विस्थापित पहिचान गर्न रातो जस्तापाता «

विस्थापित पहिचान गर्न रातो जस्तापाता

उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रको पहिचानमा एकरूपता कायम गर्न सबै बाढीपहिरो पीडितलाई रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ ।
गाउँपालिकाको बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन यस्तो निर्णय गरेको हो । बाढी पहिरोका कारण घर पूर्णरूपले क्षति भई पुनर्निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरणको तयारी गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । २०७६ साल असार ३० गते वर्षात्सँगै आएको बाढी पहिरोबाट प्रभावित भएका १ सय ८१ घरधुरीमध्ये पूर्णरूपमा विस्थापित भएका ८० घरपरिवारलाई गाउँपालिकाले प्रतिघर ३२ हजार रुपैयाँ बराबरको जस्तापाता खरिद गरी वितरण गर्ने तयारी गरेको उनले बताए । “विस्थापित घरधुरी एकिन गरी सिफारिस गर्न वडा कार्यालयलाई पत्राचार गरेका छौं,” अध्यक्ष खड्काले भने, “वडाबाट सिफारिस भई आएकालाई ३९-४० एमएमको ९ फिटे जस्ता ३ बण्डलका दरले वितरण गर्ने तयारी छ ।”
वडाबाट एकिन भई आएका ८० घर परिवार पूर्णरूपले क्षति भएका छन् । जस्तापाताको रातो रंगलाई २०७६ सालको बाढीपहिरो प्रभावित घरपरिवारको संकेतकैरूपमा राखिएकाले सबैलाई एकै किसिमको वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बताउँछन् । “कुन वडामा कति प्रभावित थिए र बाहिरबाट आएका पाहुनाले पनि २०७६ का बाढीपहिरो प्रभावित हुन् भन्ने कुरा भनिरहनुभन्दा पनि थाहा पाउन भन्ने हिसाबले सूचक रातो जस्तापाता नै राखिएको हो,” अधिकृत राईले भने, “आठै वडामा एकै किसिमको जस्तापाता वितरण हुनेछ ।” जस्तापाता विस्थापितले घर बनाउन सुरु गरेसँगै छाउने बेलामा उपलब्ध गराउने उनले बताए ।
“घर बनाउन थालेर छानो लाउने बेला भएपछि मात्रै हामी जस्तापाता दिन्छौं,” अधिकृत राईले भने, “यसो हँुदा हाम्रो काममा पारदर्शिता पनि रहन्छ ।” गाउँपालिकाका विस्थापित तथा प्रभावितको नाममा राहतस्वरुप जनप्रतिनिधिले प्रदान गरेको एक महिनाको सुविधा, कर्मचारीले प्रदान गरेको एक दिनको तलब र गाउँपालिकाको तर्फबाट छुट्याइएको ७ लाख रुपैयाँबाट जस्तापाता खरिद गरी वितरण गरिने राईले जानकारी दिए ।
गाउँपालिकाले प्रभावित लाभग्राहीका रूपमा सूचना प्रकाशन गरी वडा कार्यालयमार्फत प्रक्रियागत ढंगले जस्तापाता वितरण गर्ने उपाध्यक्ष कुमारी राना ठकुरीले बताइन् । वडा कार्यालयमार्फत सम्झौता गरी प्राविधिकसमेतको मूल्यांकनको आधारमा प्रभावित परिवारलाई वितरण गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्