Logo

फलामे वस्तु निकासी शतप्रतिशत बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा फलाम तथा फलामका उत्पादनहरूको निकासी बढेको छ । निर्यात व्यापारको सूचीमा अग्रस्थानमा रहेको फलाम तथा फलामका उत्पादनहरूको निकासी एक सय २ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६१ करोड पुगेको छ । विगत वर्षहरूमा पाम आयल र सोयाबिन आयल निकासीको सूचीमा उच्चस्थानमा रहने गरे पनि यस वर्षको सुरुवातदेखि नै फलाम तथा फलामका उत्पादनहरू निकासीको शीर्ष स्थानमा छन् ।

निकासीको दोस्रो स्थानमा रहेको धागो (यार्न) को वैदेशिक व्यापार पनि उत्साहजनक रहेको छ । समीक्षा अवधिमा धागोको निर्यातमा ४.७ प्रतिशतले वृद्धि भई ३ अर्ब २२ करोड रुपैयाँ पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । यद्यपि, ऊनी गलैंचाको निर्यातमा भने कमी आएको छ । चालु आवको बजेट तथा आर्थिक ऐनले ऊनी गलैंचालाई मूल्य अभिवृद्धि कर (भ्याट) को दायरमा ल्याएसँगै यसको निकासीमा नकारात्मक परिणाम देखिन थालेको छ ।

तीन महिनाामा ऊनी गलैँचा निकासीमा ४.५ प्रतिशतले ह्रास आई २ अर्ब ९३ करोडमा झरेको केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहका अनुसार नेपालबाट निकासी हुने मुख्य वस्तुहरूमा चालु आवमा केही ट्रेन्ड फेरिएको छ । फलामजन्य वस्तु, धागोसहित ऊनीगलैंचा, तयारी पोसाक, जुस, अलैंची, प्लाइउड नेपालबाट निकासी हुने वस्तुको शीर्ष स्थानमा रहेको सिंह बताउँछन् ।

यस्तै, जुट तथा जुटका सामानहरू, ऊनी फेल्टका उत्पादन, चिया, पस्मिना शल, कुकुर विरालोका आहारा (छुर्पी), पिना, जडीबुटी, कपडा, चाऊचाऊ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन निर्यातजन्य वस्तुमध्ये प्रमुख रुपमा रहेका छन् । केन्द्रका अनुसार तयारी पोसाकको निर्यात १३.१ प्रतिशतले वृद्धि भई २ अर्ब ७० करोड पुगेको छ भने जुट तथा जुटका उत्पादनको निर्यात १३.२ प्रतिशतले घटेर १ अर्ब ८४ करोडमा सीमित भएको छ ।

ऊनी फेल्टको निकासीमा पनि ५.८ प्रतिशतले ह्रास आएर १ अर्ब ६२ करोडमा सीमित भएको केन्द्रले जनाएको छ । यस अवधिमा जुसको निकासीमा ४३.८ प्रतिशतले वृद्धि भई २ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षसम्म निकासीको शीर्ष स्थानमा रहेको पाम आयलको निर्यातमा भने ८३.५ प्रतिशतले ह्रास आई १ अर्ब ३२ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात असोजसम्म ५६.८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड पुगेको छ ।

यसैगरी चियाको निर्यात भने घटेको छ । चिया निकासी १.९ प्रतिशतले घटेर १ अर्ब २९ करोडमा सीमित भएको छ । यद्यपि, अदुवाको निर्यातमा भने १ सय ५९.५ प्रतिशतले वृद्धि भई रु ४० करोड पुगेको छ । आयाततर्फ शीर्ष स्थानमा रहेको पेट्रोलियम पदार्थमा ५.७ प्रतिशतले वृद्धि भई ६६ अर्ब १२ करोड रहेको छ । तर, फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा १.२ प्रतिशतले ह्रास आई ४० अर्ब ३८ करोड रहेको छ । मेशिनरी तथा पार्ट्समा ०.२ प्रतिशतले वृद्धि भई २५.२६ अर्ब पुगेको छ ।

कच्चा भटमास तेलको आयातमा ६८.४ प्रतिशतले ह्रास आई ४ अर्ब ४३ करोडमा झरेको छ । यस्तै, औषधीको आयातमा २४.१ प्रतिशतले ह्रास आई १०.४२ अर्बमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूमा २१.४ प्रतिशतले वृद्धि भई १८.१५ अर्ब पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जा आयात भने २५.१ प्रतिशतले बढेको छ । असोजसम्म १९ अर्ब ९ करोडको यातायातका साधन र पार्टपुर्जा आयत भएको छ ।

यस्तै, कच्चा पाम तेलको आयातमा ६४.८ प्रतिशतले ह्रास आई ३ अर्ब ५१ करोडमा सीमित भएको छ । अन्न आयातमा २५.३ प्रतिशतले वृद्धि भई ११.६० अर्ब पुगेको छ । यस्तै, तयारी पोसाकको आयातमा ६८.८ प्रतिशतले वृद्धि भई १२.८३ अर्ब पुगेको केन्द्रले जनाएको छ । दूरसञ्चारका सामाग्री आयात भने ०.७ प्रतिशतले घटेर ११.६० अर्बमा झरेको छ । यस अवधिमा सुन आयात पनि ३१.२ प्रतिशतले घटेर ७.९६ अर्बमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्