्जनको आरोप छ । ‘बजार मूल्यलाई नियन्त्रण गर्न सरकारले चीनबाट प्याज आयात गरी सहज गथ्र्याे’अध्यक्ष महर्जनले भने,‘ सरकार नै व्यापारीलाई कालोबजारी गर्न प्रोत्साहित गरिरहेको छ । उपभोक्ताप्रति राज्यको कुनै ध्यान नहुँदा व्यापारीले मनपरी गरिरहेका छन् ।’

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतमा प्याज महंगिएसँगै स्थानीय बजारमा त्यसको प्रत्यक्ष असर देखिएको बताए । पछिल्लो समय प्याजको आयात निकै कम भएको उनले जानकारी दिए । उनका अनुसार कालिमाटी बजारमा दैनिक ७०/८० टन प्याज भित्रिने गरेकोमा अहिले दैनिक ३५/४० टन मात्र आयात भैरहेको छ । ९९ प्रतिशत प्याज भारतबाट नै आयात हुने हुँदा भारतमा मूल्य वृद्धि भएकै कारणले स्थानीय बजारमा मूल्य वृद्धि भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

प्याजमा ल्याएको १३ प्रतिशत भ्याट र भारतमै मूल्य वृद्धि हुनले अहिले बजारमा अस्वाभाविक मूल्य बढेको कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका पूर्व अध्यक्ष भरत खतिवडा बताउँछन् । स्वदेशी उत्पादन नहुँन र भारतमा मूल्य वृद्धि हुनुले स्थानीय बजारमा असर परेको उनको भनाइ छ । खतिवडाका अनुसार अहिले अन्य हरियो तरकारी सस्तो भए पनि प्याज र बन्दा महँगो छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देक तीर्थराज चिलुवालले प्याजको मूल्य अस्वाभाविक बढेको बताए । स्वदेशी उत्पादन शून्य जस्तै हुँदा भारतमा प्याजको उत्पादन घटेका कारण त्यसको असर नेपाली बजारमा परेको उनको भनाइ छ । बजारमा प्याजको मूल्य अस्वाभाविक बढेको हुँदा विभागका टोलीलाई बजार अनुगमन पठाउँदा बजारमा प्याज नै नभेटिएको उनले बताए । प्याजमा परनिर्भरता भएकै कारणले मूल्य एक्कसी बढेको उनले बताए ।

चीनबाट आयात गरेको प्याज उपभोक्ताले नरुचाउने हुँदा भारतबाट आयात गरेको प्याज धेरै महँगो हुने गरेको उनको भनाइ छ । उनले तिहारमा विद्युतीय सामग्री र मिठाई खपत हुने हुँदा हाल विभागको अनुगमन टोली त्यहीँ बढी केन्द्रित भएको जनाए । समितिको तथ्यांक अनुसार गत कात्तिक ४ गते प्याजको अधिकतम मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । सोही दिन औसत मूल्य ८३.५० रुपैयाँ थियो । कार्तिक १५ मा आइपुग्दा प्रतिकेजी ४० रुपैयाँले बढेर प्याजको अधिकतम मूल्य १२५ रुपैयाँ पुग्यो । सोही मूल्य खुद्रा बजारमा अहिले १६० रुपैयाँसम्म पुगेको हो ।

समितिका अनुसार गत कात्तिक पाँच गते पाँच रुपैयाँले बढेर अधिकतम प्याजको मूल्य ९० रुपैयाँ कायम भएको थियो । त्यसैगरी कात्तिक ६ गते प्रतिकेजी प्याजको अधिकतम मूल्य ९६ रुपैयाँ, ७ गते १ सय रुपैयाँ, ८, ९ र १० गते १०५ रुपैयाँ, ११ र १२ गते ११० रुपैयाँ र १३ गते १२० रुपैयाँ कायम भएको थियो । यस्तै, १४ र १५ गते प्रतिकेजी ५ रुपैयाँले बढेर प्याजको मूल्य १२५ रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँको प्याज आयात भएको थियो । जसमध्ये ६ अर्ब ७५ करोड ९ लाख २२ हजार रुपैयाँको प्याज भारतबाट नै आयात भएको पनि तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्