Logo

धान कृषकको, मूल्य व्यापारीको

दाङ– लमही नगरपालिका–२ सोनपुरका कृषक चन्द्रबहादुर चौधरीले मंगलबारमात्रै धान बिक्री गरे । धान बिक्री गर्दा उनले मूल्य निर्धारण गर्न भने पाएनन् । व्यापारीले तोकेको मूल्यमा बिक्री गरे । उनले करिब ४२ क्विन्टल धान बिक्री गरेको बताए ।

व्यापारीले मसिनो धान ३१ सय र मोटो धान २६ सय रुपैयाँ क्विन्टलमा बिक्री गरेका हुन । उनीमात्रै होइन धेरै कृषकले अहिले व्यापारीले तोकेको मूल्यमा नै धान बिक्री गर्ने गरेका छन् । सरकारले मूल्य तोके पनि धान खरिद नगर्ने भएकाले व्यापारीलाई बिक्री गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । व्यापारीले घरमा नै पुगेर धान खरिद गर्ने गरेका छन् ।

‘व्यापारीले धान खरिद नगरिदिँदा धान बिक्री गर्न कहाँ जाने सरकारले किन्दैन ? मूल्यमात्र तोकेर के गर्नु,’ उनले भने । भित्र्याएको धान घरमा राखेर जोगाउनसमेत समस्या हुने उनले बताए । ‘घरमा धान राख्दा चरा मुसाबाट बचाउनसमेत समस्या हुन्छ,’ उनले भने । खेती गर्दा लागेको खर्च व्यवस्थापनका लागि कृषकले छिटो बिक्री गर्ने गरेको उनले बताए ।

खेत जोत्दा, धान दाउँदा, मल खरिद गर्दा, श्रमिक लगाउँदा हुने खर्च धान बिक्री गरेर तिर्ने गरेको उनी बताउँछन् । ‘पैसाले आत्तिएका कृषक बाध्यताले छिट्टै नै धान बिक्री गर्ने गर्दछन्,’ उनले भने । त्यसैले ऋण बोकेर बस्नुभन्दा व्यापारीले भनेको मूल्यमा नै धान बिक्री गर्ने गरेको उनको भनाइ छ । सोही स्थानका शिवनारायण चौधरीले यस वर्ष धान बिक्री गरेका छैनन् । आफूले भनेअनुसार धानको मूल्य पाउन नसकेका कारण धान बिक्री नगरेको उनको भनाइ छ ।

गत वर्ष भने उनले धान बिक्री गरेका थिए । सरकारले तोकेको मूल्य पनि नपाउने भएपछि उनले धान बिक्री नगरेको बताउँछन् । ‘सस्तोमा धान बिक्री गर्नुभन्दा बंगुरलाई दाना खुवाउने योजनामा छु,’ शिवनारायणले भने । बंगुरलाई दाना किनेर खुवाउन पर्छ त्यसभन्दा सस्तोमा धान बिक्री नगरेर खुवाउँदा फाइदा हुने उनी बताउँछन् । खेती गर्दा धेरै खर्च हुने गर्दछ तर उत्पादनको धान सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सरकार र सहकारीले पनि धान खरिद नगर्ने भएकाले व्यापारीलाई बिक्री गर्ने गरेको उनले बताए । ‘कृषकलाई आकर्षण गर्ने वातावरण नै छैन,’ शिवनारायणले भने । राज्यले कृषकले उत्पादन गरेको वस्तुको ग्यारेन्टी गरिनु पर्ने उनको भनाइ छ । सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

गत असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आर्थिक वर्ष २०८०/०८१ का लागि मोटा धान र मध्यम धानको समर्थन मूल्य तोकेको हो । सरकारले मोटा धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २३१ रुपैयाँले बढाएको छ । गत वर्ष सरकारले मोटा धानको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ रुपैयाँ तोकेको थियो । सरकारले यो वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ तोकेको छ ।

त्यस्तै सरकारले मध्यम धानमा प्रतिक्विन्टल २३४ रुपैयाँले बढाएको छ । सरकारले गत वर्ष मध्यम धानको मूल्य प्रतिक्विन्टल ३१ सय २८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । यो वर्ष तीन हजार ३६२ रुपैयाँ तोकेको छ । न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था छ । यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न सरकारले बजेटको व्यवस्था गर्दै आएको छ ।

खाद्यले धान खरिद नगर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले यस वर्ष धान खरिद नगर्ने भएको छ । खाद्य कम्पनीको केन्द्रीय कार्यालयबाट धान खरिदका लागि कुनै पनि प्रकारको जानकारी नआएको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिए ।

‘अहिलेसम्म धान खरिदका लागि कुनै पनि जानकारी आएको छैन्,’ प्रमुख सुनारले भने । केन्द्रको निर्देशन नआउँदासम्म आफूहरूले केही गर्न नसक्ने उनको भनाइ छ । ‘केन्द्रको परिपत्रअनुसार जिल्ला कार्यालय अगाडि बढने हो,’ प्रमुख सुनारले भने । सम्भवतः यस वर्ष जिल्लामा धान खरिद नहुने उनको भनाइ छ । खाद्यले धान खरिद नगर्ने भएपछि कृषक व्यापारीलाई बिक्री गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्